सीमा क्षेत्रमा प्याज तस्करी

वीरगन्ज– भारतले निर्यातमा प्रतिबन्ध लगाएको प्याजको सीमा क्षेत्रमा तस्करी बढेको छ । भारतीय सीमा सुरक्षाको आँखा छलेर नेपालमा प्याज तस्करी हुने गरेको हो । भारतले ३१ मार्च २०२४ सम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । प्याजको आन्तरिक उपलब्धता कायम राख्न र मूल्य नियन्त्रणमा राख्न भारतले डिसेम्बर ८ तारिकदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
यसअघि आन्तरिक मौज्दात कायम राख्न र मूल्य बढ्न नदिन एवं प्याजको निर्यातलाई हतोत्साही गर्न गत अगस्टमा भारतले ४० प्रतिशत निर्यात शुल्क लगाएको थियो । अक्टोबरको अन्त्यमा, प्याज निर्यातको लागि न्यूनतम निर्यात मूल्य प्रति टन ८०० डलर तोकिएको थियो । यी दुवै निर्णय ३१ डिसेम्बर २०२३ सम्म लागू हुने भएपनि अहिले भारतबाट प्याज तस्करी बढेको छ । भारतबाट तस्करी गरी ल्याइएको प्याज सीमावर्ती नेपाली सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिन थालेका छन् ।
नेपालको मुख्य प्रवेशद्वार वीरगन्जलगायतका आसपासका पर्सा र बाराका सीमा नाकाहरूबाट भारतीय बजारबाट तस्करी गरी ल्याइएको प्याज नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिन थालेको हो । भारतबाट निर्यातमा प्रतिबन्ध लगाएको प्याज नेपालमा तस्करी हुन थालेपछि पर्सा प्रहरीले चालु आर्थिक वर्षको पुष पहिलो सातासम्म १३ लाख ६२ हजार रुपैयाँ बराबरको प्याज नियन्त्रणमा लिएको छ । यसको साथै पर्सा प्रहरीले ना ४ च ८७१३ र ना ३ च ३१५० नम्बरको दुई वटा पिकअप भ्यान समेत बरामद गरेको पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम शाहले बताए ।
बारा प्रहरीले चालु आर्थिक वर्षको भदौ २४ देखि पुष ७ सम्ममा एक करोड ८७ लाख रुपैयाँको प्याज बरामद गरेको छ । प्रहरीले १७ हजार ५ सय किलो प्याज बाहेक चारवटा प्याजसहितको पिकअप नियन्त्रणमा लिएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । नेपाल प्रहरीले मात्रै होइन सशस्त्र प्रहरीले पनि तस्करीको प्याज बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरअन्तर्गतका बिओपी र १२ नम्बर हेडक्वाटर बाराअन्तर्गतका बोर्डर आउट पोष्ट (बिओपी)ले सात हजार ५३२ केजी प्याज बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराले कात्तिक र मंसिर महिनामा दुई हजार ७६ केजी प्याज बरामद गरेको गणपति सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगीले बताए । भारतले प्रतिबन्ध लगाएको प्याज नेपालमा सुरक्षाकर्मीले बरामद गरेपछि नेपाली फलफूल तथा तरकारी व्यावसायीहरूले भने असन्तुष्टि जनाएका छन् । भारतबाट अहिले प्याज ल्याउन कानुनी रूपमा प्रतिबन्ध रहेको छ । भारतबाट नै अवैध बाटो आउने प्याज नेपालतर्फ पनि भन्सारले पास गर्न पनि कानुनी रुपमा वैध हुदैन् ।
सोही कारण भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धले नेपाली व्यावसायीहरूको व्यापारमा धक्का लागेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । भारतबाटै अवैध रूपमा आउने प्याज नेपालमा पनि अवैध हुने भन्दै सुरक्षाकर्मीले निगरानी बढाएका छन् । वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ता नेपालमा बिक्री गर्न ल्याइएका प्याज प्रहरीले समात्नु उचित नभएको बताए ।
उनी भन्छन्,‘नेपाली उपभोत्तालाई आवश्यक प्याज अलि–अलि भए पनि आउने गरेको थियो । अब प्रहरीको धरपकडले त्यो पनि पाउने अवस्था भएन । यस्तै भयो भने महँगो मूल्यमा पनि प्याज पाउन मुस्किल पर्छ ।’ अध्यक्ष गुप्ताले नेपाल सरकारले प्याज आयातको लागि कूटनीतिक पहल गर्नुपर्ने बताए । नेपालमा ल्याइएको प्याजलाई निर्बाध रूपमा बिक्री गर्न पाउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । भारतले प्रतिबन्ध लगाएको प्याज व्यापारीहरूले पनि तस्करीको माध्यमबाट ल्याउन थालेको भन्दै प्याज खरिद बिक्री नै नगर्दा सरकारलाई दबाब पुग्ने उनको बुझाइ छ ।
भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले एक देशबाट पास नभई आएको सामान अर्को देशमा भन्सार पास गर्न कानुनी रूपमा नमिल्ने बताए । उनले अहिलेको प्याजको समस्यालाई दुई देशबीच कुटनीतिक स्तरबाट पहल गरेर केही मात्रामा आउन दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । भारतबाट तस्करी भएर आएको सामानलाई नियमनको हिसाबले पनि बरामद गर्नुपर्ने भन्दै त्यसलाई भन्सारमा बुझाएर लिलामी प्रक्रियाबाट मात्रै प्रयोग गर्नु पर्ने उनको भनाइ छ ।