अवैध रूपमा क्रसर उद्योग सञ्चालन

महेन्द्रनगर– कञ्चनपुरमा खुलेआम मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालनमा रहेका छन् । जिल्लाका विभिन्न स्थानहरूमा रहेका अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन भइरहेका हुन् । विभिन्न आयोजनाका लागि भन्दै खोलिएका क्रसर उद्योग वर्षौं बितिसक्दा समेत सञ्चालनमै रहेका छन् । योजनाको म्याद सकिएपछि पनि गैर कानुनी रूपमा सञ्चालन गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
स्थानीय धर्मनन्द जोशीले क्रसर उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड मिचेरै क्रसर उद्योग सञ्चालन भएपछि क्रसर उद्योग छेउ छाउका स्थानीयहरूले विरोध गरिरहेको बताए । उनले भने,‘मापदण्ड विपरीत विगतमा बन्द गरिएका क्रसर उद्योगहरू पनि धमाधम खुलिरहेको र नयाँ क्रसर उद्योग समेत खुलिरहेको हुनाले सरकारको ध्यानाकर्षण गराएका छौं ।’
कञ्चनपुरको पश्चिम क्षेत्र दोधारा चाँदनीदेखि पूर्व गुलरियासम्म ठाउँ–ठाउँमा अवैध रूपमा क्रसर सञ्चालनमा रहेको भन्दै स्थानीयहरूले बन्द गराउने माग अघि सारेका छन् । स्थानीय मनोजकुमार यादवले विगतका अनुगमन समितिबाट जिल्ला भरी नै स्थलगत रूपमा अनुगमन गर्दै मापदण्ड र गैर कानुनी रूपमा सञ्चालन गरिएका क्रसर उद्योग पुनः सञ्चालन भएको भन्दै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले अनुगमन गर्नुपर्ने बताए ।
उतिबेला अवैध गैर कानुनी भन्दै बन्द गरिएका क्रसर अहिले के आधारमा खुलिरहेको भन्दै स्थानीयहरूले प्रश्न समेत गरिरहेको उनको बताए । विगतका वर्षहरूमा स्थानीय प्रशासनबाट अनुगमन गरेर केही अवैध क्रसर उद्योग बन्द गरिएता पनि केही क्रसर पुनः सञ्चालनमा आएपछि स्थानीयहरू आश्चर्यचकित भएको यादले बताए । उनले अवैध र मापदण्ड विपरीत भनिएका क्रसर उद्योग पुनः सञ्चालनमा आएको र उनीहरूले मिलीमतोमा सञ्चालनमा ल्याएको भन्दै स्थानीयहरूले सरकारी निकायप्रति आशंका समेत गरेको बताए ।
कञ्चनपुरका हुलाकी राजमार्ग प्रयोजनका लागि भन्दै खोलिएका दुई क्रसर उद्योग अझै पनि सञ्चालनमा रहेका छन् । २०७३ फागुनमा ३० महिनामा सम्पन्न हुने गरी ठेक्का पाएको हुलाकी राजमार्ग निर्माण गर्ने कम्पनीद्वय बाबाहंस सिद्धिकी शाही, शर्मा राजेन्द्र जेभीले अझसम्म पनि मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन गरिरहेका स्थानीयले बताएका छन् । गत आर्थिक वर्ष जिल्ला अनुगमन समिति कञ्चनपुरले जिल्लाका तीन क्रसर उद्योग बन्द गराएको थियो ।
उक्त क्रसर उद्योगबारे कञ्चनपुरको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेपछि अख्तियारका निर्देशन अनुरूप मापदण्ड विपरीत गैर कानुनी रूपमा सञ्चालनमा रहेका तीनै उद्योग बन्द गराइएको स्थानीयहरूले बताएका छन् । अख्तियारका अनुसार दोधारा चाँदनी नगरपालिका–३ मा रहेको बासुलिंग कन्सक्ट्रन प्रालि, बेदकोट नगरपालिका–३ को बेदकोट निर्माण सामग्री केन्द्र र कृष्णपुर नगरपालिका–५ गुलरियामा रहेको महाकाली गौरब विल्डर्स क्रसर उद्योगको विद्युत लाइन काटेर बन्द गराइएको छ ।
यसका साथै अख्तियारले तत्कालिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो नेतृत्वको अनुगमन समितिले जिल्लाका क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो । गृह मन्त्रालयले देश भरका क्रसर उद्योगको अनुगमन गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए अनुरूप जिल्ला अनुगमन टोलीले कञ्चनपुरका दुई उद्योग बाहेक अन्य सबै क्रसर उद्योग अवैध र गैर कानुनी तरिकाले मापदण्ड मिचेर सञ्चालनमा रहेको तथ्य सार्वजनिक गरेको थियो ।
तत्कालीन प्रजिअ महतो नेतृत्वको अनुगमन टोलीले बेदकोट नगरपालिका–९ सुन्दरपुरको सिद्धनाथ अनमोल क्रसर उद्योग र बेदकोट नगरपालिका–८ भाँसीको जोशी क्रसर उद्योग बाहेक अन्य सबै क्रसर उद्योग गैर कानुनी र मापदण्ड विपरीत सञ्चालनमा रहेको प्रतिवेदन गृहमन्त्रालमा पेस गरेको थियो । उक्त प्रतिवेदन कार्यान्वयनको बारेमा स्थानीयहरूले प्रशासनसँग माग गरेको अख्तियारले जानकारी दिएको छ ।
त्यसैगरी स्थानीय लोकेन्द्रबहादुर चन्दले क्रसर उद्योग सञ्चालनका लागि वातावरण प्रभाव मूल्यांकन (आईई) सहितका विभिन्न मापदण्ड भए तापनि हाईटेन्सन लाइनबाट एक सय मिटर टाढा, राजमार्ग, खोला, पक्की पुलबाट पाच सय मिटर टाढा, चुरे र अन्तर्राष्ट्रिय सीमाबाट १ किलोमिटर टाढा, शिक्षा, स्वास्थ्य, सुरक्षा, वन, घना बस्ती, सुरक्षा निकाय, वन, निकुञ्ज, आरक्ष, धार्मिक सांस्कृतिक पुरातात्विक महत्वका स्थानबाट दुई किलोमिटर टाढा हुनुपर्ने बताए । सम्बन्धित स्थानीय तह, वन, कार्यालयबाट प्रमाणित हुनुपर्ने मापदण्ड तय भए तापनि अधिकांश क्रसर उद्योगले मापदण्ड मिचेर सञ्चालन गरिरहेको उनको भनाइ छ ।
क्रसर उद्योगका केही सञ्चालकहरूले योजनाका लागि स्वीकृत लिएर सञ्चालन गरिरहेको दाबी गर्दै आएको चन्दले बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले अवैध तथा मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योगको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुखको संयोजकत्वमा रहेको समितिमार्फत अनुगमन गरेर कारबाही गरिने बताए । उनले भने,‘कुनै उजुरी वा त्यस्ता उद्योग गैर कानुनी रूपमा सञ्चालन भएको पाइए कारबाही गर्छौं ।’