गैरआवासीय नेपालीले खरिद गरे टाइगर प्यालेस रिसोर्ट «

गैरआवासीय नेपालीले खरिद गरे टाइगर प्यालेस रिसोर्ट

काठमाडौं- भैरहवामा रहेको टाइगर प्यालेस पाँचतारे रिसोर्ट गैरआवासीय नेपालीहरुले खरिद गरेका छन् । अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु सञ्चालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी, युकेमा होलीकाउ लगायत सञ्चालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायतका एनआरएनएको समूहले उक्त रिसोर्ट खरिद गरेको हो ।

सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता रहेको कम्पनी हो । रुपन्देहीमा रहेको टाइगर प्यालेस रिसोर्ट केही दिन अघि १५ मिलियन अमेरिकी डलरमा बिक्री भएको थियो । गैरआवासीय नेपालीहरूले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट मार्फत होटल खरिद गरेका हुन् ।

बुधबार पत्रकार सम्मेलन गरी खरिदबिक्रीको जानकारी दिइएको थियो । होटलका अध्यक्ष सुवेदीले आगामी तीन महिना भित्रमा सरकारलाई तिर्नुपर्ने सबै कर तिर्ने पत्रकार सम्मेलनमा बताए । रिसोर्टमा भएको बैंक ऋणको दायित्व लगायतका अन्य व्यवसायिक दायित्वहरू र हालसम्म भएको नोक्सानीको आधारमा करिब ४ अबै नेपाली रुपैयाँ खर्च हुने सुवेदीको भनाइ छ । होटलको सबै प्रकारको ऋण साँवा गरेर २ अर्ब भुक्तानी गर्न बाँकी रहेको छ ।

सिल्भर हेरिटेजले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो । रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएका थिए । कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन । रिसोर्टले करोडौ रुपैयाँ घाटा व्यहोर्दै आएको थियो ।

रिसोर्ट पूर्ण रुपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौ राजस्व पनि गुम्दै गएको थियो । रिसोर्टले नेपालका बैंकलाई तिर्नु पर्ने साँवा, ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन । प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने भन्दै आफूहरूले सेयर खरिद गरेको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्