कपिलवस्तुमा उद्योग बन्दको क्रम बढ्दो

बुटवल– कपिलवस्तुमा साना उद्योग व्यवसायहरू बन्द हुने क्रम बढेको छ । चल्न नसक्ने अवस्था सिर्जना भएपछि साना उद्योग तथा वाणिज्य फर्महरू बन्द हुन थालेका हुन् । चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म ६२ वटा साना उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा ७८ वटा उद्योग बन्द भएकोमा यो वर्ष ७ महिनामै ६२ वटा बन्द भएको तथ्यांकले देखाएको छ । उद्योग बन्द हुने क्रम बढेको छ भने खुल्ने क्रम घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ६५८ वटा उद्योग दर्ता भएका थिए । चालु आर्थिक वर्षको ६ महिनामा २६७ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले जनाएको छ ।
वाणिज्यतर्फ चालु आर्थिक वर्षको ६ महिनामा २५५ वटा फर्म दर्ता भएका छन् । यो अवधिमा ३५ वटा खारेजीमा परेका छन् । गत आर्थिक वर्षमा ४२३ वटा फर्म दर्ता हुँदा ९६ वटा खारेज भएका थिए । केही नचलेर बन्द भएको र कतिपय अरु कारणले बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेमबहादुर गौतमले बताए ।
‘बन्द हुने क्रम तीव्र छ । तर धेरै कहाली लाग्दो अवस्था भने छैन । फर्म दर्ता हुँदा विभिन्न मनसाय र प्रायोजनको लागि हुन्छ । त्यसले पनि अर्थ राख्दो रहेछ,’उनले भने,‘कतिपयले फर्म दर्ता गर्ने तर कारोबार नगरी राख्ने देखिएको छ । पछि व्यवसाय परिवर्तन गर्दा बन्द देखिएको हो ।’ केही वर्ष अघिसम्म दर्ता अत्यधिक भएको र अहिले दर्ता हुने क्रम कम भएको गौतमले बताए ।
प्रदेश सरकारबीचमा फर्म दर्तामा सहुलियत दिएका कारण पनि दर्ता बढेको उनको भनाइ छ । विशेष गरी कृषि फर्म र खाजा पसलहरू बन्द हुने क्रम बढी भएको कार्यालयले जनाएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले पछिल्लो समय नयाँ व्यवसायीहरू आउन नसकेको र कतिपय व्यवसाय बन्द भएको बताए ।
‘नयाँ व्यवसाय आउने क्रम खासै छैन । सुरु गरेकाहरूले पनि छिट्टै बन्द गरेको देखिएको छ,’उनले भने,‘आर्थिक मन्दीले गरिरहेको ठाउँबाट व्यवसायीहरू पनि सस्तो भाडा भएको ठाउँ खोजेर सर्ने क्रम छ ।’ कोरोना र आर्थिक मन्दीका कारण डेढ वर्ष यता बजारमा यस्तै समस्या देखिएको क्षेत्रीको भनाइ छ ।
विगतको अवस्था हेर्दा कपिलवस्तुमा उद्योगतर्फ आर्थिक वर्ष २०७५/७६ मा ६१ वटा फर्म बन्द भएका छन् । २०७६/७७ मा ७५ वटा, २०७७/७८ मा ७७ र आर्थिक वर्ष ०७८/७९ मा ९० वटा साना उद्योग बन्द भएका थिए । यस्तै वाणिज्य फर्मअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ मा १६९, २०७६/०७७ मा १७८, २०७७/७८ मा १०९ र आर्थिक वर्ष ०७८/०७९ मा ७६ बन्द भएका थिए ।