आइएमएफ ६ अर्ब ७७ करोड कर्जा दिन सहमत

काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाललाई प्रदान गर्ने कुल ४९ अर्ब रूपैयाँ विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गतको तेस्रो किस्ता दिन सहमत भएको छ । तेस्रो किस्ताअन्तर्गत आइएमइफले ५ करोड १३ लाख डलर (६ अर्ब ७७ करोड रूपैयाँ) रकम सहयोग दिने सहमति जनाएको हो ।
यही सेप्टेम्बर २१ देखि अक्टोबर ५ सम्म नेपाल भ्रमणमा रहेको आइएमएफ टोली र नेपाली अधिकारीहरूबीच यसमा सम्झौता भएको छ । नेपालका लागि मिसन चिफको नेतृत्वमा आइएमफ टोली नेपाललाई दिइएको विस्तारित कर्जा सुविधाअन्तर्गत भइरहेका सुधार कार्यक्रमहरूको कार्यान्वयन अनुगमन गर्न आएको हो । आइएमएफको कार्यकारी समितिले पारित गरेपछि मात्रै यो सहयोग नेपालले प्राप्त गर्नेछ ।
यो सहयोगसँगै नेपालले कुल ४९ अर्ब रूपैयाँमध्ये २७ अर्ब ११ करोड रूपैयाँ (२० करोड ५४ लाख डलर) सहयोग प्राप्त गरेको हुनेछ । नेपालको वित्तीय क्षेत्र सुधार र बजेटरी प्रणाली सुधारका लागि यस्तो सुविधा प्रदान गर्न लागिएको हो । आइएमएफको यही विस्तारित कर्जा सुविधाअन्तर्गत राष्ट्र बैंकले आगामी वर्ष अन्तर्राष्ट्रिय परीक्षकमार्फत नेपालका १० ठूला बैंकहरूको सम्पत्तिको गुणस्तर मूल्यांकन गराउने तालिका छ ।
यो सहयोगअन्तर्गत वित्तीय क्षेत्रको नियमन तथा सुपरीवेक्षण बलियो बनाउने र वित्तीय स्थायित्व कायम गर्ने, बैंकहरूको सम्पत्तिको गुणस्तरमा कोभिड–१९ को प्रभाव निगरानी गर्ने, सम्भावना भएका तर अल्पकालमा पुँजी अभावमा रहेका व्यवसायिक संस्थाहरूमा गएको कर्जाको पुनर्संरचना गर्ने कार्यक्रम छ ।
त्यस्तै आइएमएफले रेमिटेन्समा भइरहेको उच्च वृद्धि, पर्यटन क्षेत्रमा आएको सुधार, प्रभावकारी आर्थिक र मौद्रिक नीतिको कारण बाह्य क्षेत्रमा सुधार भएको उल्लेख गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।