बोरिङ जडान नगरी रकम भुक्तानीको सिफारिस

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का चार कृषक समूहले सिँचाइका लागि बोरिङ जडान नगरी भुक्तानी लिन खोजेको भेटिएको छ । कृषि ज्ञान केन्द्रको अनुगमन टोलीले काम नगरी पुराना बोरिङ देखाएर भुक्तानी लिन खोजेको पाएपछि उक्त भुक्तानी रोकिएको हो ।
नगरपालिका–८ का वडाध्यक्ष मदनराज मिश्र उक्त काममा संलग्न भएको खुलेको छ । पद र वडा कार्यालयको लेटरप्याडको दुरुपयोग गर्दै उनले कामै नभएको योजनामा रकम भुक्तानीका लागि सिफारिस गरेको भेटिएको छ । स्थानीयवासीले समयमै त्यसको सूचना कृषि ज्ञान केन्द्र कञ्चनपुरलाई गराएपछि उक्त भुक्तानी रोकिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा सिँचाइ सुविधाका लागि चार समूहलाई उपलब्ध गराएको ११ स्यालो टयुबेल (बोरिङ) का लागि बजेट विनियोजन गरेको थियो ।
भीमदत्त नगरपालिका–८ का त्रिपुरा कृषक समूह, सिद्धनाथ कृषि समूह, भम्केनी कृषक समूह र ब्रह्म कृषक समूहले गत वैशाखमा प्रति एक लाख रुपैयाँका दरले बोरिङ जडानका लागि केन्द्रसँंग सम्झौता गरेको केही दिनपछि बिल भौचरलगायतका आवश्यक कागजातसहित कार्यालयमा फाइल पेस गरेका थिए । केन्द्रले समूहको फाइलका आधारमा दुई पटक अनुगमन गर्दा बोरिङ जडान नभएको भेटिएको थियो । सुरुमा कृषि प्राविधिकले अनुगमन गर्दा बोरिङ जडान भएको नपाएपछि केन्द्रका निमित्त प्रमुख हरिदत्त जोशीले दोस्रो पटक अनुगमन गरेका थिए ।
केन्द्रका इन्जिनियर अनिता जोशीले दुई पटकको अनुगमनमा पुराना बोरिङ देखाएपछि कार्यालयले भुक्तानीको प्रक्रिया रोकेको हो । उनले भनिन्, ‘सम्झौता भएको ८/९ दिनपछि कार्यालयमा भुक्तानीका फाइल आएको थियो । मैले एकजना प्राविधिकलाई उक्त फाइल पठाएँ, पुरानो देखाएँ, अर्को पनि हेरे पुरानो देखाएको रहेछ । बिलअनुसार चेक गर्दा काम नभएको पाएपछि अनुगमन गर्न गयौं । २/३ वटा बोरिङ हेरेपछि कन्फर्म भएर फर्कियाैं ।’
केन्द्रको अनुगमनबाट पुरानो बोरिङ देखाएर भुक्तानी लिन खोजेको निश्चित भएपछि थप प्रक्रिया अघि बढेको जोशीले बताइन् । जोशीका अनुसार काम नभएको कन्फर्म भएपछि भुक्तानीका अन्य प्रक्रिया अघि बढ्न सकेको छैन । समूहले आर्थिक वर्षको अन्तिममा आएर सम्झौता गर्नु र छिटो काम सम्पन्न भएर भुक्तानीका लागि निवेदन आएपछि आफूलाई शंका लागेको उनले बताइन् । घाँडीघाँच क्षेत्रमा डिप बोरिङ हाल्नुपर्ने समूहले कार्यालयसँग सर्फेस स्यालो टयुबेल हाल्ने सम्झौता गरेको थियो ।
सम्झौतामा ४ इन्च जिआई पाइप र त्यसमा मोटर जडान गर्ने सम्झौतामा छ । अनुगमनका क्रममा कृषक समूहले देखाएको बोरिङमा बाहिर ६ इन्च पुरानो पाइप भेटिएको र भित्र नयाँ पाइप हालेको जानकारी गराइएको थियो । सम्झौताअनुसार जिआई पाइप हालेको नपाएपछि आफूले समरसलेको कभर र बोरिङ चलाउँदा निस्केको बालुवा देखाउन अनुरोध गर्दा समूहका सदस्य पन्छिएका थिए । कृषक समूहले देखाएका बोरिङ यसअघि भीमदत्त नगरपालिकाले जडान गरेको स्थानीय हरिश्चन्द्र रानाले बताए ।
कृषि प्राविधिकले सम्झौता अनुसार काम नभएको बताएपछि समूहका सदस्यले प्राविधिकलाई गलत स्टिमेट गरेको भन्दै गुनासो समेत गरेको स्थानीयहरू बताउँछन् । कृषि ज्ञान केन्द्रसँंग १५ प्रतिशत समूहले बेहोर्ने शर्तमा बोरिङ जडानका लागि सम्झौता गरिएको थियो । सिद्धनाथ कृषक समूहमा ५ थान, ब्रम्हमा १ थान, त्रिपुरामा ३ थान र भम्केनी कृषक समूहले २ थान बोरिङ बनाउने सम्झौता गरेका थिए । प्रति बोरिङवापत १/१ लाख रुपैयाँ दिने गरी सम्झौतासमेत गरेको स्थानिय श्याम चौधरीले बताए ।