Logo

मंसिर १४ देखि अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले आगामी २०८० मंसिर १४ देखि १८ सम्म प्रत्येक वर्ष आयोजना गरिँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ ।

सोमबार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि ५० प्रतिशत स्टल बुकिङ भइसकेको र यो वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट सहभागिता रहनेछ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा वस्तुगत संघहरूको कमोडिटी पेभिलियन रहनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह–आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ नवौं संस्करण हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिएको छ ।

कुल ३ सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इन्डोनेसिया, मलेसियालगायतका देशका क्रेतालाई आमन्त्रण गरिनेछ । मेलामा इन्डिया चेम्बर अफ कमर्स र नेपाल हब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेदसम्बन्धी वस्तुहरूको प्रदर्शनी एवं प्रवचन कार्यक्रमसमेत हुने छ । मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादन, कमोडिटी पेभिलियन रहनेछन् ।

मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तक्र्रिया गराउने लक्ष्य रहेको महासंघले जनाएको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका स्टलहरू राखिने छन् । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल हुने र यो वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास प्रकट गरे । मेलामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रदर्शकको जमघटबाट लगानी तथा प्रविधि आकर्षण र उत्पादन विविधिकरणमा समेत सघाउ पुग्नेमा ढकालले जोड दिए । उपाध्यक्ष सुरकृष्ण वैदले छुट्टै ब्रान्ड बनाउन सफल एनआईटीएफ निजी क्षेत्रका लागि एउटा बलियो प्ल्याटफर्म भएको बताए । उपाध्यक्ष हेमराज ढकालले मेलामा वस्तुगत संघको छुट्टै पेभिलियनले मेलालाई थप आकर्षक बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्