Logo

ठूलो आकारको बजेट ल्याउँदा टाउकोमा हात राख्नुपर्ने अवस्था आउँछः डा.महत

फाइल तस्बिर ।

काठमाडौं- निःवर्तमान अर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरणले ठूलो आकारको बजेट ल्याउँदा दीर्घकालिन दायित्व सिर्जनाले अर्थमन्त्री वर्षमान पुनले टाउकोमा हात राख्नुपर्ने अवस्था आउने दाबी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै उनले वर्तमान गठबन्धन सरकारले २१ खर्बको बजेट ल्याउने तयारी गरेको भन्दै असन्तुष्ट व्यक्त गरे ।

उनले ३० खर्बको बजेट ल्याउन अर्थमन्त्रीलाई शुभकामना दिँदै बजेट प्रस्ताव गर्ने काल्पनिक आम्दानीको स्रोत देखाउने, सबै ठाउँमा बजेट दिने र कार्यकर्ताले चाहेका मागहरुलाई वितरण गर्ने खालको नल्याउन सुझाव दिए । उनले यस्तो बजेट ल्याउँदा सबै केही क्षण खुशी भएको जस्तो देखिए पनि बजेटले गर्ने दीर्घकालिन दायित्व सिर्जना र घोषणा पूर्तिको बेलामा अर्थमन्त्रीले टाउकोमा हात राख्नुपर्ने स्थिति आउने दाबी गरे ।

उनले पार्टीको नेतृत्व गरेर अर्थमन्त्री भएर सरकारमा बस्दा एकलव्य दृष्टिकोण लिएर अर्थतन्त्रलाई सुधार गर्ने कामलाई प्राथमिकता दिएर काम गरेको बताए । उनले आफूले पार्टीलाई प्राथमिक भन्दा पनि देश र जनता प्राथमिकता दिएको दाबी गरे । उनले पार्टीको पक्षमा पृष्ठपोषण गर्ने काम भन्दा पनि बजेटमा देखिएको बेथितिलाई थितिमा ल्याउने काम गरेको दाबी गरे ।

उनले बजेटलाई थितिमा ल्याउन नसक्ने हो भने झन ठूलो अफ्ठ्यारोमा देश जाने उल्लेख गरे । उनले २० खर्बको बजेट बनाउन सरकार लागेको भन्ने सुनेको भन्दै सरकारले सके २० खर्ब मात्रै नभई ३० खर्ब ल्याउँदा पनि फरक नपर्ने तर कार्यान्वयनमा समस्या हुने बताए । उनले सरकारलाई ३ खर्ब ३१ अर्ब रुपैयाँ यो वर्ष ऋण र साँवा भुक्तानी गर्नुपर्ने दायित्व रहेको बताए ।

उनले वर्तमान सरकारले आगामी बजेटमा ४ खर्ब ३५ अर्ब ऋण र साँवा भुक्तानी लागि छुट्याउनु पर्ने अवस्था रहेको बताए । उनले स्थानीय निकाय ७५३ पालिका सात प्रदेशलाई दिँदै आएको सहयोग रोक्न नमिल्ने बताए । उनले सामाजिक सुरक्षालाई निरन्तरता दिँदा आवश्यकताको आधारमा दिने व्यवस्था गर्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्