‘किसानलाई राहत दिन ढिलाइ भयो’

काठमाडौं- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाइ भएको स्वीकार गरेका छन् । मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गर्दै अब त्यसमा ढिलाइ नहुने आश्वासनसमेत दिए ।
आइतबार मन्त्रालयमा मन्त्री भुसालले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको पाँच महिनामा गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राहत उपलब्ध गराउनका लागि आफूले गृह र अर्थ मन्त्रालयलाई बारम्बार ताकेता गरी रहेको बताए । मन्त्री भूसालले उक्त काम छिट्टै गर्ने पक्षमा सरकार रहेको रहेको जानकारी दिए । उनले उक्त रोग नियन्त्रणका लागि खोप खरिद गर्ने काम सुरु गरिएको र त्यसलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको पनि बताए ।
मन्त्री भुसालले भने,‘लम्पी स्किन राहत मापदण्डमा अब गृह र अर्थको अलि आनाकानी हो कि भन्ने यहाँहरुको जुन जिज्ञासा छ । अव त्यसमा चाहीं त्यत्तिधेरै भएको छैन् । हामीले पठाएको पनि त्यति धेरै भएको छैन् । तर पनि हाम्रा प्रक्रियाहरु अलि लम्बेतान नै छन् । त्यो चाहीँ स्वीकार गर्नुपर्छ । मैले त्यो बारम्बार भन्ने गरेको पनि छु । हाम्रो काम गर्ने तरिका अलि ढिला नै छ । त्यसले गर्दा जुन तीव्र गतीमा हुनुपर्दथ्यो, त्यो चाहीँ अझै हुन सकेको छैन । त्यसलाई हामीले स्वीकार गर्नुपर्छ । तर, हामी ताकेतामा नै छौं । ताकेता बारम्बार गरिरहेका छौं । मैले हिजै मात्रै पनि छिटो गरौं भनेको छु । यसलाई छिट्टै गर्ने पक्षमा हामी छौं । हामी यसमा प्रयत्नशील छौं ।’
यसैगरी मन्त्री भुसालले पशु सेवा विभाग र मातहतका कार्यालयहरूमा कार्यरत सहसचिवहरूको नेतृत्वमा सातवटै प्रदेशमा औषधीसहित टोली पठाइएको र यसरी पठाइएका टोलीले स्थानीय तहका प्रभावित क्षेत्रमा पुगी उपचार र प्राविधिक सल्लाह दिनेलगायतको काम भएको बताए । मन्त्रालयका अनुसार रोगको भ्याक्सिन हाम्रो देशमा नबन्ने भएकाले जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी लगाउने व्यवस्था गरिएको छ ।
अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको छ । नौ लाख १९ हजार ४१६ पशुलाई भ्याक्सिन लगाइएको छ । उपचार पश्चात् निको हुने संख्या बढ्दै गएको छ । बिरामी भएका १५ लाख १९ हजार ७७९ पशुमध्ये १३ लाख ९३ हजार ५९५ निको भएका छन् । ७३ हजार ६३६ पशु अहिले पनि बिरामी अवस्थामा छन् । ५२ हजार ५४८ पशुको मृत्यु भएको छ । यसैगरी हाल नेपालमा सिँचाइको कमीले गर्दा धेरै कृषियोग्य जमिन बाँझो रहेको छ ।
त्यसको समाधानका लागि कृषि मन्त्री र सिँचाइ मन्त्रीका साथ दुवै मन्त्रालयका सचिव र अन्य पदाधिकारी सहित बसेर छलफल गरिएको छ । दुवै मन्त्रालय मिलेर सिँचाइ समस्या समाधान गर्ने निर्णय गरिएको छ । त्यसैगरी कृषि र वन मन्त्रालयबीच समन्वय गरि काम गर्ने निर्णय भएको छ । संघीय तथा प्रदेशका मन्त्रीहरू र एकजना पालिका प्रमुख सम्मिलित विषयगत समितिको बैठक बजेट निर्माणपूर्व र बजेट निर्माणपश्चात् बसेर कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा संघ, प्रदेश र स्थानीय तह मिलेर समन्वयात्मक ढंगले काम गर्ने निर्णय गरिएको छ ।