Logo

दशैं, नयाँ नोट र हाम्रो दायित्व

नेपालको राष्ट्रिय पर्वको रुपमा रहेको दशैं नवरात्रको आरम्भसँगै शुरुवात भएको छ । नेपालीजनलाई हरेकबर्ष मनाईने दशैंको अत्याधिक महत्व त छँदैछ सँगसँगै, यस्ता चाडपर्वमा नयाँ नोटको पनि उत्तिकै महत्व रहने गर्दछ । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि दशैं नजिकिएसँगै देशभरका बैंक तथा वित्तिय संस्थाहरुमा नयाँ नोट साट्नका लागि मानिसहरुको लामो लाईन लागेको दृष्य देखिनथालेको छ । दशैं, तिहार जस्ता चाडबाडको समयमा आम नागरिकलाई नयाँ नोटको अत्याधिक मोह रहने भएपनि नोटको सुरक्षाको सवालमा गरिने हेलचेक्र्याईले भने दशैं कागजी नोट असुरक्षित बन्ने ठूलो जोखिम रहेको पर्वका रुपमा स्थापित हुनथालेको छ ।

दशैंमा टिका, जमरा र आर्शिवादसँगै आफन्तजनलाई दक्षिणाका रुपमा उपलब्ध भएसम्म नयाँ नोट दिने रहरले सबैलाई गाँजेको हुन्छ । यहीकारण, बैंकहरुमा लाईन लागेर नै भएपनि नयाँ नोट प्राप्त गर्ने प्रयत्नमा आम नागरिकहरु जुटिरहेका हुन्छन् । नेपाल राष्ट्र बैंकले हरेक बर्षको दशैंतिहारमा अरबौं रुपैंया बराबरका नयाँ नोटहरु बजारमा पठाउने गरेको छ । अघिल्लो बर्ष २५ अर्ब बराबरको नयाँ नोट सटही गरेको केन्द्रिय बैंकले यसबर्ष पाँच, दश, बिस, पचास र सय रुपैंया दरका ३० अर्ब रुपैंयाभन्दा बढीको नयाँ नोट बजारमा पठाएको छ । यसबाट केहीसमय लाईन बसेरै भएपनि ‘क’ वर्गका वाणिज्य बैंकका शाखाहरुबाट दशैंका लागि नयाँ नोट प्राप्त गर्नसक्ने अवस्था सिर्जना भएको छ । तर, यसरी प्राप्त गरिएको नयाँ नोटको प्रयोगमा गरिने हेलचेक्रयाईं र असावधानीले राष्ट्रिय खर्चमा अनावश्यक बृद्धि भई अर्थतन्त्रमा नकारात्मक प्रभाव समेत परिरहेको अवस्था बिद्यमान छ ।

नयाँ नोटको उत्पादनका लागि बर्षेनी राज्यको धेरै खर्च भईरहेको हुन्छ । १ र २ रुपैंया दरका नोटको उत्पादन लागत उक्त नोटको ‘फेस भ्यालु’ ले नधान्ने भएकोले नेपाल राष्ट्र बैंकले केहीबर्ष अघिदेखी नै छपाई गर्न छोडिसकेको छ । नेपाली नोटहरुको छपाई समेत बिदेशमा हुने गर्दछ । अहिले रु ५० दरको नोट फ्रान्समा र रु १०० को नोट वेलायतमा छापिन्छ भने बाँकी सबै दरका नोटहरु चीनमा छपाई हुँदै आएको छ । छपाईका लागि प्रकृया शुरु गरेर नोट छपाई भई नेपाल राष्ट्र बैंकसम्म आईपुग्न करिब १ बर्ष लाग्ने र छपाई खर्चका अतिरिक्त ठूलै आकारमा ढुवानीको महँगो लागत समेत बेहोर्नुपर्ने भएकोले पनि नेपाली नोटको सन्दर्भमा यिनीहरुको उत्पादन लागत निकै बढी छ । नोट झुत्रो र फोहर बन्नु भनेकै मुलुकले बेहोरिरहेको यो लागत बराबरको रकम सोझै नोक्सानीमा पर्नु हो । एकातिर यो अवस्था छ भने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कागजी नोटको आयु ४ बर्ष हुनेगरेकोमा नेपाली नोटको सरदर आयु भने १ बर्षमात्रै रहेको तथ्यांक छ । यसरी महँगो रुपमा उत्पादन भएका नोटको पर्याप्त सुरक्षा नभएकै कारण आयु छोटिन गई देशको अर्थतन्त्रलाई ठूलो घाटा पुगिरहेको छ ।

कागजी नोट झुत्रिने, च्यातिने, फोहर बन्ने र आयु छोटिने अवस्था निम्तिनुमा नोटको प्रयोगसम्बन्धी हाम्रो गलत अभ्यास एवं प्रचलन कारकका रुपमा रहेको छ । दशैंअघि सलक्क र सफा रुपमा नागरिकहरुको घर घरमा भित्रिएका नयाँ नोटहरु दशैंको टिका प्रारम्भ भएसँगै रंगीचंगी एवं राताम्मे रुप लिएर बजारमा देखिने गर्दछन् । दशैंतिहार जस्ता चाडबाडमा नोटलाई सम्पति मानेर रंग, अबिर आदिले पुजा गर्ने, नोटमा पानी पर्नबाट नजोगाउने, टिकाटालो गर्दा पनि नोटलाई रंगीन अक्षता, अबिर, केशरी आदिले बिरुप बनाएर लेनदेन गर्ने आम प्रचलन रहेको छ । दशैंको समयमा नोटमा जमरा र फूलटिका राखेर दक्षिणा दिने प्रचलनले पनि नोटलाई असुरक्षित बनाईरहेको छ । यस्ता चाडपर्व र अन्य धार्मिक, सामाजिक कार्यहरुमा नयाँ नोट नै चाहिने परम्परागत मानसिकतालाई त्याग्न नसक्दा पनि नोटको असुरक्षा बढिरहेको छ ।

