Logo

लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

बुटवल– लुम्बिनी केबलकार लिमिटेडले चाडपर्वलाई लक्षित गरी पर्यटकलाई छुट प्रदान गर्ने भएको छ । दसैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी केबलकारले असोज २१ गतेदेखि लागू हुने गरी चाडपर्व अफर ल्याएको हो । बुटवलबाट पाल्पाको वसन्तपुर जोड्ने गरी २.६ किलोमिटरको केबलकार सञ्चालनमा छ ।

चाडपर्वको अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनमा ४० प्रतिशत छुट हुने भएको छ । अब शनिबारबाहेक अन्य दिनको टिकट दर ४५० रुपैयाँमात्र कायम भएको छ । नेपालीहरूको महान चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।

टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेसनमा रहेको रेस्टुराँका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने उनले बताए । चाडपर्वमा परिवारसहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर ल्याइएको केबलकारले जनाएको छ । यसअघिको मर्निङ अफर जस्तै सफल हुने लुम्बिनी केबलकारको विश्वास लिएको छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको कुल पाँच अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेसन रहेको केबलकार २.६ किलोमिटर दूरीको छ । टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर रहेको छ ।

वसन्तपुरमा पछिल्लो समय ४० लाख लागतमा जीप लाइन सञ्चालनमा समेत आएको छ । कम्पनीले छिट्टै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउंँदै छ । वसन्तपुरमै दुई वर्षभित्र साढे तीन अर्ब लागतमा १५० कोठा, क्यासिनोसहित पाँच तारे होटेल बनाउने तयारी लुम्बिनी केबलकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्