मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैनः शिक्षा मन्त्री

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी हुन् ।
बैठकमा नेकपा(एमाले)की सांसद विद्या भट्टराईले दुई विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको भन्दै कसरी काम अगाडी बढिरहेको छ भनि मन्त्री श्रेष्ठसँग जवाफ माग गरिन् । सांसद भट्टराईको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विश्वविद्यालयको उपकुलपति छनौटको मापदण्ड कडा भएको आवाज आएकाले प्रक्रिया रोकिएको जानकारी दिइन् ।
उनले आफू सहकुलपतिको हैसियतले सर्च कमिटीमा पनि भएको स्पष्ट पारिन् । उनले अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर प्रधानमन्त्रीलाई आग्रह गरिएको भन्दै सोही अनुरुप अगाडि बढ्ने र प्रक्रिया नरोकिने बताइन् । मन्त्री श्रेष्ठले नर्सिङ शिक्षामा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायहरुसँग बैठक गर्ने र आवश्यक कदम चाल्ने बताइन् ।