Logo

अर्थतन्त्रमा चाडपर्वको प्रभाव

सांकेतिक तस्बिर ।

नेपालको राष्ट्रिय पर्वको रूपमा रहेको दसैं केही दिनअघि सकिएको छ भने अर्को ठूलो पर्व तिहारको सुरुवात भएको छ । तिहारसँगै छठ पर्वसमेत आउन लागेको छ । दसैं, तिहार, छठलगायतका पर्वहरूले धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा निकै महत्व राख्ने गर्छन् । सँगसँगै, नेपालको सन्दर्भमा यी पर्वहरू अर्थतन्त्रलाई बहुआयामिक रूपमा चलायमान र गतिशील तुल्याउने मात्र नभई नकारात्मक रूपमा पनि उत्तिकै प्रभाव जमाउने प्रमुख चाडका रूपमा समेत देखिन थालेका छन् ।

आर्थिक दृष्टिकोणबाट हेर्दा दसैं, तिहार खुसीयालीको पर्व मात्र नभई सुस्ताएको बजारलाई चलायमान बनाउने पर्व पनि हुन् । दसैंतिहारको समयमा औपचारिक रूपमा नै ठूलो मात्राको रकम एकैपटक अर्थतन्त्रमा प्रवाह हुने गर्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत खर्च असोज र कात्तिक महिनामा हुने गरेको तथ्यांक छ । यी महिनामा दसैंतिहारलगायतका ठूला चाडहरू पर्ने गर्छन् । दसैंको समयमा सरकारी, निजी र अनौपचारिक क्षेत्रमा रोजगाररत सबैले दसैं खर्च एवं बोनस पाउने भएकाले यसबाट पनि अर्बौं रुपैयाँ अतिरिक्त आम्दानीका रूपमा बजारमा भित्रिने गर्छ ।

सरकारी कर्मचारीहरूका लागि मात्रै दसैंअघि चाडपर्व खर्चको भुक्तानीका रूपमा १५ अर्ब हाराहारी रकम खर्च हुने तथ्यांक छ । यसबाहेक निजी क्षेत्रबाट पनि योभन्दा निकै ठूलो हिस्सा कर्मचारीहरूको दसैं खर्चका रूपमा बजारमा पुग्ने गर्छ । देशको कुल जनसंख्याको एकतिहाइभन्दा बढी हिस्सा दसैंतिहारका समयमा मुलुकको एक भागबाट अर्को भागमा आवतजावत गर्ने भएकाले सिंगै मुलुक हरेक हिसाबले चलायमान भइरहेको हुन्छ । अर्कातर्फ, आवतजावतका क्रममा यातायातका क्षेत्रमा मात्रै ८ अर्बभन्दा बढीको कारोबार हुने यस क्षेत्रका व्यवसायीहरूको अनुमान छ ।

चाडपर्वको समयमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने विप्रेषणको रकम पनि ह्वात्तै बढ्ने गर्छ । विगत वर्षहरूको तथ्यांक हेर्दा औपचारिक माध्यमबाट वार्षिक रूपमा भित्रिने विप्रेषण रकमको ठूलो हिस्सा यही सिजनमा देशमा भित्रिने गरेको अवस्था छ । यसरी हेर्दा दसैंको आसपासमा अर्थतन्त्रमा ठूलो मात्रामा नगद चलायमान हुने र खर्चको मात्रा पनि उत्तिकै बढ्ने गरेको अवस्था छ । नेपालमा चाडपर्वहरू आन्तरिक उपभोग बढाउनका लागि उचित समयका रूपमा देखा पर्ने गर्छन् । दसैंतिहारको तीन सातामा नेपालीहरूले कुल उपभोगको झन्डै २५ प्रतिशत खर्च गर्ने अनौपचारिक तथ्यांक छ । यति धेरै उपभोग खर्च चाडपर्वमा नै हुनु भनेको अर्थतन्त्रमा विरलै हुने घटनाका रूपमा लिने गरिन्छ ।

दसैंतिहारको आरम्भसँगै धेरै चलायमान हुने अर्को मुख्य क्षेत्र व्यापार पनि हो । दसैंतिहारको समय मानिसहरूका लागि खरिददारीको मौसमका रूपमा रहेको हुन्छ । व्यापारिक स्थलहरूमा देखिने भीडभाड र कोलाहलले पनि यसको पुष्टि गरिरहेका हुन्छन् । दसैंतिहारको समयमा नयाँ लत्ताकपडा, गरगहना, खानपानका लागि आवश्यक उपभोग्य सामग्रीहरूदेखि लिएर सवारी साधन, भाँडाकुँडा, विद्युतीय सामानजस्ता अनेकन् वस्तुको किनमेलमा मानिसहरू जुट्ने गर्छन् । फलफूल, मरमसलादेखि लिएर थुप्रै घरायसी सामानहरूको कारोबार यी पर्वको समयमा चुलिने गर्छ । पछिल्ला वर्षहरूमा विशेष गरी सहरी क्षेत्रहरूमा दसैंतिहारलाई नयाँ सामान जोड्ने पर्वका रूपमा समेत मनाउन थालिएको पाइन्छ ।

