Logo

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित २ सय २० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा १ सय एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २ सय एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको हो ।

थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिवृद्धि भई ३ सय एमभिए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती प्रसारणलाइन आयोजनाअन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको हो ।

१ सय ३२ केभी प्रसारणलाइनबाट आएको विद्युतलाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २ सय २० केभीमा बढाएर खिम्ती–ढल्केबर २ सय २० केभी प्रसारणलाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिनेछ । १ सय ३२ केभी प्रसारणलाइनबाट आएको विद्युत प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो ।

तामाकोसी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत १ सय ३२ केभी प्रसारणलाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था थियो । यसले गर्दा मुख्य रूपमा लिखु नदीमा निर्माण भएका केही जलविद्युत आयोजनाको विद्युत पूर्ण रूपमा प्रवाह हुन सकिरहेको थिएन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत आयोजनाले बेहोरिरहेको विद्युत प्रवाहको समस्या समाधान भएको बताए । नयाँ खिम्ती सबस्टेसनको क्षमताले नधानेपछि लिखु करिडोरमा निर्माण भएका केही जलविद्युत आयोजनाको विद्युत अल्पकालीन योजनाअन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो ।

‘नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै सबै समस्या समाधान भएका छन्, पूर्वाधार अभावमा विद्युत प्रवाह हुन नसक्ने अवस्थाको अन्त्य भएको छ, नयाँ आयोजनाहरू आउँदा पनि समस्या पर्दैन, अब भारतर्फ विद्युत निर्यातको परिमाणसमेत बढ्नेछ,’ घिसिङले भने ।

तामाकोसी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई नयाँ खिम्ती सबस्टेसनमा नयाँ पूर्वाधार बनाएर स्थानीय रुपमा आपूर्तिको व्यवस्था गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए । गौतमले सबस्टेसनबाट विद्युत दिन थालेपछि उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय आपूर्ति पाएको पनि जनाए ।

स्थानीय रूपमा आपूर्ति गरी बाँकी रहेको विद्युतलाई २ सय २० केभी प्रसारणलाइनमार्फत धनुषाको ढल्केबरतर्फ र १ सय ३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघु सबस्टेसनतर्फ प्रवाह गरिएको छ । २ सय २० केभीको नयाँ खिम्ती सबस्टेसन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको थियो ।

उक्त आयोजनाले १ सय एमभिएको मात्र पावर ट्रान्सफर्मर राखेको थियो । स्थानीय रूपमा विद्युत आपूर्तिका लागि निर्माण गरिएको १३२/३३/११ केभीको सबस्टेसन गत असारबाट सञ्चालनमा छन् । नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो । सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्