एयरबसको साढे ३ हजारभन्दा बढी रोजगारी जोखिममा

ए–३८० र ए–४०० एम विमानको उत्पादन दरमा आएको कमीका कारण ३ हजार ७ सय रोजगारी जोखिममा पर्न सक्ने एयरबसले जनाएको छ ।
जोखिममा परेका रोजगारीहरू बेलायत, फ्रान्स, जर्मनी र स्पेनमा रहेको युरोपेली विमान निर्माता कम्पनीले जनाएको छ ।
यद्यपि एयरबस यूकेका अनुसार वेल्सको ब्रघटनको प्लान्टमा भने कुनै असर पर्नेछैन ।
हाल संयुक्त अधिराज्यमा ए–३८० मा २ सय ५० कामदारले काम गरिरहेका छन् । उनीहरूलाई अन्य परियोजना परिचालन गरिने सम्भावना भएको बताइएको छ ।
हालसालै कम्पनीमा हजारौंको रोजगारी कटौती हुने योजना रहेको मिडियाहरूले जनाएका छन् ।
आगामी २०२० देखि ए–३८० सुपरजम्बो विमानको उत्पादन १ वर्षमा ६ वटा उत्पादन गर्ने एयरबसले जनाएको छ । यो विश्वकै ठूलो यात्रु विमान हो ।
२०२० देखि एयरबसले वार्षिक ८ वटा ए–४०० एमको पनि उत्पादन गर्नेछ । यो २०१८ को प्रस्तावित १५ र २०१९ को ११ को तुलनामा कम हो ।
“एयरबस आफ्नो श्रमबलमा देखा पर्ने कुनै पनि समस्यालाई जिम्मेवारपूर्ण तरिकाले व्यवस्थापन गर्न प्रतिबद्ध छ । एयरबसले विगतमा पनि यस किसिमको व्यवस्थापन सफलतापूर्वक गर्दै आएको छ,” एयरबसले विज्ञप्तिमार्फत् भनेको छ ।
ए–३८० र ए–४०० एम युरोपकै ठूलो नागरिक र सैन्य प्रयोजनका एरोस्पेस आयोजना हुन् ।
गत महिना मात्रै एयरबसले समस्याग्रस्त अवस्थामा पुगेको ए–४०० एमले कुल ८ अर्ब युरोको घाटा गराएको घोषणा गरेको थियो ।
यसैबीच ए–३८० मागमा आएको कमीको समस्याबाट गुज्रँदै आएको छ । तर, जनवरीमा यो विमानलाई केही राहत मिलेको थियो । इमिरेट्सले ३६ वटा जेटका लागि अर्डर दिएपछि एयरबसलाई केही राहत मिलेको हो ।
इमिरेट्सको अर्डरले आगामी केही वर्षसम्मका लागि एयरबसको कार्यक्रमलाई निरन्तरता दिनका लागि सहयोग गरेको विमान उत्पादक कम्पनीले जनाएको छ ।
“प्रतिवर्ष ६ विमानको आपूर्तिका आधारमा एयरबसले आगामी केही वर्षसम्म उद्योगको सक्षम तरिबाबाट ए–३८० को उत्पादन गर्न सक्छ,” विज्ञप्तिमा भनिएको छ ।