डेढ दशकपछि फलेवासमा वाणिज्य बैंक «

डेढ दशकपछि फलेवासमा वाणिज्य बैंक

असुरक्षाका कारण पर्वतको फलेबासबाट बिस्थापित बनेको राष्ट्रिय वाणिज्य बैंक पुनःस्थापित भएको छ ।
तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका कारण १६ वर्षअघि विस्थापित भएको बैंकले आइतबारदेखि कारोबार सुरु गरेको हो । फलेवास नगरपालिका–५ खानीगाउँमा कार्यालय पुनःस्थापना गरी कारोबार सुरु गरेको बैंकले जनाएको छ । माओवादी सशस्त्र द्वन्द्वका क्रममा बैंकमा लुटपाट हुन थालेपछि असुरक्षाको कारण देखाउँदै ०५७ मा विस्थापित बनेको थियो ।
उक्त शाखाको फलेवास नगर उपप्रमुख मञ्जु अधिकारीले पहिलो खाता खोलेर बैंकिङ कारोबारको सुरुवात गरिन् । वाणिज्य बैंकको शाखा पुनःस्थापनाको माग स्थानियवासीले दशक पहिले नै गरे पनि बल्ल प्रयास सफल भएको अधिकारीले बताइन् । उनले भनिन्, “नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि अब यही शाखावाट हुनेछ ।”
पहिले फलेबास वरपरका एक दर्जन गाविसका बासिन्दाले उक्त शाखामा कारोबार गर्दै आएका थिए । उक्त शाखा विस्थापित भएपछि फलेवास नगरपालिका सँगै छिमेकी जिल्ला बागलुङको जैमिनी नगरपालिकाका बासिन्दाहरू सदरमुकाम कुश्मामा आउन बाध्य भएका थिए ।
फलेबास नगरपालिकामा ‘क’ वर्गको बिकास बैंक नभएको अवस्थामा वाणिज्य बैंकको शाखा पुनःस्थापना पछि सरकारी कारोबार गर्नसमेत सहज हुने भएको छ ।
पुनःस्थापित शाखाबाट कर्जा लगानी, बचत संकलन, मोबाइल बंैकिङ, मोबाइल रिचार्ज, घर जग्गा कर, उद्योग तथा कृषि सुविधा प्रदान गरिने बंैकका प्रबन्धक तोरण बिकले जानकारी दिए । सशस्त्र द्वन्द्व कालमा विस्थापित भएको वाणिज्य बैंकको शाखा महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा पनि गत महिलादेखि पुनःस्थापित भएको थियो ।
जिल्लाका ७ वटा स्थानीय तहमध्ये अघिकांसमा बैंकिङ सेवा पुगेको छ । दक्षिण पर्वतको बिहादी गाउँपालिका बाहेक अन्य ६ वटामा विभिन्न बैंकले शाखा स्थापना गरेका छन् । बिहादिमा समेत प्रभु बैंक लैजाने तयारी भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश शर्माले जानकारी दिए ।

लक्ष्मीप्रसाद सापकोटा

 

प्रतिक्रिया दिनुहोस्