Logo

खोटो संकलनले आम्दानी बढायाे

दाङ– दाङमा पछिल्लो समय सल्लाको खोटो निकाल्ने क्रम बढ्दै गएको छ । सल्लाको खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि पछिल्लो समय जिल्लामा खोटो संकलन गर्ने क्रम बढेको हो ।

आर्थिक वर्ष २०७९/०८० मा जिल्लाका नौवटा समुदायिक वनबाट एक लाख सात हजार ९०७ केजी खोटो संकलन भई बिक्री हुँदा १२ लाख ९४ हजार रुपैयाँ आम्दानी भएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । अघिल्लो आव २०७८/०७९ मा ७८ हजार २५६ केजी सल्लाको खोटो संकलन भएको थियो ।

उक्त वर्ष खोटो बिक्रीबाट नौ लाख ३९ हजार रुपैया आम्दानी भएको थियो । अघिल्लो आवको तुलनामा पछिल्लो समय सल्लाको खोटो संकलन गर्ने कार्य बढेको कार्यालय प्रमुख श्रेष्ठले बताउँछन् । कार्यालय प्रमुख श्रेष्ठले भने, ‘वनमा सल्लाका रुख बढेसँगै खोटो संकलन गर्ने क्रम बढेको छ । खोटो बिक्री गरेर वन समूहले राम्रो आम्दानी गरिरहेको छ ।’

सल्लाको खोटो बिक्री गरेर आम्दानी भएको ७५ प्रतिशत रकम सम्बन्धित वन समूहको कोष र २५ प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए । जिल्लामा बङ्गलाचुली गाउँपालिकाबाट खोटो संकलन हुने गरेको छ । सामुदायिक वन समूहले जंगलमा रहेका सल्लाका रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक रूपमा लाखौँ रुपैयाँ आम्दानी गर्ने र उक्त पैसा सामाजिक कार्यमा लगाउने गरेका छन् ।

वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै खानेपानी धारा निर्माण, बाटो निर्माण, विद्यालय, सामुदायिक वन निर्माण लगायतका कार्यमा लगाउने गरेको बङ्गलाचुली गाउँपालिका–८ मा रहेको ओखलढुंगा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताए । सल्लाको रुख बाट वैशाख/जेठ महिनादेखि मंसिर/पुस महिनासम्म खोटो संकलन गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्