Logo

तिलामा १६१ योजना निर्माण

जुम्लाको तिला गाउँपालिका भौतिक पूर्वाधार विकासमा अब्बल देखिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये तिला पूर्वाधार विकासमा अब्बल देखिएको हो । तिलाले आफ्नै दुईवटा प्रशासकीय भवन निर्माण गरेको छ । एउटा व्यावसायिक प्रयोजनले बनाएको भवन निर्माण सम्पन्न भएको छ भने नयाँ भवन अन्तिम चरणमा छ ।

संघीय विशेष तथा समपुरक अनुदान अन्तर्गतको आठ करोड दुई लाख बजेटअन्तर्गत तिलाको नयाँ प्रशासकीय भवन निर्माण हुँदैछ । त्यस्तै वडावडाका आफ्नै भवन बनाउने तयारी छ । वडा नं.४ को पनि आफ्नै पक्की भवन निर्माण भई सञ्चालनमा छ भने ९ वटै वडाका गाउँगाउँमा सडक पनि पुगिसकेका छन् । भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने तिलाले माग र आवश्यकतानुसार पूर्वाधार विकासलाई जोड दिँदै आएको छ । गत आव २०७९/८० मा तिलाको भौतिक प्रगति ९६ प्रतिशत भएको हो ।

संघ प्रदेश तथा पालिकाको आफ्नै लगानी र विभिन्न चार वटा अनुदानका शीर्षककबाट गत आवमा कुल १६७ वटा योजना छनोट गरिएको थियो । जसमा असार मसान्तसम्म १६१ वटा योजनाको निर्माण सम्पन्न भई अन्तिम भुक्तानी भएको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर विष्टले बताए । उनका अनुसार कुल योजना १६७ मध्ये १६५ योजनाको सम्झौता भएकोमा १६१ वटा सम्पन्न भई भुक्तानी भएका छन् भने चारवटा योजना सम्पन्न हुन नसकेको र दुईवटा योजना सम्झौता नै नभएको प्रमुख प्रशासकीय अधिकृत विष्टले जानकारी दिए ।

यसैबीच तिलाको गत आर्थिक वर्षको कुल बजेटको ७४.४७ प्रतिशत बजेटमात्रै खर्च भएको छ । गत आव २०७९/०८० मा तिलामा पुँजीगत तथा चालूतर्फ गरी कुल ५९ करोड ८७ लाख विनियोजन भएकोमा ४३ करोड ९८ लाख रुपैयाँ खर्च भएको तिलाका लेखा अधिकृत लालचन्द्र बुढाले बताए । उनका अनुसार पुँजीगततर्फ विनियोजित २७ करोड ८ लाखमध्ये १५ करोड २४ लाख रुपैयाँ अर्थात् ५६.२८ प्रतिशत पुँजीगत खर्च भएको छ भने चालूतर्फ विनियोजित ३२ करोड ७९ लाखमध्ये २८ करोड ७९ लाख अर्थात् ८७.८२ प्रतिशत चालू खर्च भएको छ ।

कुल बजेटको १५ करोड ८८ लाख ४० हजार ४१६ रुपैया बजेट खर्च हुन नसकेर फिर्ता भएको छ भने पुँजीगततर्फको २७ करोड ८ लाखमध्ये ११ करोड ८३ लाख रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ । पालिकामा आयोजित गत आव २०७९/०८० को सार्वजानिक सुनुवाइ कार्यक्रममा उल्लेखित भौतिक तथा वित्तीय प्रगति सार्वजनिक गरिएको हो । तिलाका ९ वटा वडाले गत वर्षमा १५ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने मुख्यमन्त्री रोजगारअन्तर्गत ९, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १३, गाउँपालिकाबाट ११, संघीय विशेष तथा समपुरक अनुदानबाट १० र प्रदेशको अनुदानबाट चारवटा योजना निर्माण सम्पन्न भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले समृद्ध तिला बनाउन प्राप्त सुझावको कार्यान्वयन तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने बताए । उनले भने, ‘तिला उत्पादनमा आत्मनिर्भर पालिका हो । हामीले उत्पादनका आधारमा वडालाई पकेट क्षेत्र निर्धारण गरेका छौ । आवश्यकतामुखी विकास अबको प्राथमिकतामा छ । सेवालाई चुस्त बनाउन उतिकै जरुरी छ । समृद्ध तिला बनाउन सबैको साथ सहयोगको जरुरत छ ।’

आर्थिक सुशासन, नागरिकका गुनासो सुनुवाइ, भ्रष्टचार निवारण, गुणस्तर विकास छिटो छरितो सेवा प्रवाहमा जोड दिइने उनको भनाइ छ । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरवीर सुनारले स्थानीय सरकारले जनअपेक्षानुसार काम गर्नुपर्ने सुझाव दिए । तिलाकी उपाध्यक्ष गोरीकला बुढाले महिला सशक्तीकरण, उद्यमशीलता विकास, रोजगारी सिर्जनालगायतका विषयमा तिलाले लगानी बढाउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्