सेयर बजार किन यसरी खस्किरहन्छ ?

अर्थतन्त्रको एउटा अवयव पुँजीबजार हो । त्यसकारण अर्थतन्त्र चलायमान हुन सक्यो भने सेयर बजारमा स्वतः सुधार आएको हुन्छ । तर, अहिले नेपालको अर्थतन्त्र न त चलायमान हुन सकेको छ, न त सुधारोन्मुख अवस्थामा नै छ । अर्थतन्त्रमा सुधार ल्याउनुभन्दा पनि अहिलेको समस्या भनेको बिग्रिन नदिएर जोगाएर राख्न सक्नु हो र लयमा फर्काउनु हो ।
अहिले देशको अर्थतन्त्र खस्कँदै गएको छ । एकातिर पुँजीगत बजेट खर्च हुन सकेको छैन भने अर्कातर्फ चालुगत खर्चले सीमा नाघिसकेको छ । पुँजीगत खर्च कम हुनु र साधारण खर्च बढ्नु भनेको अर्थशास्त्रीय दृष्टिकोणबाट देशको अर्थतन्त्र कमजोर हुुनु हो ।सेयर बजारको कुरा गर्दा अर्थतन्त्रलाई अलग्याएर कुरा गर्न सकिँदैन । किनभने सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा लिइन्छ । जुन देशको सेयर बजार गतिशील एवं समृद्ध हुन्छ त्यस देशको आर्थिक अवस्था राम्रो भन्न सकिन्छ ।
वर्तमान अवस्थामा नेपालको समग्र अर्थतन्त्र नै कमजोर हुँदै गएको छ । राजस्व उठ्न नसकेका कारण आर्थिक वर्षको प्रारम्भदेखि नै सरकारले आन्तरिक ऋण उठाएको अवस्था छ । पुँजीगत खर्चमा राजस्व बचतको योगदान हुनै सकेको छैन । साधारण प्रकृतिको खर्च सञ्चालन गर्न पनि ऋण लिनुपर्ने अवस्था देखिएको छ ।
सार्वजनिक ऋण बढेर करिब २४ खर्ब पुगेको छ । नेपालजस्तो अतिकम विकसित मुलुकमा प्रतिव्यक्ति ८० हजारको ऋणभार पुग्नु भनेको डरलाग्दो संकेत हो । अर्कातर्फ वैदेशिक अनुदान क्रमिक रूपले प्रत्येक वर्ष घट्दो क्रममा छ । प्रत्येक वर्ष ऋण बढ्दै जानु, लक्ष्यअनुरूप राजस्व असुली हुन नसक्नु, चालुगत खर्चले पुँजीगत खर्चलाई उछिन्नु, पुँजीगत बजेटभन्दा वित्त व्यवस्थापनमा बढी बजेट विनियोजन भएको अवस्थालाई अध्ययन गर्दा नेपालको अर्थतन्त्रमा छोटो अवधिमा सुधार ल्याउन सकिने अवस्था छैन ।
यस्तो कठिन अवस्थामा सेयर बजारमा सुधार आउन नसक्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । देशको अर्थतन्त्र अहिले मात्र कमजोर भएको होइन । ०७२ सालको महाभूकम्प, त्यही समयमा भारतले लगाएको नाकाबन्दी, कोभिड– १९ को संक्रमणले पनि नकारात्मक असर पारेकै हुन् । यिनै कारणहरूले गर्दा राष्ट्रिय अर्थतन्त्र नराम्रासँग खल्बलियो ।
अहिले फेरि रूस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा नै प्रभाव पारेको हुँदा त्यसको बाछिटा नेपाललाई पनि परेको छ । मूलतः इन्धनमा मूल्यवृद्धि हुन गएकाले नेपालजस्ता परनिर्भर मुलुकहरूको जीवनयापन कष्टकर बन्दै गएको छ । केही दिनयता इजरायल– प्यालेस्टाइनबीच भएको लडाइँले विश्व नै भयभीत भएको अवस्था छ । यसले पनि केही हदसम्म असर पारेकै हुन्छ ।
