इजरायलमा नेपालीलाई थप अवसर
१३ सय बढी केयरगिभर लैजान छलफल

काठमाडौं– इजरायलले नेपालबाट थप १ हजार ३ सयभन्दा बढी केयरगिभरमा कामदार लैजाने आश्वासन दिएपछि यसका लागि इजरायलस्थित नेपाली दूतावासले छलफल अघि बढाउने भएको छ ।
इजरायलका विभिन्न केयरगिभर (वेताबोद) मा विदेशी श्रमिक अभाव हुन थालेपछि उक्त क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारीसहित छलफलअघि बढाउने भएको हो । यसबाहेक विगत डेढ वर्ष अघिदेखि इजरायल गएर काम गर्ने नेपाली केयरगिभर १ हजार १ सयभन्दा बढी छन् । इजरायलस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले असोज ९ गते नेपालीलाई दिने केयरगिभर कोटाका सम्बन्धमा छलफल हुने जानकारी दिए ।
यसैगरी गत हप्ता गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसिसी) इजरायलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले १ हजारभन्दा बढी केयरगिभर लैजाने सम्बन्धमा इजरायली पक्षसँग छलफल भइरहेको बताए । हाल इजरायलमा जिटुजीमार्फत इजरायलमा १ हजार १ सय भन्दा बढी कार्यरत रहेका बेला थप केयरभिगर लैजाने तयारी गरेको हो ।
यसअघि इजरायलले थप ५ सय नेपाली मात्र लैजाने जनाउँदै आएकोमा थप कोटा दिने भएपछि यस सम्बन्धमा छलफल गर्न मितिसमेत तय भएको हो । इजरायल सरकारले नेपालबाट १ हजार ३ सय नयाँ कामदारका लागि छिट्टै सम्झौतामा हस्ताक्षर गर्ने आवश्वासन दिएपछि दूतावासले यसको तयारी गरिरहेको जनाएको छ । नयाँ दिने कोटाको सर्तका बारेमा भने आगामी २६ सेप्टेम्बरमा हुने छलफलपछि जानकारी हुने दूतावासले जनाएको छ ।
राजदूत रिजालले जिटुजी प्रक्रियाबाट आएका नेपालीहरूले झेलिरहेको भिसा नवीकरणको समस्या र नयाँ केयरगिभरको सम्बन्धमा पिवासँग समन्वय गरिरहेको बताउँदै नेपाली केयरगिभर कार्यक्षमताले इजरायलमा नेपाली केयरगिभरको छाप राम्रो हुँदै गइरहेको बताए । छलफल कार्यक्रम नेपालका लागि इजरायली राजदूत हनान गोडेरले नेपाली कामदारको कामप्रति भएकाले इजरायली रोजगारदाता खुसी रहेको बताए । आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल जाने श्रमिक बढ्ने भएपछि त्यहाँबाट आउने रेमिटेन्ससमेत वृद्धि हुने देखिएको छ ।
गत आर्थिक वर्षमा मात्र नेपालबाट रोजगारीका लागि इजरायल जाने श्रमिकको संख्या उल्लेख वृद्धि भएसँगै रेमिटेन्स थप बढ्ने देखिएको हो । यसैगरी केही समयपछि इजरायलले थप नेपालीलाई रोजगारीको अवसर दिने प्रतिबद्धता जनाएपछि नेपाल सरकारले थप नेपाली पठाउनेबारे गृहकार्यसमेत सुरु गरेको छ । इजरायल सरकारले वार्षिक रूपमा नेपाली श्रमिकको माग संख्या वृद्धि गर्दै लगेर नयाँ केयर सेन्टरमा रोजगारी दिने जनाएको छ ।
हाल रोजगार सम्झौता केही ढिलो भएका नेपालीलाई पठाउने सम्बन्धमा विभागले काम गरिरहेको छ । केही दिनभित्र बाँकी रहेका नेपालीलाई समेत पठाउने गरी छिटोछरितो प्रक्रिया अघि बढेको दूतावासले जनाएको छ । इजरायलले यहाँबाट गएका नेपालीलाई इजरायलका विभिन्न वृद्धाश्रम (वेताबोद) र अस्पतालमा काम गर्ने गरी नेपालीलाई रोजगारी दिइसकेको छ । इजरायलले पछिल्लो समय केयरगिभरबाहेक कृषिक्षेत्रका लागि १ हजार नेपाली लैजाने आश्वासन दिएको छ ।