Logo

कम्पनीको नाफा र सेयर मूल्यमा प्रभाव

भ्यालु इन्भेस्टिङका पिता बेन्जामिन ग्राहम : सबै अनुभवी लगानीकर्तालाई यो थाहा छ कि कम्पनीको नाफाले सेयरको मूल्यमा धेरै ठूलो प्रभाव पार्छ । सफल लगानीकर्ता वारेन बफेट : जस्तोसुकै चरित्रको सम्पत्ति होस्, यसको मूल्य यसको कमाइभन्दा छिटो बढ्न सक्दैन ।

लगानीकर्ता पिटर लिन्च : नाफा बढ्दै जाँदा कम्पनीहरू अत्यधिक मूल्यवान् हुनेछन् । तिनीहरूको सेयर मूल्य उच्च मूल्यमा बिक्री हुनेछन् । लामो अवधिमा सेयरलाई मूल्यवान् बनाउने बजारले होइन, तपाईंको स्वामित्वमा रहेको कम्पनीको कमाउने नाफाले हो । अन्तर्राष्ट्रिय सेयर बजारमा सफल लगानीकर्ता ग्राहम, बफेट र लिन्चको भनाइले कम्पनीको नाफा नै सेयर मूल्य बढाउने आधार हो भन्ने स्पष्ट पार्छ । सेयर र सम्पत्तिको मूल्य कम्पनीको कमाउने क्षमतामा भर पर्छ । राम्रो नाफा गर्ने कम्पनीको सेयर मूल्य माथि नै जान्छ । कमाएको सबै रकम लगानीकर्तालाई नबाँड्दा पनि कम्पनी नै थप बलियो हुने हो ।

अहिले नेपालका वाणिज्य बैंकहरूको नाफा उच्च दरमा बढेको छ । तर, सेयर मूल्य भने घटेको छ । भ्यालु लगानीकर्ताले नाफा र सेयर मूल्यको सम्बन्ध नदेख्नु आश्चर्यलाग्दो अवस्था मान्नुपर्छ । कम्पनीको आन्तरिक कारणभन्दा अन्य बाह्य कारणले मूल्य प्रभावित भएको अवस्था हो, यो । केही समयलाई वास्ता नगर्ने हो भने नाफा बढाउँदै गएका कम्पनीको सेयर मूल्य पनि उकालो नै लाग्छ । मूल्य तल आएको बेला नै नाफा बढाउँदै गएका कम्पनीको सेयर किन्ने समय हो । भ्यालु लगानीकर्ताले नाफा उच्च दरमा बढाउने कम्पनीको सेयर किन्छन् । लामो अवधि होल्ड गर्छन् । बढ्दै गएको लाभांश लिन्छन् ।

बजारमा सेयरको मूल्य बढ्ने प्रतीक्षा गर्छन् । पुँजीगत लाभ पनि लिन्छन् । यसको विपरीत कम्पनीको ग्रोथ नहेर्ने ट्रेडरले मूल्य बढिरहेका सेयर किन्छन् । नाफा निकाल्न खोज्छन् । नोक्सानीमा पर्छन् । छोटो अवधिमा नाफा कमाउन खोज्ने ९० प्रतिशत ट्रेडर नोक्सानीमा पर्छन् । विश्व बजारमा पनि छोटो अवधिमा कमाउन खोज्नेले सेयर बजारमा नोक्सानी सहनुपरेको देखिन्छ । दीर्घकालमा ट्रेडरले भन्दा लगानीकर्ताले नै जित्छन् । धैर्य गर्ने लगानीकर्ता हुन् । कुर्न नसक्नेले गुमाउने हुन् । अन्तर्राष्ट्रिय बजारमा पनि चाँडो–चाँडो नाफा निकाल्न खोज्नेले भन्दा लामो अवधि लगानी गर्नेले कमाउने हुन् ।

अहिले नेपालमा वाणिज्य बैंकहरूको सार्वजनिक भएको नाफाको विवरण हेर्दा नेपालको सेयर बजारमा पनि लगानीकर्ता भन्दा ट्रेडर हाबी भएको देखिन्छ । नाफा उच्च दरले बढाउने कम्पनीको बजारमा सेयर मूल्य घट्नुले पनि यही संकेत गर्छ । नबिल बैंकको नाफा ७६ प्रतिशतले बढेको छ । ग्लोबल आईएमई बैंकको नाफा ४६ प्रतिशतले बढेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ५६ प्रतिशतले माथि उक्लेको छ । एभरेस्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, प्रभु बैंक, एसबिआई बैंकको नाफा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । २० मध्ये कुमारी बैंक र प्राइम कमर्सियल बैंकबाहेकका अरू सबै वाणिज्य बैंकको नाफा वृद्धि सकारात्मक नै देखिन्छ ।