आर्थिक वर्ष ०८०/८१ को बजेटमा मूल्यवृद्धिको सीमा ६.५ प्रतिशत निर्धारण गरिए पनि अहिले नै करिब १० प्रतिशतको हाराहारीमा पुगेको अनुमान छ । अर्थतन्त्र कमजोर भएको अनुमान गरेरै होला, आर्थिक वृद्धि भने ६ प्रतिशतमात्र राखिएको छ । आर्थिक वृद्धिभन्दा मूल्यवृद्धि बढी देखिनु भनेको अर्थतन्त्रले गति लिन नसकेको संकेत हो । जसको परिणामस्वरूप सेयर बजारमा प्रत्यक्ष असर पर्न गएको छ र सेयर बजार खस्कँदै गएको अवस्था छ । यसरी सेयर बजार खस्कँदै जानुमा तलका प्रकरणमा केही उल्लेख गरिएको छ ।
–अर्थतन्त्रका बाह्य सूचकहरूमा केही सुधार देखिए पनि समग्रमा अधिकांश सूचक नकारात्मक नै देखिन्छन् । राष्ट्रिय अर्थतन्त्रमा नै शिथिलता आएको अवस्थामा सेयर बजार उकासिने अवस्था नै रहँदैन । अहिले यही भएको हो ।
–राष्ट्रिय राजनीति प्रभावकारी हुन सकेको अवस्थामा सरकारले जारी गर्ने नीतिहरू कार्यान्वयन गर्न सहज हुन्छन् । भिन्न–भिन्न सिद्धान्त, विचार बोकेका दलहरूको संयोजनबाट बनेको सरकारले जारी गरेका नीतिहरू कार्यान्वयन गर्न गाह्रो परेको हुन्छ भने अर्कातर्फ कार्यान्वयनमा आए पनि सफल भएका हुँदैनन् । नीतिहरू केवल नीतिका रूपमा मात्र देखिन्छन् । सरकारको ध्यान उपयुक्त नीति निर्माण गर्नुभन्दा पनि कसरी सत्तामा पुग्ने र टिकिरहने नै हुने भएकाले नेपालको सेयर बजार उपेक्षित हुँदै गएको अहिलेको अवस्था हो ।
–अन्तर्राष्ट्रिय जगत्मा नै सेयर बजार खस्कँदै गएको र त्यसको प्रभाव नेपालजस्ता मुलुकहरूमा पर्नुलाई स्वाभाविक रूपमा लिन सकिन्छ । किनभने हाम्रो अर्थतन्त्र आत्मनिर्भर हुन सकिरहेको छैन र अहिले पनि परनिर्भरको अवस्थामा नै गुज्रिरहेको छ । केही न केही मात्रामा नेपालको सेयर बजारमा असर परेकै छ । अमेरिकाका तीनवटा बैंक कोल्याप्स भएको समाचारले पनि नेपालको सेयर बजारलाई भावनात्मक प्रभाव पारेकै हो ।
–मूलतः कुनै पनि सरकारले सेयर बजारलाई सकारात्मक रूपमा हेरेको देखिएन । सुधार गर्नेतर्फ प्रयास नै भएन । सेयर बजारलाई जुवाको खालजस्तो ठानियो । उच्चपदस्थ राजनीतिक नेतृत्वले नै यस प्रकारको अभिव्यक्ति दिएपछि सेयर बजारप्रति सर्वसाधारणको धारणा नकारात्मक हुने भइ नै हाल्यो । विश्वासको संकट सिर्जना भएका कारण पनि सेयर बजार खस्कँदै गएको अवस्था हो ।
–नेपालमा वित्तीय शिक्षाको अभाव रहेको देखिन्छ । जसको कारणबाट सेयर बजार प्रभावकारी बन्न सकिरहेको छैन । वास्तवमा भन्ने हो भने सेयर बजार भनेको अरू उत्पादनमूलक क्षेत्रसरह नै हो । जसरी कुनै औद्योगिक उत्पादनले उत्पादनमा अतिरिक्त प्रतिफल दिएको हुन्छ त्यसरी नै सेयर बजारले दिएको हुन्छ । तर, यसलाई उत्पादनमुखी क्षेत्रका रूपमा स्वीकार नगरिएको हुनाले अहिलेको अवस्था आएको देखिन्छ ।
