भारतबाट आउने नाकाको दुई स्थानमा ‘हेल्थ डेस्क’ स्थापना

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढ्दै गएपछि नगर क्षेत्रका भारत आउने जाने दुई ठाउँमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ । नगरपालिकाले स्वास्थ्य कार्यालय डडेल्धुरासँगको समन्वयमा नगरपालिकाको वडा नं ५ परिगाउँको बांघाट र वडा नं ६ तातापानीको सिसमजाला घाटमा हेल्थ डेस्कको स्थापना गरेको हो । सीमावर्ती क्षेत्रमा कडिकडाउ गर्नुका साथै स्वास्थ्य परीक्षण केन्द्र स्थापना भइरहेका बेला डडेल्धुराको भारतीय सीमासँग जोडिएका नाकामा कुनै पनि गतिविधि सञ्चालन भएनन् भन्ने जनगुनासो बढेपछि हेल्थ डेस्क स्थापना गरिएको हो ।
भारतबाट नेपाल भित्रिने यात्रुहरूको स्वास्थ्य परीक्षणका लागि बिहीबारदेखि स्वास्थ्य सहायताकक्ष सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए । हेल्थ डेस्कमा हाललाई एक–एकजना स्वास्थ्यकर्मी खटाइएको छ । आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने प्रमुख श्रेष्ठले बताए ।
सीमानाकामा स्वास्थ्य परीक्षण केन्द्र स्थापना नभएको भन्दै दुखेसो गर्न थालेपछि परशुराम नगरपालिका उपप्रमुख कलावती बोहरा, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने, सशस्त्र प्रहरीका डीएसपी भुवनराज पन्तलगायतको उपस्थितिमा हेल्थ डेस्क स्थापना गरिएको हो । हेल्ड डेस्कमा सीमा नाकाबाट आवत–जावत गर्ने सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिनेछ ।
कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन र कोही संक्रमित भइहाले उपचार र रोकथामका लागि परशुराम नगरपालिका–१२ मा रहेको जोगबुडा अस्पतालमा एक आइसोलेसन वार्डको व्यवस्था गरिएको छ । जिल्ला सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा पनि आइसोलेसन वार्डको व्यवस्था गरिसकिएको छ । सिसमजाला घाट र बांघाटबाट दैनिक १ सय ५० देखि २ सयको हाराहारीमा मानिस नेपाल–भारत आवत–जावत गर्छन् ।
दैनिक उपभोग्यका सामग्रीदेखि अन्य लत्ता कपडासमेत किनबेच गर्न स्थानीयनै नाकबाट जाने आउने गर्छन् । त्यहाँका स्थानीयहरू डुंगा र ट्युबको प्रयोग गरी महाकाली नदी तरेर भारतबाट सामान ल्याउँछन् । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भारतसँग जोडिएका सीमानाकामा हेल्प डेस्क स्थापना गर्न स्थानीय तहलाई फागुन २२ गते लिखित रूपमा पत्राचार गरेको थियो ।
प्रशासनले जिल्लाभित्र सार्वजनिक स्थानहरूमा धेरै भीडभाड नगर्न, अति आवश्यक कामको लागि मात्र बाहिर जान, हात मिलाउनुको साटो नमस्कार गर्न, भेला, जमघट तथा मेला महोत्सव जस्ता कार्यक्रमहरू नगर्न सबैमा यसअघि नै अनुरोध गरिसकेको छ ।