Logo

अनुदानको मल बढी मूल्यमा बिक्री

बिर्तामोड– झापाको मेचीनगरस्थित एक सहकारी संस्थाले सरकारबाट अनुदानित रासायनिक मल तोकेको भन्दा बढी रकम लिएर बिक्री गरेको पाइएको छ । झापाको मेचीनगर–७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाले नेपाल सरकारबाट अनुदानित रासायनिक मल बढी मूल्य लिएर बिक्री गरेको पाइएको हो ।

सरकारबाट अनुदानित रासायनिक मल युरिया प्रतिबोरा औसत मूल्य ७ सय ५० रुपैयाँका दरले बिक्री गर्न भनिएकोमा मेचीनगर–७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाले उक्त मल प्रतिबोरा १ हजार ५० रुपैयाँमा कृषकलाई बिक्री गरेको फेला परेको हो । मेचीनगर–११ का प्रदीप तामाङले मेची कृषक सहकारी संस्थाबाट युरिया मल खरिद गर्दा १ हजार ५० रुपैयाँ तिरेको गुनासो गरेसँगै उक्त तथ्य सार्वजनिक भएको हो ।

मेची कृषक बहुमुखी सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्लेले सहकारीको ढुवानी, लोड, अनलोड, प्रशासनिक सबै खर्च सहकारीले नै बेहोर्नुपर्ने भएकाले ती सबै जोडेर मल बिक्री गरिएको बताए । मेची कृषक बहुमुखी सहकारी संस्थाले ८ सय ८ रुपैयाँ ८५ पैसा प्रतिबोराका दरले १ सय २० बोरा मल खरिद गरेको बताउँदै उनले खुद्रा रूपमा मल बेच्दा बोरामा दुई–चार किलो घट्ने भएकाले सहकारीले १ हजार ५० रुपैयाँमा मल बिक्री गरेको जानकारी दिए ।

सरकारबाट अनुदानित रासायनिक मल नेपाल सरकारले तोकेको भन्दा बढी रकम लिएर बिक्री गर्न नपाइने मेचीनगर नगरपालिका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले बताए । मेची कृषक बहुमुखी सहकारी संस्थाले सरकारले तोकेको भन्दा बढी रकम लिएर बेच्न नपाउने बताउँदै उनले ढुवानी खर्चबापत प्रतिकिलो २ रुपैयाँ बढी मूल्य लिन पाउने भनिए पनि मेची कृषक बहुमुखी सहकारी संस्थाले लिएको रकम बढी भएको जानकारी दिए ।

उनले नेपाल सरकारबाट अनुदानित रासायनिक मल नेपाल सरकारले तोकेको भन्दा बढी रासायनिक मल बिक्री गर्दा किलोमा २ रुपैयाँ धेरै लिन पाइने, एक बोरामा ५० किलो हुने भएकाले ढुवानीलगायतका खर्च बापत एक बोराबराबर १ सय रुपैयाँ धेरै लिन पाइने भए पनि मेची कृषक बहुमुखी सहकारी संस्थाले ढुवानी, लोड, अनलोड, प्रशासनिक सबै खर्च सहकारीले नै बेहोर्नुपर्ने बहानामा बढी मूल्य लिएर रासायनिक मल बिक्री गरेको बताए ।

मेचीनगर–११ का प्रदीप तामाङले मेची कृषक सहकारी संस्थाबाट एक बोरा मल खरिद गरी घर लगेर हेर्दा बोरामा बिक्री मूल्य ७ सय ५० देखेपछि सहकारीले बढी मूल्य लिएर आफूहरूमाथि अन्याय गरेको बताए । मेची कृषक सहकारी संस्थाबाट मल बिक्री गर्दा ग्राहकलाई दिने बिलमा समेत अर्कै मिति लेखिएको पाइएको छ ।

भदौ ३१ गते बेचिएको मलको बिलमा असोज १ गतेको मिति लेखिएको भेटिएपछि मल खरिद गर्ने ग्राहकले आफू आश्चर्यमा परेको बताए । मेचीनगर नगरपालिका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले सरकारबाट अनुदानित रासायनिक मल सरकारले तोकेको भन्दा बढीमा बिक्री गर्ने सहकारी संस्थालाई कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्