नोटलाई कसरी बोक्ने र लेनदेन गर्ने भन्ने कुरामा पनि उचित ध्यान पुग्नसकेको छैन । राष्ट्रिय नोटप्रतिको हाम्रो मानसिकता यतिसम्म गिरेको छ की देशभित्रै पनि डलर लगायतका अन्य बिदेशी नोटहरुलाई बडो जतनसाथ राख्ने र लेनदेन गर्ने गरिन्छ भने नेपाली नोटलाई बेपर्वाह तरिकाले कच्याककुचुक पारेर हातमा बोक्ने, खल्ती वा व्यागमा कोच्ने, थैलीमा खाँध्ने, धेरै तह बनाएर फोल्ड गर्ने, नोटमा केरमेट गर्ने समेत गरिन्छ । बिशेषगरि अन्य सामानहरुको सुरक्षामा अत्यन्त ख्यालगर्ने महिलाहरुले नोटको हेरचाहमा भने व्यापक हेलचेक्र्याई गरिरहेको देख्न पाईन्छ । नोटलाई शरीरका गोप्य अंगमा खाँधेर राख्ने, पर्समै राख्दा पनि धेरै फोल्ड गरेर कोचेर राख्ने र कच्याककुचुक बनाएर हातमा बोक्ने काम बढीमात्रामा महिलाहरुले गरिरहेको दृष्य हाम्रालागि सामान्य बन्ने गर्दछ । अर्कोतर्फ, स्कूल कलेजमा अध्ययन गरिरहेका अहिलेका युवापुस्ताहरुमा समेत नोटलाई कच्याककुचुक बनाएर खल्तीमा या ब्यागको साईडमा कोच्ने लहर चलेको देखिन्छ । युवायुवतीहरुले प्रेमिल शायरी कोर्नेदेखी दुव्र्यसनीहरुले अखाद्य बस्तुहरु प्याक गर्नेसम्मको काममा नोटको दुरुपयोग भईरहेको छ ।

दशैंतिहार लगायतका चाडबाड एवं अन्य समयमा समेत नोटहरुलाई सुरक्षित तवरले राख्ने र लेनदेन गर्नेतर्फ गम्भीर बन्नैपर्छ । चाडबाडका अवसरमा गरिने टिकाटालोको क्रममा नोटलाई खामभित्र वा कागजमा प्याक गरेर दक्षिणा दिने प्रचलनले नोटको सुरक्षामा बल पुर्याउने गर्दछ । यसो गर्न नसकिएमा पनि नोटलाई नभिजाउने, टिका, जमरा आदिलाई नोटमाथी नराख्ने र सकेसम्म जतनसाथ दक्षिणा लेनदेन गर्ने हो भने धेरै हदसम्म दशैंतिहारकै समयमा पनि नोटलाई सुरक्षित तुल्याउन सकिन्छ । यसबाहेक अन्य समयमा पनि नोटलाई कच्याककुचुक बनाएर बोक्ने, पर्समा कोच्ने, शरीरका अंगहरुमा खाँध्ने, केरमेट गर्ने जस्ता हाम्रा बानीमा सुधार ल्याउन आवश्यक छ । नोटलाई सकभर वालेट वा पर्समा नपट्याईकन राख्ने, कुनै प्रकारको रंग नलगाउने, नोटमा जथाभावी नलेख्ने, नोटलाई च्यात्ने, स्टिच गर्ने, टाँस गर्ने जस्ता नोटको क्षति हुने तथा आयु घट्ने किसिमका कार्यहरु नगर्नतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।

राष्ट्रिय सम्पति भएकोले नोटको सुरक्षा गर्नु यसको कारोवारमा संलग्न हरेक व्यक्ति, संस्था लगायत सबैको दायित्व हो । यसका साथै, नोटको सुरक्षाका बिषयमा आम नागरिकहरुसम्म पुग्नेगरि व्यापकरुपमा चेतनामूलक कार्यक्रमहरु संचालन गर्नपनि उत्तिकै आवश्यक छ । नोटको बढ्दो असुरक्षित उपभोगलाई निरुत्साहित गर्न बैंक नोटहरु सरह बिनिमय गर्न सकिनेगरि प्रचलनमा ल्याईएका बिभिन्न किसिमका कार्डहरुको प्रयोग र पहुँचलाई बृद्धि गरिन आवश्यक छ । आम नागरिकहरुको सचेतता र नोटको कारोवारमा संलग्न संस्थाहरुको प्रतिबद्धता जुट्नसकेमा कागजी नोटको सुरक्षामा बढोत्तरी भई अर्थतन्त्रमा परिरहेको मार कम हुने र देशको प्रतिष्ठासमेत उँचो रहने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्