Logo

जलवायु परिवर्तन र व्यवसाय अनुकूलन प्रतिवेदन सार्वजनिक

उद्योगले सामना गर्ने जोखिम समाधानमा जोड

काठमाडौं- नेपाल उद्योग परिसंघ (सिएनआई) र पीडब्लूसी भारतले संयुक्त रुपमा तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छ ।

सिएनआई र पीडब्लूसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो । नेपालको अर्थतन्त्र र व्यवसायमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने नेपालको प्रयास र निजी क्षेत्रको पहलका रुपमा यसलाई महत्वपूर्ण मानिएको छ ।

अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगहरुले सामना गर्ने जोखिम तथा समाधानका उपायहरु सुझाइएको छ । यसले व्यवसायलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न सहज वातावरण बनाउन, जोखिम न्यूनीकरण रणनीति अवलम्बन गर्न, मूल्य श्रृंखला एवं जलवायु अनुकूलनबाट उत्पन्न हुने अवसरहरू कसरी पुँजीकरण गर्न सकिन्छ भन्ने विषयहरु प्रतिवेदनमा समेटिएका छन् ।

विश्वव्यापी जलवायु परिवर्तन र यसबाट नेपालले भोगेको असरका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रभावकारी ढंगले उठाउँदै आएको सन्दर्भमा निजी क्षेत्रले समेत यसलाई उच्च प्राथमिकता दिएको छ । जलवायु परिवर्तनबाट सिर्जित चुनौतीको सामना गर्न सरकार, नागरिक समाज, व्यावसायिक क्षेत्रबीचको सहकार्य महत्वपूर्ण छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रतिवेदनले नेपाली व्यवसायको लागि रोडम्याप तयार गर्न ठोस कदम र योजनाहरूको रूपरेखा प्रस्तुत गरेको बताए ।

यसमा जोखिम न्यूनीकरण रणनीतिको रूपमा अनुकूलनलाई पछ्याउने र राष्ट्रिय जलवायु अनुकूलन प्रयासलाई समर्थन गर्ने सरकार, बहुपक्षीय,द्विपक्षीय एजेन्सीजस्ता विभिन्न सरोकारवालाको भूमिकाका विषय समेत समेटिएका छन् । जयवीर सिंह, पीडब्ल्यूसी इन्डियाका प्रबन्ध निर्देशकले जलवायु अनुकूलन व्यवसायका लागी एक जिम्मेवारी मात्र नभएर रणनीतिको आवश्यकता रहेको बताए ।

जलवायु परिवर्तन र यसको असरले बढ्ने लागत तथा अन्य जोखिम सहित यस परिवर्तनशील परिदृश्यलाई अनुकूलन गर्न सक्रिय भई व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । प्रतिवेदनले लचिलो र दिगो व्यावसायिक वातावरण निर्माण गर्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य भूमिका रहेको नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित राष्ट्रमध्ये एक रहेको बताए ।

जलवायु परिवर्तनको असर निकै प्रतिकूल हुने हुँदा जोखिम न्यूनीकरण रणनीति बनाउन यो प्रतिवेदन महत्वपूर्ण हुने बताए । प्रतिवेदन नेपाल सरकार, सरोकारवाला सबैलाई महत्वपूर्ण दस्तावेज हुने विश्वास गरिएको छ । यसले व्यावसायिक सुरक्षा मात्र नभएर राष्ट्रको समग्र आर्थिक स्थिरतामा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । प्रतिवदेनले नेपाललाई जलवायु परिवर्तन अनुकूलनलाई बुझ्न र सम्बोधन गर्नका लागि महत्वपूर्ण मार्ग निर्देशन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्