सहकारी संस्थाद्वारा सामग्री हस्तान्तरण

दोलखाका सहकारी संस्थाहरूले भीमेश्वर नगरपालिकालाई साबुन सहयोग गरेका छन् । नगरपालिकाले सञ्चालन गर्न लागेको एक घर दुई साबुन, एक व्यक्ति एक मास्क अभियानका लागि नगरपालिकाभित्र सञ्चालित सहकारीहरूले साबुन खरिद गरी शनिबार नगरपालिकाका मेयरलाई हस्तान्तरण गरे । कोरोना भाइरसको सम्भावित संक्रमण हुन नदिनका लागि दोलखाको भीमेश्वर नगरपालिकाले सो अभियान सञ्चालन गर्ने भएको हो ।
नगरको एक घर दुई साबुन एक ब्यक्ति एक मास्क अभियानलाई भीमेश्वर नगरपालिकाभित्र मुख्य कार्यालय रहेका सहकारीले ५ लाख ४४ हजार बराबरको साबुन खरिद गरेर हस्तान्तरण गरेका हुन् । नगरपालिकाले सहकारी संस्थाहरूलाई आफ्नो अभियानमा सहयोगको याचना गरेपछि सहकारीहरूले २१ हजार ६ सय वटा लाइफब्वाइ साबुन खरिद गरेर हस्तान्तरण गरेको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागार्इंले जानकारी दिए ।
भीमेश्वर नगरपालिकाभित्र मुख्य कार्यालय रहेका २१ वटा सहकारीले सहयोग गर्ने प्रतिबद्धता गरेको जिल्ला सहकारी संघ दोलखाका महासचिव समेत रहेका अर्थभूमि साकोसका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए । सहकारीहरूले प्रतिबद्धता गरेको रकम बराबरको सामग्री नै खरिद गरेर नगरपालिकालाई हस्तान्तरण गरेको हो । त्यसको समन्वय जिल्ला सहकारी संघले नै गर्नेछ । एकभन्दा बढी स्थानीय तह कार्यक्षेत्र रहेका सहकारीले भने अरु स्थानीय तहले पनि सहयोग माग गरे सहयोग गर्न सकिने बताए । त्यसमा नगरपालिकाले मास्क थप गरी घरघरमा पुगेर वितरण गरिने नगर प्रमुख भरत केसीले जानकारी दिए ।
नगरपालिकाको अभियानमा सहयोग प्रतिबद्धता गर्नेमा सबैभन्दा बढी मिलीजुली साकोस रहेको छ । उसले १ लाख ४३ हजार ५ सय सहयोग गर्ने भएको छ । त्यसैगरी हाम्रो जनकल्याण साकोसले ८६ हजार, जनहित सहकारी संस्थाले ४० हजार ५ सय, वैतेश्वर गाउँपालिका मुख्य कार्यालय रहेको जनसचेतन साकोसले ४० हजार र जनमुखी साकोसले ३० हजार सहयोग गर्ने भएका छन् ।
सहयोग प्रतिबद्धता गर्नेमा अर्थभूमि साकोसले ३३ हजार, शिक्षक कल्याण साकोसले ३२ हजार सहयोग गर्ने भएका छन् । स्वर्ण साकोस र पौरखी कृषि सहकारी संस्थाले १९।१९ हजार सहयोग गर्ने भएका छन् भने चित्रेश्वर साकोसले १६ हजार र परोपकार महिला साकोसले १३ हजार सहयोग गर्ने भएका छन् ।
सूर्योदय साकोस, त्रिपुरा महिला र गौरीशंकर बहुउद्देश्यीय सहकारीले १० हजारका दरले सहयोग गर्ने भएका छन् । प्रगति साकोसले ९ हजार, सारथी, भीमेश्वर साकोस र जुनतारा कृषि सहकारी संस्थाले ६ हजारका दरले सहयोग गर्ने भएका छन् । त्यसैगरी सगुन साकोस, जिलू सानाकिसान र चरंगे सानाकिसान सहकारीले ५ हजारका दरले सहयोग गर्ने भएका छन् ।