डब्लूटीओको सदस्यताको अत्यधिक लाभ अमेरिका र चीनलाई «

डब्लूटीओको सदस्यताको अत्यधिक लाभ अमेरिका र चीनलाई

वासिङ्टन-विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्यताको लाभ अन्य देशको तुलनामा संयुक्त राज्य अमेरिका र चीनले उठाउन सफल भएको सोमबार सार्वजनिक एक अध्ययनमा उल्लेख गरिएको छ ।
दुई शक्तिराष्ट्रबीच महिनौँसम्मको व्यापार विवादपछि हालै केही विवादमा समाधानको दिशामा रहेका समय उक्त अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो ।
जर्मनीको बर्टेल्समेन फाउन्डेसनद्वारा गरिएको अध्ययनले डब्लूटीओको सदस्यताबाट अमेरिकाको कुल गार्हस्थ्य उत्पादनमा २५ वर्षमा ८७ अर्ब अमेरिकी डलर बराबर सहयोग पुगेको देखाएको छ ।
सन् २००१ मा सदस्यता प्राप्त गरेको चीनले सदस्यताका कारण ८६ अर्ब अमेरिकी डलर र जर्मनीले ६६ अर्ब अमेरिकी डलर बराबरको लाभ लिएका बताइएको छ ।
बर्टेल्समेनका व्यापार विज्ञ तथा अध्ययन टोलीका जेता क्रिस्टियन ब्लुथले भने, “कुनै पनि संगठन दोषरहित नहुन सक्छ । डब्लूटीओका कारण अन्तर्राष्ट्रिय व्यापार समृद्धिमा व्यापक क्षतिको खतरा देख्नुको सट्टा जसले द्विपक्षीय व्यापार प्रणालीमा विश्वास गर्छ उसले यसबाट भरपूर लाभ लिन सक्ने चीन र अमेरिकाको उदाहरणबाट देख्न सकिन्छ ।”
१ सय ६४ मुलुकले सदस्यता लिएको विश्व व्यापार संगठनले सन् २०२० जनवरी १ मा २५ औँ स्थापना दिवस मनाउँदैछ ।
वासिङ्टनले व्यापार विवादमा मध्यस्थता गर्ने एक पुनरावेदन निकायका लागि नयाँ न्यायाधीशको नियुक्ति गर्न मानिरहेको छैन, तर पनि आगामी जनवरीमा प्रारम्भिक व्यापार सम्झौता गर्न उत्साहित बनेका वासिङ्टन र बेइजिङबीच लामो समयसम्म रहँदै आएको एक–अर्काबीच अतिरिक्त कर कार्यक्रमको अन्त्यका लागि सहमति भएको छ ।
बर्टेसमेनले भने, “डब्लूटीओको सदस्य राष्ट्रले औसतमा कुल गार्हस्थ्य उत्पादनको ४.५ प्रतिशत लाभ पाएका छन् ।”
१ प्रतिशत विश्वव्यापी उत्पादन अर्थात् कुल वृद्धि आठ खर्ब ५५ अर्ब अमेरिकी डलर पुगेको अध्ययनले देखाएको छ ।
सन् १९८० देखि सन् २०१६ सम्ममा विश्वभर डब्लूटीओ सदस्य राष्ट्रहरूको निर्यात दरमा औसत १४ प्रतिशत वृद्धि रहेको र सदस्यता नभएका मुलुकहरूको निर्यात ६ प्रतिशतले कम भएको बताइएको छ ।
फाउनडेसनले भनेको छ, “अहिलेसम्म उत्पादन र निर्यातका लागि बलियो देखिएका मुलुकहरूले लाभ सदस्यताको खास लाभ उठाउन सफल भएका छन् । दक्षिण कोरिया र मेक्सिकोले पनि सदस्यताको अत्यधिक लाभ लिन सफल भएका छन् ।”
तर सामान उत्पादनका क्षेत्रमा साना मानिएका युरोपेली मुलुकहरूले भने यस प्रकारको ठूलो फाइदा उठाउन नसकेको देखिन्छ ।
फ्रान्सको उत्पादनबाट २५ अर्ब अमेरिकी डलर बेलायतले २२ अर्ब अमेरिकी डलर लाभ लिएका छन्, जुन कुल गार्हस्थ्य उत्पादनको औसत वृद्धिदर ४.५ प्रतिशतभन्दा कम हो ।
युरोपेली आयोग प्रमुख यूर्सुला भोनदेर लेयनले सन् २०२० को सुरुमा अमेरिकी राष्ट्रपतिलाई भेट गरी केही महत्वपूर्ण विषयमध्ये एक विषयमाथि वृहद् छलफल गर्ने योजना सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्