जब आधारभूत विश्लेषणका आधारमा कम्पनी वित्तीय रूपमा स्वस्थ हुन्छन्, ती कम्पनीको सेयर मूल्य बजारको भावना सकारात्मक भएपछि बढ्न नै थाल्छ । प्राविधिक विश्लेषणले पनि समर्थन गरेपछि मूल्य उकालो लाग्ने हो । सेयरको मूल्य आधारभूत विश्लेषण, प्राविधिक विश्लेषण र बजारको भावनामा केन्द्रित हुन्छ ।

केही उत्कृष्ट देखिएका छन्, कुनै अलि कमजोर । नाफा बढ्नुको अर्थ प्रतिसेयर आम्दानी बढ्नु हो । लगानीकर्ताले खोज्नुपर्ने पनि यही हो । तर, पुँजीवृद्धिले सेयरको संख्या उच्च दरले बढाएको बेला प्रतिसेयर आम्दानी नाफा वृद्धिअनुरुप नबढेको पनि हुन सक्छ । तैपनि हरेक वर्ष उच्च दरमा नाफा बढाउनु भनेको यस्ता कम्पनीको भविष्य उज्ज्वल देखिनु हो । विगतको मूल्य विश्लेषण गर्दा पनि उत्कृष्ट वाणिज्य बैंकको सेयर मूल्य तल रहेको देखिन्न । नाफा उच्च देखिँदा पनि सेयरको संख्या बढेअनुरूप नाफा बढेको लगानीकर्ताले देखेनन् भने माग बढ्न सक्दैन । माग नबढेपछि सेयरको मूल्य बढ्न सक्दैन । तत्कालको नाफाभन्दा पनि भविष्यलाई हेर्नुपर्ने हुन्छ वास्तविक लगानीकर्ताले ।

कम्पनीको नाफा बढेपछि यसले लगानीकर्ताले पाउने प्रतिफल त निश्चय नै बढाउँछ, बजारमा सेयरको मूल्य पनि ढिलोचाँडो बढ्ने नै हुन्छ । एक वर्षको कमाइका आधारमा एभरेस्ट बैंकको वितरणयोग्य नाफा करिब ४० प्रतिशत पुग्छ । एनआइसी एसिया ३२ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड २९ प्रतिशत, कृषि विकास बैंक २० प्रतिशत, सानिमा बैंक १८, नबिल बैंक १५ र एसबिआई बैंकको करिब १४ प्रतिशत नाफा वितरण गर्न सक्छन् । नाफा कति वितरण गर्छन् भन्ने बैंकहरूको निर्णय आएपछि मात्रै थाहा हुन्छ । यो त गत वर्षको नाफाका आधारमा गरिएको अनुमान मात्र हो । प्रभु, मेगा इन्भेस्टमेन्ट र प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई १ प्रतिशतको हाराहारीमा प्रतिफल दिन सक्ने देखिन्छ । कुमारी र हिमालयन बैंकको लाभांश वितरण क्षमता नै नभएको गत वर्षको नाफाले देखाउँछ ।

वाणिज्य बैंकहरूको एक वर्षको कमाइ र नियामकीय निर्देशन पालना गरेपछि वितरण गर्न सक्ने रकम हो यो । जगेडा कोषमा भएको रकम पनि कम्पनीकै हो । यस्तो कोषमा भएको रकम तत्काल लगानीकर्ताको हातमा नपरे पनि यसले संस्थालाई अझ बलियो बनाएको हुन्छ । कम्पनीको नगद प्रवाह बढ्नु भनेको पनि कम्पनी अझ सबल हुनु हो । कमाएको मध्ये केही रकम लगानीकर्तालाई बाँडेर बाँकी भविष्यमा थप कमाउनका लागि राख्नु पनि लगानीकर्ताले राम्रै मान्नुपर्छ । त्यसकारण एउटै वर्षमा बैंकहरूले कति लाभांश वितरण गर्छन् भन्ने कुरा महत्त्वपूर्ण होइन । विभिन्न जगेडा कोषमा रकम बढ्दै जानु पनि कम्पनी थप बलियो बन्दै गएको हो ।

राष्ट्र बैंकले दिएको निर्देशनअनुरूप सुरक्षाका हिसाबले छुट्ट्याएको पुँजी पनि जाने कहाँ हो र ? यस्तो पुँजीले बैंककै नगद प्रवाहको क्षमतालाई बढाउने हो । यो तथ्यलाई बजारका अनुभवी लगानीकर्ताले बिर्सने गर्दैनन् । पुँजीको आधार बलियो भएका बैंकको भविष्यमा प्रतिसेयर आम्दानी बढाउने क्षमता पनि बढ्छ । बैंकको नाफा बढ्दा लगानीकर्ताको लाभांश पनि बढ्छ र सेयर मूल्य पनि माथि जान्छ । तत्कालका लागि नाफा बढ्दा प्रतिसेयर आम्दानी खासै बढेको नदेखिए पनि पुँजीको आधार थप बलियो हुनु भनेको भविष्यमा आम्दानी बढाउने क्षमता पनि बढेको हो भनेर बुझ्न जरुरी हुन्छ ।

