Logo

१८ अर्ब लागतमा दुई प्रसारणलाइन र चार सबस्टेसन निर्माण

काठमाडौं- दुई प्रसारणलाइन र चारवटा सबस्टेसन निर्माण गर्न १८ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । नयाँ खिम्ती–काठमाडौं ४ सय केभी तथा लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारणलाइन र चारवटा सबस्टेसनको निर्माण कार्य सम्पन्न गर्न अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ लाग्ने भएको हो ।

आयोजना निर्माणका लागि एडिबीसँग १० चैत २०६८ मा पहिलो र एसियाली विकास बैंकसँग मार्च २०१२ मा र २५ भदौ २०७४ मा दोस्रो ऋण सम्झौता भएको थियो । सबस्टेसन रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबीसे हुँदै लप्सीफेदीसम्मको ४ सय केभी प्रसारणलाइन जोडिने मन्त्रालयको भनाइ छ । नयाँ खिम्ती–बाह्रबीसे–लप्सीफेदी ४ सय केभी प्रसारणलाइन निर्माणको अन्तिम चरणमा रहेको मन्त्रालयले बताएको छ ।

लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १ सय ३२ केभी प्रसारणलाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १ सय ३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा रहेको मन्त्रालयको भनाइ छ । सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरूको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाउने स्पष्ट खाका तयार पारेको बताएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै सो सबस्टेसन तत्काल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘स्थानीयवासीको समस्या समाधानका लागि सरकारले अधिकतम प्रयास गर्नेछ,’ उनले भने, ‘तामाकोसी तथा सुनकोसी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्ति गर्न लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको हो ।’

सबस्टेसनका लागि ५० जना जग्गाधनीको १ सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एक जना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिबापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ । नयाँ खिम्ती–काठमाडौं ४ सय केभी तथा लम्सीफेदी–चाँगुनारायण १ सय ३२ केभी प्रसारणलाइन र चारवटा सबस्टेसन गरी अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारणलाइनको मार्गाधिकारमा पर्ने जग्गाको क्षतिपूर्ति निर्धारणमा अधिकतम लचकता अपनाएर गरिने बताए । ‘निर्माणमा अवरोध नगरी काठमाडौं उपत्यकामा विद्युत आपूर्तिका लागि मेरुदण्डको रूपमा रहेको आयोजनाको निर्माणमा सहयोग गर्न आग्रह गर्छु,’ उनले भने ।

प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाको विद्युत माग सन् २०५० सम्ममा ३ हजार २ सय मेगावाट पुग्ने प्रक्षेपण गरेर काठमाडौ वरिपरि र भित्री सडकमा २२० केभी प्रसारण तथा वितरण प्रणाली विस्तार गरिरहेको छ । तामाकोसी–काठमाडौं ४ सय केभी प्रसारणलाइनअन्तर्गत शंखरापुर नगरपालिका–३ मा ४ वटा टावर निर्माणमा अवरोध छ । रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा उत्पादित विद्युत काठमाडौं उपत्यकामा प्रवाह गर्न तामाकोसी–काठमाडौं ४ सय केभी प्रसारणलाइन निर्माणाधीन छ ।

यसैगरी, लप्सीफेदी सबस्टेसनबाट उपत्यकामा विद्युत छिराउन चाँगुनारायण सबस्टेसनसम्म १ सय ३२ केभी प्रसारणलाइन निर्माण हुँदैछ । चाँगुनारायणमा १ सय ३२ केभी सबस्टेसन निर्माणाधीन छ । तामाकोसी–काठमाडौं ४ सय केभी प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डमा नयाँ खिम्ती–बाह्रबीसेसम्मको ४४ किलोमिटर प्रसारणलाइनमा १ सय १८ वटा टावर पर्छ । दोस्रो खण्डमा बाह्रबीसे–लप्सीफेदीसम्मको ४६ किलोमिटर प्रसारणलाइनमा १ सय २२ वटा टावर पर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्