पत्रकार र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री

दोलखाका क्रियाशील पत्रकारहरुलाई कोरोना भाईरसको सम्भावित संक्रमणबाट सुरक्षित हुन आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
दोलखा जिल्लाका ३० जना क्रियाशील पत्रकार र ४ वटा सामुदायिक रेडियोहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । कोरोना भाईरसको सम्भावित जोखिमको समयमा पनि फिल्डमा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
प्रेम–पूर्ण–प्रताप फाउण्डेशन नेपालकी संरक्षक एवम् दोलखाली चेली (हाल अमेरिका)को आर्थिक सहयोगमा ती सामग्रीहरु प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ दोलखा शाखाको समन्वयमा पत्रकारहरुलाई स्यानीटाईजर, सर्जिकल ग्लोब्स, मास्क लगाएतका स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
लकडाउनको समयमा चरिकोट सातदोवाटोमा खटिई रहेका सुरक्षाकर्मीहरुलाई व्यवसायीहरुले स्वास्थ्य सामग्री र खाजा वितरण गरेका छन् । दिन रात सुरक्षामा खटिन सुरक्षाकर्मीहरुका लागि दोलखा चेम्बर अफ कमर्शद्धारा ९ सय थान मास्क पनि वितरण गरिएको छ । उनीहरुले यो मास्क आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्ने चेम्बर अध्यक्ष विष्णु श्रेष्ठले बताए ।
दोलखा सामुदायिक अस्पतालका सञ्चालक अमृत बुढाथोकीबाट प्राप्त ग्लोब्स र स्यानीटाइजर उपलब्ध गराएका छन् । त्यसैगरी व्यवसायी दिनेश बस्नेतबाट ३ कार्टुन फ्रुटी, बलराम थापाबाट ५ दर्जन मिनरल वाटर वितरण गरेका छन् ।
त्यसैगरी सातदोबाटो चोकमा नागरिकको सुरक्षार्थ खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई तीनदिनसम्म पुग्ने गरी व्यवसायी कमल चौहानले खाजा र जुसको वितरण गरेका छन् ।
आरके सप्लायर्स चरिकोटका प्रोप्राइटर चौहानले सातदोबाटो चोकमा खटिएका ३० जना सुरक्षाकर्मीलाई ९० थान जुस, ९० थान चाउचाउ वितरण गरेका हुन् ।
लकडाउनमा अहोरात्र खटिँदा भनेको समयमा खाजा पनि खान नपाईने अवस्था देखिएकोले आफूले सहयोग गरेको चौहानले बताए ।