विनाश निम्त्याउने विकास
यो वर्षको मनसुन बाहिरिनै लाग्दा विशेष गरी देशको पूर्वी र मध्यक्षेत्रमा गत असोज ११ र १२ गते आएको भीषण वर्षाले कीर्तिमानी रूप धारण गर्यो । मौसम पूर्वानुमान हुँदाहुँदै पनि पूर्वतयारी पर्याप्त नहुँदा धनजनको व्यापक क्षति हुन पुग्यो । जलविद्युत, सडक पूर्वाधार र कृषिमा ठूलो नोक्सानी भयो । देशभरिका सबैजसो सडक सञ्जाल बढीपहिरोका कारण क्षतविक्षत भए । यातायात व्यवस्था खलबलिँदा दसैँमा कर्मथलोबाट आआफ्नो गाउँठाउँ बेलैमा पुग्न सकस भोग्नुपर्यो । समग्रमा दसैँको मुखमा आइलागेको विपत्तिले सबैको दसैँ खल्लो बनायो । पछिल्ला केही वर्षयता प्राकृतिक विपत्तिका घटनाहरू थपिँदै छन्, जसका कारण धनजनको क्षतिको मात्रा निरन्तर उकालो लाग्दो छ । यसले जीवनयापनलाई थप कष्टकर बनाउँदै छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज २३ गते गृह मन्त्रालयमा पेस गरेको क्षतिको प्रारम्भिक प्रतिवेदनअनुसार गत असोजमा गएको बाढीपहिरोबाट २ सय ४६ व्यक्तिले ज्यान गुमाउनुपर्यो भने १८ जना अझै बेपत्ता हुनुका साथै झन्डै ११ हजार परिवार विस्थापित भएका छन् । यो विपत्बाट ४६ अर्बभन्दा धेरैको आर्थिक क्षति भएको आकलन गरिएको छ । उक्त प्रतिवेदनअनुसार बाढीपहिरोबाट ४४ पुल, २६ जलविद्युत आयोजना, ४१ सडक, १ हजार ६ सय १६ खानेपानी आयोजना, ३ सय २ दूरसञ्चारसम्बन्धी संरचना र ८४ यातायातका साधनमा क्षति भएको छ । यो विपत्बाट कृषिमा मात्रै ५ अर्ब ८३ करोडबराबरको क्षति पुगेको छ, जसअन्तर्गत धानलगायत विभिन्न बालीनाली, सिँचाइ एवं विभिन्न कृषिसम्बद्ध संरचनामा व्यापक क्षति पुग्न गएको छ ।
पछिल्लो कीर्तिमानी वर्षाका अतिरिक्त यो वर्षको मनसुनमा मात्रै केही अस्वाभाविक घटनाहरू भए । गत असार २३ र २४ मा कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा इतिहासकै अत्यधिक वर्षा भयो । असार २० गते गौरीशंकर हिमालनजिकै भएको हिमपहिरो तथा हिमताल विस्फोट, साउन ३२ मा सोलुखुम्बुको थामेमाथिको थ्याङ्बो हिमताल विस्फोट र भदौ ७ मा मुस्ताङको थसाङ क्षेत्रमा धौलागिरि हिमालबाट आएको हिमपहिरोले ठूलै त्रास उत्पन्न गरायो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ का अनुसार वि.सं. २०८० मा १ सय २४ दिन मनसुन सक्रिय रहँदा ६३ जनाको मृत्यु, ३० जना बेपत्ता र ५ हजार ९ सय ३७ परिवार प्रभावित हुनुका साथै करिब ३३ करोड २२ लाखबराबरको भौतिक क्षति बेहोर्नुपर्यो । यसका साथै उक्त कार्ययोजनामा विगत १० वर्ष (वि.सं. २०७०–२०८०) को अवधिमा मनसुनजन्य विपत्का घटनाबाट ३ हजार बढीले ज्यान गुमाउन पुगे र झन्डै ८ सय जना बेपत्ता भई ८५ हजार ६ सय ४६ परिवार प्रभावित भए भने १८ अर्ब ७१ करोडबराबरको भौतिक क्षति हुन पुगेको थियो । विगत दस वर्षको मनसुनजन्य तथ्यांक विश्लेषण गर्दा यस वर्षको मनसुन सकिनै लाग्दा आएको भीषण वर्षाले नेपालजस्तो कम विकसित देशले अकल्पनिय नोक्सानी बेहोर्नुपरेको छ ।