पटक–पटक चर्को पुँजी वृद्धिको मारमा परेका बैंकका लगानीकर्ताले त्यसको रिटर्न त खोज्नैपर्छ । विगतमा थोरै पुँजी हु“दा लगानीकर्ताले पाएको जति रिटर्न एकै वर्षमा पाउन नसके पनि आउने दिनमा पाउने सम्भावना हुन्छ । लगानीअनुरूपको रिटर्न नपाउँदा लगानीकर्तामा नैराश्यता उत्पन्न गर्छ । यस्तो नैराश्यताले सेयरको मूल्य घटाउँछ । एक वर्षको नाफा र विगतको कार्यसम्पादन हेर्दा आगामी वर्षमा पनि बैंकहरूको नाफा बढ्दै जाने अनुमान गर्न सकिन्छ । बिजनेस घट्ने अवस्था नहुनु, नेपाली बजारमा पनि निक्षेप र कर्जाको ब्याजदर अति न्यून हुने सम्भावना नदेखिनुले नाफा नघट्ने अनुमान गर्न सकिन्छ ।

अहिले बैंक तथा वित्तीय संस्थाको संख्या उल्लेख्य रूपमा घट्नु पनि लगानीकर्ताका लागि सकारात्मक पक्ष हो । वाणिज्य बैंकको संख्या २० मा सीमित भएको छ । विकास बैंकको संख्या १७ मा झरेको छ । फाइनान्स कम्पनी पनि १७ मा सीमित भएका छन् । विगतको संख्यासँग तुलना गर्दा त अब बैंक तथा वित्तीय संस्थाको सेयरमा आकर्षण बढ्न सक्छ । अस्वाभाविक पुँजी वृद्धिले वाणिज्य बैंकको सेयरको संख्या अत्यधिक बढेको छ । सेयरको संख्या बढेअनुरूप माग बढ्न सकेको छैन । नाफाको दर पनि त्यही स्तरमा पुगेको छैन । तर, भविष्यलाई हेर्दा बैंकको संख्या नबढ्ने हुँदा सेयरको संख्या पनि उच्च दरमा थपिने अवस्था देखिन्न ।

बोनस सेयर दिँदा केही संख्या बढे पनि पुँजी वृद्धि गर्ने नियामकीय निकायको उद्देश्य रहेको देखिन्न । यस हिसाबमा पनि अब बैंक तथा वित्तीय संस्थाको सेयरमा आपूर्तिभन्दा माग पक्ष नै हाबी हुनेछ । माग बढ्दा मूल्य बढ्ने नै हुन्छ । पुँजी वृद्धि लगानीकर्ताका लागि नकारात्मक भए पनि बैंक तथा वित्तीय संस्थाको संख्या घट्नुलाई सकारात्मक रूपमा नै लिनुपर्छ । यसले भविष्यमा सेयरको आपूर्तिभन्दा माग नै बढाउने देखाउँछ । सकारात्मक पक्ष, बजारमा बैंकहरूको पुँजी वृद्धिबाट सेयरको उच्च तरलता कायम भयो । यसले किन्न र बेच्न पनि सजिलो वातावरण बनेको छ । यस्ता सेयरलाई बजारमा बिक्री गर्न नसकिएला कि भन्ने डर पनि हुन्न । खरिदकर्ता र बिक्रीकर्ता बजारमा पर्याप्त नै रहन्छन् ।

भ्यालु कम्पनीका रूपमा स्थापित भएका वाणिज्य बैंकले पुँजी वृद्धि र मर्जरको चरण पार गरिसकेका छन् । अब विगतमा जसरी सेयरको संख्या पनि बढ्दैन र बैंकको संख्या पनि बढ्दैनन् । भ्यालु लगानीकर्ताका लागि यसको अर्थ हुन्छ, मूल्य निकै तल आएका बेला सेयर किनेर राख्न सक्नुपर्छ । लगानीकर्ताले यी भ्यालु कम्पनीका रूपमा वाणिज्य बैंकको सेयर लामो अवधिका लागि होल्ड गर्ने सम्भावना बढी हुन्छ । भ्यालु लगानीकर्ताले नेप्सेले १८ अंकमा बटम बनाएपछि लगानी थपिसकेका हुन्छन् । नेप्से ३२ अंकमा पुगेका बेला बजारबाट नाफा बुक गरेका लगानीकर्ताले १८ सय अंकको सपोर्ट तहमा आएपछि सेयर किन्नु स्वाभाविक नै हो ।

