Logo

‘आईसीपी छिटो बन्नुपर्छ’

बुटवल– पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको बेलहिया नाकामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) छिटो बन्नुपर्ने बताएका छन् । निर्माणाधीन आइसीपीको बुधबार बिहान अवलोकन गर्दै पौडेलले यो संरचना छिटो र गुणस्तरीय बन्नुपर्ने बताएका हुन् । आईसीपी बनाउनका लागि धेरै पहिलादेखि नै कुरा चलिरहेको भन्दै पौडेलले दुई देशबीचमा सहमति भएको तर, जमिनको प्रबन्धका कारण अलि ढिलो भएको उल्लेख गरे ।

‘आईसीपी निर्माण प्रगतिबारे जानकारी लिइयो, केही समस्याहरू भयो भने सिडियो साबले कोर्डिनेशन गरिहाल्नुहुन्छ । खासगरी अलि निर्माण सामग्रीको समस्या देखियो,’उनले भने । पौडेलले आईसीपी निर्माणमा केही अवरोध आएको र त्यसलाई हटाएको बताए । पौडेलले आईसीपी दुई देशबीचको व्यावसायिक कारोबार तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिनेमा जोड दिए । आईसीपी निर्माणले भन्सार प्रणाली, व्यवसाय र प्रशासनिक संयन्त्रलाई सहज हुने उनको भनाइ छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पूर्वमन्त्रीको उपस्थितिमा आईसीपीको संयुक्त अनुगमन गरिएको जानकारी दिए । उनले परियोजना व्यवस्थापनले दिएको जानकारी अनुसार यो परियोजना निर्माण कार्य सन्तोषजनक अवस्था रहेको बताए । ‘मुलत: करिब ३० प्रतिशत हाराहारीमा भौतिक प्रगति रहेको प्रस्तुति रह्यो । त्यो भनेको आफैमा नराम्रो होइन,’ उनले भने,‘त्यसमा सबै सरोकारवालाहरूले परियोजनाले सहयोग गर्ने र निर्माण कार्यलाई द्रुत गतिले अगाडि बढाउने सहमति भएको छ ।’

सुरुमा निर्माण सामग्रीको उपलब्धता भएन भन्ने समस्या आफूहरूसँग आएको र स्थानीय पालिकाहरुसँग छलफल तथा संवाद गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ । उनले भने,‘कतिपय सन्दर्भमा सहजीकरण गरेर निर्माण सामग्रीसँग सम्बन्धित समस्या समाधान गरेका छौं । मलाई लाग्छ अब यो परियोजनामा निर्माण सामग्रीसँग सम्बन्धित समस्या रहदैन ।’ करिब १५ वर्षअघि नै नेपालतर्फ जग्गा अधिग्रहण गरिए पनि आईसीपी निर्माणको काम अगाडि बढ्न सकेको थिएन ।

भारततर्फ जग्गाको कुरा नमिलेपछि आईसीपी निर्माणमा ढिलाइ भई रहेको थियो । भैरहवा भन्सार कार्यालयभन्दा करिब डेढ किलोमिटर पश्चिमतर्फ भारतीय भूमि भारतले अधिग्रहण गरेपछि अहिले दुवैतर्फ आईसीपीको निर्माणले तीव्रता पाएको हो । नेपाल–भारतबीचको व्यापारलाई सहजीकरण गरी दुई देशबीच आयात निर्यातमा सहजता ल्याउने उद्देश्यले आईसीपी निर्माणको काम अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्