एक्काइसौं शताब्दीमा प्रवेशसँगै विश्वकै जलवायु तीव्र रूपमा परिवर्तन हुँदै छ । बढ्दो तापमान नै जलवायु परिवर्तनको कारक मानिएको छ । पृथ्वी बर्सेनि तात्दै छ । पृथ्वी तातिँदै जानुमा वायुमण्डलमा हरितगृह ग्यासको व्यापक उत्सर्जनलाई लिइएको छ । हरेक वर्ष विश्वका विभिन्न भूभागमा गर्मीले नयाँ कीर्तिमान कायम गरेको तत्थ्य सार्वजनिक भइरहेका छन् । विश्वव्यापी तापमान वृद्धिले गर्दा नै जलवायु र मौसममा अस्वाभाविक र अनपेक्षित परिवर्तन देखा पर्दै सर्वत्र प्राकृतिक प्रकोपका घटनाहरूलाई बढाएको छ । प्राकृतिक विपत्को सम्मिश्रण बढ्ने क्रम जारी छ ।
संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) को एक प्रतिवेदनले सन् २०२३ लाई हालसम्मकै तातो वर्ष रहेको पुष्टि गरेको छ ।
गत वर्षको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.४५ डिग्री सेल्सियस बढी भएको डब्लुएमओले जनाएको छ । यसैगरी युरोपेली जलवायु अनुगमनकारी संस्था कोपर्निकसको पछिल्लो प्रकाशनअनुसार सन् २०२४ को सेप्टेम्बरमा विश्वभरि अत्यधिक वर्षा र विनाशकारी आँधीको अनुभव भयो, जुन जलवायु परिवर्तनका कारण बढी तीव्रता र आवृत्तिमा भइरहेका छन् । सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरमा विश्वव्यापी औसत तापमान सन् १९९१–२०२० को औसतको तुलनामा ०.७१ र २०२३ को सोही अवधिको तुलनामा ०.१९ डिग्री सेल्सियस बढी न्यानो थियो । यसले गर्दा सन् २०२४ मा झन् गर्मी हुने सम्भावना उच्च रहेको कोपर्निकसले जनाएको छ ।
यसै गरी जलवायु तथा मौसम विभागको प्रारम्भिक प्रतिवेदनअनुसार नेपालले पनि सेप्टेम्बरमा चार दशकयताकै ऐतिहासिक वर्षा र उच्च तापक्रमको सामना गर्नुपरेको औँल्याएको छ । सेप्टेम्बरमा सरदर २४२.९ मिलिमिटर वर्षा हुने गरेकोमा यो वर्ष भने ४१३.१ मिलिमिटर रहेको थियो । यो सन् १९८१ यता सेप्टेम्बरमा सबैभन्दा धेरै मापन गरिएको वर्षा हो । यसका साथै सेप्टेम्बरमा देशका धेरै भागमा तापक्रमले पनि नयाँ उचाइ कायम गरेको उक्त प्रतिवेदनले उल्लेख गरेको छ । २३ सेप्टेम्बरमा लहानमा ३९.५ डिग्री सेल्सियसको सर्वाधिक तापक्रम मापन भयो । विभागले अक्टोबरदेखि डिसेम्बरसम्मको मौसमको समेत प्रक्षेपण गरेको छ, जसअनुसार देशको अधिकांश भूभागमा अधिकतम र न्यूनतम दुवै सरदरभन्दा बढी हुने अनुमान गरिएको छ ।
