अलैंची निर्यात ३२२ प्रतिशत बढ्यो

बिर्तामोड– नेपालको पूर्वी नाका काँकडभिट्टाबाट अलैंची निर्यात ३ सय २२ प्रतिशतले वृद्धि भएको छ । पहाडी जिल्लामा उत्पादित अलैंचीको निर्यात गत आवको तुलनामा चालु आवमा उत्साहजनक रुपमा बढेको हो । गत आव २०७९–८० को साउनमा २२ करोड ८५ लाखको अलैंची निर्यात भएको थियो । यो वर्ष साउनमा ९६ करोड ४६ लाख रुपैयाँको निर्यात पुगेको हो ।
यो गत वर्षको तुलनामा ३२२ प्रतिशत बढी हो । निर्यातको मूल्यलाई हेर्दा पनि यो वर्ष ७३ करोड ६१ लाख रुपैयाँ बढी छ । अलैंचीको मूल्यसँगै निर्यातको परिमाण पनि बढेको छ । गत वर्ष साउनमा २ लाख ७७ हजार किलो अलैंची निर्यात भएकोमा यो वर्ष साउनमा ७ लाख ८८ हजार ७ सय ४० किलो निर्यात भएको छ । यो वर्ष गत वर्षभन्दा ५ लाख ११ हजार किलो बढी हो ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले यो वर्ष अलैंची निकासीमा राम्रो सुधार हुने संकेत देखिएको बताए । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले हाल निकासी भएको अलैंची गत वर्षको उत्पादन भएको जानकारी दिए ।
उनका अनुसार अलैंचीको नयाँ उत्पादन आगामी असोजदेखि सुरु हुन्छ । नेपालको अलैंची छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुकहरुमा पुग्ने गरेको छ । मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैंची निर्यात ह्वात्तै बढेकाले यसले आफूहरुलाई खुशी बनाएको उनले बताए । अधिकांश अलैंची भारततर्फ निकासी हुने गरेकाले भारतमा उत्पादित अलैंचीले नेपाली बजारमा प्रभाव पार्ने उनको भनाइ छ ।
भारतमा उत्पादन कम भयो भने माग बढ्ने तर उत्पादन बढ्यो भने माग कम हुने भएकाले त्यसको प्रत्यक्ष असर किसानसँगै व्यवसायीलाई पर्ने गरेको उनले बताए । पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिएको अलैंचीको यस पटकको उत्पादन भने घट्ने सम्भावना रहेको बताउँदै उनले अलैंचीका लागि सिँचाइको अभावसँगै विभिन्न रोगले गर्दा अलैंचीको नयाँ उत्पादन घट्ने सम्भावना रहेको जानकारी दिए ।
हालसम्म नेपालका ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको र उत्पादित दुई प्रतिशतमात्रै आन्तरिक खपत हुने गरेको अनुमान छ । नेपाल, भारत र भुटानमा अलैंची उत्पादन हुने गरेकोमा भारत र भुटानमा उत्पादन घटेको अध्यक्ष भट्टराईले बताए । नेपालमा भने करिब ५० प्रतिशत उत्पादन बढेकाले निर्यात पनि बढेको उनको भनाइ छ । नेपालमा १८ हजार हेक्टर जमिनमा अलैंची खेती हुँदै आएको जानकारी दिँदै उनले ३५ देखि ४० हजार हेक्टरमा गर्न सकिने बताए ।
नेपाली अलैंची भारत, पाकिस्तान, जर्मनी, इटाली, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छ । नेपालबाट भारततर्फ गएको अलैंचीलाई भारतले प्याकेजिङ गरेर आफ्नो ब्रान्ड बनाएर अन्य देशमा निर्यात गर्ने गरेको छ । नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैंचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ पहल हुनुपर्ने व्यवसायीहरु बताउँछन् । बिर्तामोडका अलैंची निर्यातकर्ता ओमकृष्ण बिमलीले अहिले अन्तर्राष्ट्रिय बजारको मागलाई नेपाली अलैंची उत्पादनले धान्न नसकिरहेको बताए ।