जब बजार माथि जाने क्रम बढ्छ, उनीहरूको लगानी बढ्दै जान्छ । अनि जुन बेला मूल्य अस्वाभाविक रूपमा माथि जान्छ, भ्यालु लगानीकर्ताले नाफा बुक गर्छन् । कम्पनीको भ्यालु नबुझ्ने ट्रेडर र नयाँ लगानीकर्ताले सेयरको मूल्य उच्च तहमा गएपछि किन्छन् र भाउ घटेपछि बेच्छन् । अनि सेयर बजारमा नोक्सानी खाएको भन्दै गुनासो गर्छन् । हुन त कम्पनीको नाफा राम्रो देखियो भन्दैमा तत्कालै बजारमा सेयरको मूल्य बढिहाल्छ भन्ने पनि होइन । बजारमा सेयरको मूल्य कुनै एउटा कारणले मात्रै घट्ने/बढ्ने हुँदैन । सबै कुराको संयोजन मिलेपछि मूल्य माथि जाने हो । जति राम्रो कम्पनी भए पनि बजारको मनोविज्ञानमा मूल्य आधारित हुन्छ । प्राविधिक विश्लेषणले पनि सपोर्ट गर्नुपर्छ ।

अहिले बजारमा लगानीकर्ताको मनोविज्ञान थोरै सकात्मक भएको मात्रै हो, पूर्ण रूपमा सकारात्मक हुनै बाँकी छ । नेप्से २२ सय अंक कटेपछि बनेको ट्रिपल टपले पनि प्राविधिक रूपमा नकारात्मक असर गरेको छ । यसले पनि बैंकहरूले उच्च दरको नाफा देखाउँदा पनि मूल्य माथि जान नसकेको होला । तर, बजार साइडवेजमा लामो अवधि चलिसकेको छ । अहिले हाइयर हाईको चरणमा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि जब मूल्य न्यून तहबाट २० प्रतिशत बढ्छ, त्यति बेला बजार बुलिस भएको मानिन्छ । अहिले बजार २० प्रतिशत बढेर केही करेक्सन भएको छ । नेप्से २,१६० अंकमा बसेपछि बजार न्यून तहबाट २० प्रतिशत बढेको मानिन्छ ।

यसपछि दुई वर्षदेखिको बियरिस मार्केट बुलिसमा परिणत हुन्छ । जब बजार इन्डेक्स ३२ सयबाट २० प्रतिशतभन्दा बढीले तल झरेको थियो, त्यति बेला बजार बियरिस नै बनेको थियो । यसविपरीत न्यूनतम तहबाट माथि गएपछि बुलिस मार्केट भन्नुपर्ने हुन्छ । बजारले बुलिसको गति समातिसकेको हो । मौद्रिक नीतिमा सेयर कर्जाको १२ करोडको सीमा नहट्नु र प्राविधिक रूपमा २२ सय अंक कटेपछि नेप्सेले बनाएको ट्रिपल टप पनि बजारका लागि अवरोध बन्यो । यसले केही दिन मूल्य लगातार तल ओर्लियो । अब फेरि सेयर मूल्य त्यही तहमा पुगेमा बजार बुलिस मोडमा फर्किएको मान्नुपर्ने हुन्छ । हुन त बजारमा सेयरको मूल्य कम्पनीको आधारभूूत विश्लेषणका आधारमा मात्रै चल्दैन ।

बजारमा कम्पनीले वित्तीय रूपमा राम्रो गर्दागर्दै पनि कहिलेकांही प्राविधिक विश्लेषणले समर्थन गर्दैन र मूल्य माथि जाँदैन । कहिले बजारको भावनाले गर्दा पनि मूल्य माथि जाँदैन । जब आधारभूत विश्लेषणका आधारमा कम्पनी वित्तीय रूपमा स्वस्थ हुन्छन्, ती कम्पनीको सेयर मूल्य बजारको भावना सकारात्मक भएपछि बढ्न नै थाल्छ । प्राविधिक विश्लेषणले पनि समर्थन गरेपछि मूल्य उकालो लाग्ने हो । सेयरको मूल्य आधारभूत विश्लेषण, प्राविधिक विश्लेषण र बजारको भावनामा केन्द्रित हुन्छ । कम्पनीको उत्तम वित्तीय स्वास्थ्य नै दीर्घकालीन लगानीकर्ताका लागि हितकर छ । यसकारण लगातार नाफा बढाइरहेका कम्पनीको सेयर बिक्री गर्ने होइन, थप किनेर राख्ने हो ।

(सापकोटा ‘सेयरपुर’ पुस्तकका लेखक हुन् ।)

प्रतिक्रिया दिनुहोस्