अहिलेकै गतिमा तापमान वृद्धि भइरहने हो भने अबको केही वर्षमै स्थिति भयावह हुने चेतावनी वैज्ञानिकहरूले दिइरहेका छन् । सन् २०१५ मा संयुक्त राष्ट्रसंघको वार्षिक जलवायु सम्मेलन (कोप–२१) ले पृथ्वीको तापक्रम वृद्धिलाई औद्योगिक क्रान्तिपूर्वको अवस्थाको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धताको कार्यान्वयन स्तर सुस्त छ । समय घर्किंदै छ । विश्व मौसम विज्ञान संगठनले यसै वर्ष प्रकाशन गरेको प्रतिवेदनले २०३० सम्म १.५ डिग्री सेल्सियको लक्ष्य हासिल गर्न हरितगृह ग्यास उत्सर्जनलाई ४२ प्रतिशतले कटौती गरिनुपर्ने उल्लेख गरेको छ । तर, यस मामलामा विश्व अझै पनि गम्भीर बन्न सकेको छैन ।
जलवायुमा प्राकृतिक रूपमा परिवर्तन हुनु सामान्य हो, तर तीव्रताका साथ भइरहेको परिवर्तन भने मानव सिर्जित नै हो भन्ने स्पष्ट भइसक्यो । हामी मानव जातिले छोटै समयमा तीव्र विकास त गयौँ, तर प्रकृतिको चरम दोहन गरेर । आज यही तीव्र विकासले भयंकर विनाश निम्त्याउँदै छ । मानव जातिले जतिजति पृथ्वीमाथि अत्याचार गर्दै छ त्योभन्दा बढी पृथ्वीले वितण्डा मच्चाउन थालेको देख्न पाइन्छ । आफूलाई मात्र हैन, सम्पूर्ण प्राणी र वनस्पति जगत्कै अस्तित्वलाई संकटतर्फ डोर्याउँदै छ ।
यहाँनिर विकास केका लागि ? भन्ने प्रश्नसमेत तेर्सिन्छ । हुन त विकासकै प्रतिफलका कारण मानवले आफ्नो जीवन सहज, सुखी र सम्पन्न बनाउँदै लगेको छ । सम्पूर्ण पारिस्थितिकीय प्रणाली नै खलबलिने गरी प्राप्त गरिने सम्पन्नता कहिलेसम्म टिक्ला र ? प्रकृति दोहनको भरमा गरिने भोगविलासले आउँदा वर्ष थप कष्टकर र पीडादायी हुने निश्चित छ । हुन त हाम्रा क्रियाकलापलाई प्रकृतिमैत्री बनाउन दिगो विकासको अवधारणा सन् ८० को दशकदेखि नै आएको हो । यसै क्रममा सामाजिक, आर्थिक र वातावरणीय पक्षलाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१५ देखि २०३० सम्ममा १ सय ९३ राष्ट्र दिगो विकास लक्ष्य प्राप्तिका लागि अघि नबढेका पनि होइनन् । यद्यपि वातावरणीय जटिलताका सवालमा खरो गरी उत्रन सकिएको छैन ।
विकास निर्माणका कार्यमा कतिसम्म हेलचेक्रयाइँ गरिन्छ भन्ने उदाहरणका रूपमा हाम्रै देशलाई हेरे पुग्छ । नेपालको अधिकांश भूभाग हिमाली तथा पहाडी भूबनोटको हुँदाहुँदै यसलाई हेक्का राखेर विकास निर्माणका गतिविधि सञ्चालन गर्न हामी चुकिरहेका छौँ । व्यवस्थित र वैज्ञानिक बसोबासतर्फ सोचिएन । बस्ती र सहरहरू बिना दीर्घकालीन योजना फैलिँदै गए । डाँडाकाँडा खोस्रेर जग्गा प्लटिङ थालियो । पहाडी क्षेत्रमा भएको गतिविधिका कारण खोलाको सतह बढ्दो छ । नदीनालाको जथाभावी दोहन गरेर उसको साबिकको बहने बाटो मिचिँदै छ । यसका कारण सामान्य वर्षामा पनि घरखेत डुबानमा पर्ने गर्छ । चुरे दोहनले भू–जल सतह घट्दै छ । गाउँघरमा घरैपिच्छे बाटो पुर्याउने होड चलेको छ । ‘डोजरे विकास’ का कारण पहाड क्षतविक्षत भएको छ । बाटो बनाउँदा प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गरिन्छ । घरघरमा बाटो पुग्दा दंग त पर्छौं, तर हरेक मनसुनमा यी बाटा र सडकहरू नै काल बन्ने गर्छन् ।
