खाद्य उद्योग अनुगमन
अन्यत्रबाट चामल ल्याई आफ्नो लेबल लगाएर बिक्री

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले खाद्य उद्योगको अनुगमन गरेका छन् । उनले धनगढी अत्तरिया सडकमा पर्ने चार वटा खाद्य उद्योगको अनुगमन गरेका हुन् । विश्व खाद्य दिवसको अवसर पारेर मन्त्री धामीले अनुगमन गरेकामध्ये एक उद्योगले भारत र मधेश प्रदेशबाट चामल आयात गरी आफ्नो बोरामा भरी अर्को लेबल लगाएर बिक्री गर्ने गरेको भेटिएको छ ।
ठाकुर एग्रो इण्डष्ट्रिजले अन्य उद्योगले उत्पादन गरेको चामल आयात गरी आफ्नो लेबल लगाएर बेच्ने गरेको भेटिएको हो । सो उद्योगले चामल भण्डारणसमेत मापदण्डविपरीत गरेको भेटिएको प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक खेम चौधरीले बताए । उनले उद्योगले पुरानो छाप नदेखिने गरी नयाँ छाप लगाएको र अन्य कम्पनीले उत्पादन गरेका चामल पनि भेटिएको बताए । ठाकुर एग्रो इण्डष्ट्रिज प्रालिमा दोहोरो लेबल भएको चामलको बोरा फेला परेको छ ।
सो उद्योगले कोभिड–१९ को महामारीको बेला धनगढी उपमहानगरपालिकाले खरिद गरी धनगढीका नागरिकलाई राहत वितरण गरेको चामलसमेत कुहिएको फेला परेको थियो । सो उद्योगले अन्यत्रबाट आयात गरी बेच्न पाउने गरी अनुमति लिएरको दाबी गरेपछि शुक्रबार सम्पूर्ण कागजातसहित मन्त्रालयमा उपस्थित हुन मन्त्री धामीले निर्देशन गरेका छन् । मन्त्री धामीले मूल्यवृद्धि नियन्त्रण गर्न, चाडपर्वको बेला खाद्यमा मिसावट रोक्न उद्योगमै अनुगमन गरिएको बताए ।
अनुगमन टोलीमा मन्त्री धामीसहित मत्रालयका कर्मचारी, प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र प्रहरीको समेत सहभागिता थियो । टोलीले राजश्री फुड इण्डष्ट्रिज प्रालि, सुदूर फुड इण्डष्ट्रिज प्रालि, गोदावरी फ्लोर मिल पनि अनुगमन गरेको थियो । अनुगमन गरिएका खाद्य उद्योगबाट परीक्षणका लागि नमुनासमेत संकलन गरिएको छ ।