Logo

सहकारीका संघहरुबीच साझा धारणा बनाउने प्रयास

सहकारीका ऐन, कानुन तथा नीतिहरुका विषयमा संघहरुबीच साझा धारणा बनाउने प्रयास सुरु भएको छ । विभिन्न विषयमा संघहरुका धारणा र काम बाँझिदा समस्या भएको भन्दै साझा विषय बनाउन पहल सुरु भएको हो ।
राष्ट्रिय सहकारी बैंकको अगुवाइमा आइतबार राष्ट्रिय सहकारी महासंघलगायत केन्द्रीय संघहरुबीच यसबारेमा छलफल भएको छ । छलफल कार्यक्रममा बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष मिनराज कंडेलले नेपालको समग्र सहकारी अभियान थप सफलताका लागि साझा धारणा बनाएर सहकारीमार्फत उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धनका काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
देशभरका सहकारीहरुको छाता संगठनका रुपमा महासंघले सहकारीहरुका साझा समस्याको पहिचान, समाधान र उनीहरुको कामको प्रभावकारिताका विषयमा ध्यान दिएर अगाडि बढ्ने बताए । “सहकारीका सबै तहहरुसंग समन्वय गरी आगामी दिनमा अगाडि बढ्ने र त्यसको संयोजन महासंघले गर्नेछ” उनले भने ।
सहकारी ऐनसंँग बाझिएका अन्य ऐनहरुका कारण सहकारीले उत्पादन लगायत रोजगारी सिर्जनामा सहजताका साथ काम गर्न नपाएको भन्दै अध्यक्ष कँडेलले छिटो भन्दा छिटो ऐन संशोधनका लागि पहल गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्वलोवल बोर्ड सदस्य ओमदेवी मल्ल, लेखा समितिका संयोजक धर्मदत्त देवकोटा, उपाध्यक्ष तथा बैंकका निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेल, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ लगायतले सहकारी संघ संस्थाहरुको प्रभावकारिताका लागि सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीका छाता संगठनहरुले गर्ने कार्यक्रम तथा कारोबारमा दोहोरोपनाका कारण भएका समस्या समाधान गर्न सबैका बीचमा सहकार्य आवश्यक रहेको बताए । सहकारीमार्फत समृद्ध समाज निर्माणका लागि छाता संगठनहरुमा रहेको श्रोतलाई थप प्रभावकारी बनाउन तथा प्रविधि र नीति निर्माणमा साझेदारी गरेर अगाडि बढ्नका लागि सबैसंग आह्वान गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारीको भावी कार्यदिशा विषयमा प्रस्तुतीकरण गरेका थिए । सहभागीहरुले सहकारीमा देखिएका समस्याहरुको पहिचान, योजना र समस्या समाधान गर्ने प्रतिवद्धताका साथ अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बैंकले राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र जिल्ला सहकारी संघ काठमाडौंका नवनिर्वाचित पदाधिकारी बधाइ तथा कार्यकाल सफलताको शुभकामना प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्