‘डोजरे विकास’ का नाममा बनाइएका सहायक सडकका कारण मूल सडक पनि काम नलाग्ने बन्दै छन् । सडक संरचना समयमै सम्पन्न गरिँदैन । मनसुनका समयमा पनि डाँडाकाँडा खोस्रने कार्यले निरन्तरता पाउँछ । सडकको दुरवस्थाले गर्दा दुर्घटना बढ्दो छ । गन्तव्यमा नपुगुन्जेल त्रसित भएर यात्रा गर्नुपर्छ । यो वर्षको मनुसुनमा सिमलताल र झ्याप्ले खोला पहिरोमा भएका सवारी दुर्घटना अत्यन्तै दुःखद रहन पुग्यो । सडक विस्तार गर्दा भूक्षय तथा पहिरो नियन्त्रणलाई बेवास्ता गर्ने गरिएको तथ्य विज्ञहरूबट आइरहेको छ ।
अरू त के कुरा, काठमाडौंको लाइफ लाइन मानिने नौबिसे–नारायणगढ खण्डमा नै वातावरणीय तथा प्राविधिक पक्षमा कमजोरी रहेको कुरा सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनले समेत औंल्याएको छ । यो सडकमा बर्सेनि भइरहेको धनजनको क्षतिले आज आएर यो सडकको औचित्यमाथि नै प्रश्नचिह्न खडा भएको छ । पहिरो तथा भूक्षय नियन्त्रणलाई ख्याल गरिएर बनाइएको बिपी राजमार्ग ठाउँठाउँ खोस्रिँदा यो राजमार्गमा पनि धेरै क्षति पुग्यो । जथाभावी डाँडाकाँडा र नदीनाला खोस्रिँदा बिपी राजमार्गको अवस्था पनि दयनीय हुन पुगेको अनुमान विज्ञहरूले गरेका छन् । हामीले विकास निर्माणमा हेलचेक्याइँ गर्दा मानवीय क्षति त छँदै छ, ठूलै भौतिक एवं आर्थिक नोक्सानी बेहोर्नु परिरहेको छ ।
नेपालले कतिपय आन्तरिक कमीकमजोरीका कारण प्राकृतिक विपत्ति झेल्नुपरे पनि खाँदै नखाएको विष पनि लाग्ने गरेको छ । हरित ग्यास उत्सर्जनमा नेपालको हिस्सा ०.०२५ प्रतिशत मात्र छ, तर जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम मुलुकमध्ये १० औँ स्थानमा पर्छ । वल्र्ड रिसोर्सेस इन्स्टिच्युटको सन् २०२३ को तथ्यांकअनुसार हरित गृह ग्यास उत्सर्जन गर्ने शीर्ष तीन देश (चीन, अमेरिका र भारत) ले मात्र ४२.६ प्रतिशत हिस्सा ओगट्छन् भने पछिल्लो स्थानमा रहेका सय देशको हिस्सा केवल २.९ प्रतिशत रहेको छ ।
यसबाट विकसित देशहरूकै कारण नेपालजस्तो देशले बर्सेनि ठूलो विनाशको सामना गर्नुपरिरहेको प्रस्ट हुन्छ । नेपालको परिपे्रक्ष्यमा हिमगलन, हिमताल विस्फोट, हिमपहिरो, मनसुनको प्रवृत्तिमा फेरबदल, बढ्दो गर्मीजस्ता कारणले प्रकोपको मात्रा बढ्दो छ । यसले गर्दा उत्पादन र उत्पादकत्वमा ह्रास आई रोजगारी, आय र जीविकोपार्जनमा गहिरो प्रभाव पार्दै छ । तसर्थ, यही नोभेम्बर ११ देखि २२ सम्म अजरबैजनाको बाँकुमा भइरहेको कोप–२९ सम्मेलनमा विकसित देशहरूले पृथ्वीको तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न कठोर निर्णय गर्नैपर्ने हुन्छ र हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका रहेका कमजोर देशलाई पर्याप्त वित्तीय तथा प्राविधिक सहयोग गर्नबाट पन्छिन पनि हुँदैन ।