व्यापारीहरूको भनाइमा नुनदेखि सुनसम्म वर्षभरिको मुख्य कारोबार हुने सिजन भएकाले वर्षभरिमा हुने व्यापारको ठूलो हिस्सा कारोबार दसैंतिहारको समयमा नै हुने गर्छ । यसबाट नेपालको व्यापारिक क्षेत्रमा ठूलो कारोबार हुने ‘पिक सिजन’का रूपमा दसैंतिहार रहेको छ । दसैंतिहारजस्ता चाडपर्वले अर्थतन्त्रलाई व्यापक रूपमा चलायमान गराउने र थुप्रै सकारात्मक प्रभाव छोड्ने भए पनि यसका नकारात्मक पाटाहरू पनि उत्तिकै रहेका छन् । दसैंतिहारको समयमा ठूलो मात्रामा खर्च हुने गरे पनि यसको अधिकांश हिस्सा उपभोगमा नै सकिने गर्छ । एक हिसाबले दसैंतिहार उपभोगको पर्वका रूपमा रहेका छन् ।

खर्चको ठूलो मात्रा उत्पादनमूलक क्षेत्रमा नभई उपभोगमा खर्चिने स्थिति अर्थतन्त्रका लागि हितकर हुन सक्दैन । अर्कातर्फ, पछिल्लो समयमा ‘राम्रो लगाउने र मिठो खाने पर्व’का लागि खरिद गरिने, लगाउने एवं खाने अधिकांश वस्तु आयातित हुन थालेका छन् । दसैंमा गरिने खर्च र यससम्बद्ध धेरै क्रियाकलापहरूले आयातलाई प्रश्रय दिइरहेको देखिन्छ । पछिल्ला वर्षहरूमा खानपानका सामग्रीहरू पनि विदेशी नै हुन थालेका छन् । कृषिप्रधान भनिएको मुलुकमा धान, चामललगायतका दैनिक खाद्यवस्तुहरूदेखि लिएर मासुजन्य वस्तुहरू, जिरा, धनियाँ र लसुन–प्याजसमेत भारत एवं चीनबाट आयात गरी उपभोग गर्नुपर्ने र चाडबाड मान्नुपर्ने स्थितिमा हामी पुगिसकेका छौं । विप्रेषण आयमार्फत यो सिजनमा देशमा भित्रिएको रकमको पनि अधिकांश हिस्सा उपभोगमा नै सकिने गर्छ । दसैंतिहारको समयमा ठूलो मात्रामा हुने उपभोग खर्चले हरेक कोणबाट आयातलाई बढावा दिइरहेको हुन्छ । यस किसिमको अवस्थाले दसैंतिहारजस्ता पर्वहरू देशमा चुलिएको व्यापारघाटालाई अझै उचाइमा पु¥याउने पर्वका रूपमा स्थापित भइरहेका छन् ।

चाडबाडको समयमा हरतरहले बजारमा मुद्राको आपूर्ति बढेसँगै अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार नै बजारमूल्य समेत बढ्ने गर्छ । दसैंको आसपासमा एकैपटक ठूलो मात्रामा नगद प्रवाह भएसँगै उपभोक्ताहरूको क्रयशक्ति बढ्ने र यसबाट बजारको कारण सँगसँगै फेरिएको उपभोग प्रवृत्तिले समेत मूल्यवृद्धिमाथि चाप पर्ने गर्छ । यसबाट गरिब एवं सीमान्तकृत नागरिकलाई चाडपर्व मान्ने ध्याउन्न र देखासिकीका कारण अझै गरिबीतर्फ धकेलेका अनेकौं दृष्टान्त छन् । ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ भन्ने प्रचलित नेपाली उखानले समेत यस खालको अवस्थाको उजागर गरिरहेको छ । मुद्राको ठूलो मात्रा बजारमा एकैपटक भित्रिने र मागमा व्यापक बढोत्तरी भई बजारमूल्य पनि ह्वात्तै बढ्ने अवस्था स्वस्थ अर्थतन्त्रको द्योतक होइन ।

दसैंतिहारजस्ता परम्परागत चाडहरू हाम्रो संस्कृति र सभ्यतासँग जोडिएका रमाइला एवं राष्ट्रिय रूपमा परिचायक पर्वहरू हुन् । यस्ता पर्व मनाइनु र संस्कृतिको जगेर्ना गरिनु निश्चय नै सकारात्मक कदम हो । तर, यस खालका पर्वहरू मनाइरहँदा यसभित्रका आर्थिक पक्षहरूलाई पनि मध्यनजर गरिन आवश्यक छ । संस्कृतिको जगेर्ना गर्दै दसैंतिहार मनाउने क्रममा गरिने ठूलो खर्चका कारण अर्थतन्त्रमा देखिएका र देखिन सक्ने यावत् नकारात्मक प्रभावहरूबाट मुलुकी अर्थतन्त्रलाई मुक्त राख्दै यसका सकारात्मक पाटाहरूलाई पक्षपोषण गर्न सके चाडपर्वलाई देशको आर्थिक हितमा समेत उपयोग गर्न सकिने अवस्था रहन्छ । धनधान्यकी देवी लक्ष्मीको समेत आराधना गरी मनाइने उज्यालो पर्व तिहारले अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव र धमिला परिदृश्यहरूलाई पराजित गर्दै आर्थिक समृद्धिको खुड्किलो चढ्ने पर्वका रूपमा स्थापित हुन सकोस्, सबैलाई तिहारको शुभकामना !

प्रतिक्रिया दिनुहोस्