फेरि आयो पाँच सय केयरगिभरको माग

काठमाडौं– नेपालीका लागि लोकप्रिय बन्दै आएको गन्तव्य मुलुक इजरायलले पाँच सय केयरगिभर पठाउन सरकारलाई अनुरोध गरेको छ । यो यसअघि गएका ११ सयबाहेकको माग हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार इजरायलले दोस्रो चरणमा थप पाँच सय कामदार पठाउन अनुरोध गर्दै पत्र पठाएको हो । ‘इजरायलबाट माग आएपछि जाने कामदारको छनोट गर्ने तयारी भइरहेको छ,’ प्रवक्ता घिमिरेले कारोबारसँग भने, ‘छनोट प्रक्रिया यसअघिको जस्तै हुनेछ । त्यसका लागि तयारी पूरा गरेर आवेदन माग गर्नेछौं ।’ आवेदन माग कहिले गर्ने भन्नेबारे उनले खुलाएनन् ।
पछिल्लो समय इजरायलमा सरकारी तवरबाट जाने कामदारको अभाव भएपछि नेपालबाट थप केयरगिभर लैजाने भएको हो । इजरायलको केयरगिभर क्षेत्र (बेताबोद) मा कार्यरत नेपालीका अनुसार कतिपय केयर सेन्टरमा जिटुजीमार्फत माग गरिँदै आएका केयरगिभर अभाव देखिएको छ । हाल दोस्रो चरणमा ५ सय र तेस्रो चरणमा थप ५ सय गरी एक हजार नेपाली केयरगिभरले इजरायलमा रोजगारीको अवसर पाउने छन् ।
इजरायलस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले तत्कालका लागि ५०० माग गरिएको र थप ५०० लागि छलफल भइरहेको जानकारी दिए । यसअघि नै पपुलेसन एण्ड इमिग्रेसन अथोरिटी (पिवा) सँगको छलफलमा नेपालबाट एक हजार केयरगिभर लैजानेबारे अनौपचारिक छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । तेस्रो चरणमा माग गर्ने भनिएको कोटा संख्या भने थप छलफल गरेपछि मात्र तय हुने बताइएको छ ।
घरायसी केयरगिभरको तुलनामा जिटुजीमार्फत जाने केयरगिभर सस्ता भएका कारण त्यहाँका केयरगिभर सेन्टरले पछिल्लो समय सरकारी माध्यममार्फत नै नेपाली युवा माग गर्दै आएका छन् । डेढ वर्ष अघिदेखि इजरायल गएर काम गर्ने नेपाली केयरगिभर करिब ११ सय छन् । इजरायलस्थित नेपाली दूतावासले असोज ९ गते नै नेपालीलाई दिने केयरगिभर कोटाका सम्बन्धमा छलफल गरेको थियो । त्यो छलफलबाट तत्कालका लागि ५ सय कोटाका बारेमा निर्णय भएर इजरायलले नेपाली पक्षलाई पत्रसमेत पठाइसकेको छ ।
नेपाली केयरगिभरको विषयलाई लिएर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले नेपाली पक्षसँग लगातार छलफल गर्दै आएका छन् । राजदूत गोडेरले नेपाली कामदार वफादार भएकोले इजरायली रोजगारदाता खुसी रहेको बताउँदै आएका छन् । आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल जाने श्रमिक बढ्ने भएपछि त्यहाँबाट आउने रेमिटेन्ससमेत वृद्धि हुने देखिएको छ । गत आर्थिक वर्षमा मात्र नेपालबाट रोजगारीका लागि इजरायल जाने श्रमिकको संख्या उल्लेख्य वृद्धि भएसँगै रेमिटेन्स पनि बढेको छ ।
इजरायलबाट न्यून मात्रामा हुण्डीमार्फत पैसा नेपाल आउने गरेका कारण पनि इजरायल रेमिटेन्सका हिसाबले राम्रो श्रम गन्तव्य हो । इजरायलले थप नेपालीलाई रोजगारीको अवसर दिने प्रतिबद्धता जनाएपछि नेपाल सरकारले थप नेपाली पठाउनेबारे गृहकार्य सुरु गरिसकेको श्रम मन्त्रालयले जनाएको छ । इजरायल सरकारले वार्षिक रुपमा नेपाली श्रमिकको माग संख्या वृद्धि गर्दै लगेर नयाँ केयर सेन्टरमा रोजगारी दिने जनाएको छ । पहिलो चरणमा रोजगार सम्झौता बाँकी भएका सबै नेपाली युवा इजरायल प्रवेश गरिसकेका छन् ।
इजरायल रोजगारीमा सन् २००९ सम्म मेनपावर कम्पनीबाट श्रमिक जाने गरेको भए पनि कम्पनीले श्रमिकबाट चर्को सेवा शुल्क असुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । दुई वर्षअघि जिटुजीमार्फत नै केयरगिभर लैजाने गरी श्रम सम्झौता गरिएको छ । नेपाल र इजरायलबीच २०७७ असोज १४ गते इजरायलको श्रमबजारमा नेपाली कामदारको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि २०७७ माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको थियो ।