विदेश जाने ३५ हजार घटे

काठमाडौं– गत आर्थिक वर्षको साउन र भदौको तुलनामा चालु आवमा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने नेपाली युवाको संख्या ३५ हजारले घटेको छ । गत आवको पहिलो दुई महिना (साउन–भदौ) मा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको संख्या एक लाख ४० हजार थियो । चालु आवमा यो संख्या एक लाख ५ हजारमा झरेको छ । प्रतिशतका आधारमा हेर्दा यो गत वर्षको तुलनामा करिब २५ प्रतिशत कम हो ।
पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण श्रम गन्तव्य देशका रोजगारी क्षेत्रमा संकुचन आएपछि त्यता जानेको संख्या घटेको हो । वैदेशिक रोजगारीको इतिहासमा गत आर्थिक वर्षको भदौ महिनामा सबैभन्दा बढी ७६ हजार ४०३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रमस्वीकृति लिएका थिए । यो संख्या वैदेशिक रोजगारको तथ्यांक राख्न सुरु गरेयता २९ वर्षकै उच्च रहेको थियो । तर, चालु आवमा भने ५० हजारमा सीमित भएको छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका सूचना प्रविधि इन्जिनियर प्रतीक कडरियाले यो वर्षको असारको तुलनामा साउनमा विदेश जान श्रमस्वीकृति लिनेको संख्या अझ घटेको बताए ।
वैदेशिक रोजगार विभागले मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेसँगै यो वर्षको सुरुमा वैदेशिक रोजगारीमा जानेको संख्यामा धक्का लागेको जनाएको छ । गत वर्ष साउदी अरब गएका श्रमिक पनि मलेसिया जाने क्रम बढेका कारण समग्र वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको भए पनि हाल मलेसियाले विदेशी श्रमिक कोटा बन्द गरेको असर नेपालमा पनि परेको छ । गत वर्ष साउदी अरबमा रहेका श्रमिक पनि विभिन्न कारण देखाउँदै नेपाल फर्किएर पुनः मलेसिया जाने प्रवृत्ति देखिएका कारण संख्या वृद्धि भएको थियो ।
आर्थिक वर्ष २०७८–७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको दोस्रो महिनाबाट घट्न थालेको छ । गत आवको साउन महिनामा वैदेशिक रोजगारीमा जान ६३ हजार श्रमिकले श्रमस्वीकृति लिएकोमा चालु आवमा यो संख्या ५५ हजार रहेको छ । यसरी नै गत वर्षको भदौमा ७६ हजार ४०३ ले श्रमस्वीकृति लिएकोमा चालु आवको भदौमा ५० हजारमा सीमित भएको छ । कोरोनाकालको लकडाउनयता आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत दुई वर्षयता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम गरेको थियो ।

यो वर्ष वैदेशिक रोजगारीमा जाने संख्या घट्ने संकेत
वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा गत आर्थिक वर्षमा सबैभन्दा बढी युवा रोजगारी रोज्दै विदेश गएका थिए । तर, गत वर्षको सुरुको संख्यालाई तुलना गर्दा चालु आवमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्ने संकेत देखिएको छ । सरकारले श्रमस्वीकृति लिएर विदेश जान अनुमति दिएको तथ्यांक राख्न थालेको ३० वर्षमध्ये गत आवमा सबैभन्दा बढी श्रमिकले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए ।
वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्यांक राख्न सुरु गरेको थियो । गत आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका थिए । आव २०७८–७९ मा श्रमस्वीकृती लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० थियो ।