–सेयर बजार भनेको जोखिमको क्षेत्र हो भन्ने एक प्रकारको धारणा विकास भएको पाइन्छ । तर, त्यस्तो भने होइन । जोखिम त जुनसुकै लगानीमा भइ नै हाल्छ । जोखिम नै नमोली प्रतिफल प्राप्त गर्छु भन्ने कुरा मुर्खता मात्र हो । मुख्य कुरो भनेको जोखिमलाई कसरी न्यूनीकरण गर्ने र लगानीबाट कसरी अधिकतम प्रतिफल प्राप्त गर्ने विषय नै हुन् । त्यसकारण जोखिमको उपयुक्त व्यवस्थापन गरेर त्यसबाट फाइदा लिन सक्नु नै लगानीकर्ताको विवेकशीलता एवं कार्यकुशलता हो ।
–नेपालको पुँजीबजारको इतिहास त्यति लामो देखिँदैन । यसलाई आफ्नो व्यवसाय एवं वृत्ति बनाएर लागेको संख्या पनि त्यति ठूलो छैन । त्यसैले सेयर बजारमा देखिएका समस्या निराकरण गर्नका लागि सामूहिक आवाज पनि कमजोर भएको देखिन्छ । यसमा लागेका कतिपय लगानीकर्ता जता भीड देखियो उतै दगुर्ने प्रणालीको विकासले गर्दा पनि सेयर बजारमा सुधार आउन सकेको छैन । सेयर लगानीकर्ताले कम्पनीको संरचना, वित्तीय व्यवस्थापन एवं वित्तीय विवरण, लगानीको स्रोत, नाफाको सम्भावना, कम्पनीको आर्थिक अवस्था एवं क्षमताजस्ता क्षेत्रको बिनाअध्ययन लगानी गर्दा सेयर बजार खस्किएकै हो । यस्ता कुरामा ध्यान पु¥याएर लगानी गर्नुपर्छ ।
–सेयर बजारमा जोखिममात्र पनि हुँदैन । त्यसमा राम्रो फाइदा पनि हुन्छ । जोखिम र प्रतिफल सँगसँगै हुने हुँदा कुशल व्यवस्थापनको माध्यमबाट जोखिम न्यूनीकरण गर्दै प्रतिफल बढाउनेतर्फ व्यावसायिक गतिविधि केन्द्रित गर्नुपर्छ । यी कुरामा ध्यान पुग्न नसक्दा सेयर बजार भीडतन्त्र भएको अहिलेको अवस्था हो । आधारभूत विषयहरूको अध्ययन नै नगरी जथाभावी गतिविधि अघि बढाउँदा जोखिमयुक्त वातावरण सिर्जना हुनु कुनै नौलो कुरो होइन । बुझ्नुपर्ने कुरा के छ भने जोखिम नभएको क्षेत्र नै हुँदैन । केही न केही जोखिम भएकै हुन्छ । त्यसैले भन्ने गरिन्छ, नो रिस्क नो गेन । जोखिम नलिने हो भने फाइदा पनि लिन सकिँदैन । यो पनि व्यावसायिक संगठन नै हो भन्ने बुझ्नुपर्छ । सेयर बजारको व्यावसायिकता नबुझेकाले नै अहिलेको अवस्था सिर्जना भएको हो ।
–अर्को कुरा, तपाईं हामीले सेयर बजारबाट फाइदा लिन सकेनौं भने जोखिममात्र देखेका हुन्छौं र सेयर बजार खत्तम रहेछ भन्ने हल्ला पनि गरेका हुन्छौं । तर, आफ्नो अकर्मण्यता वा कमी–कमजोरीबाट आएको दुष्परिणामको लेखाजोखा गरेकै हुँदैनौं । यस प्रकारको वातावरणमा सेयर बजार खस्कँदै जाने नै हुन्छ ।