हवाई दुर्घटना र आर्थिक क्षतिको सवाल

हवाई यातायात अन्तर्राष्ट्रिय तथा आन्तरिक यातायात आबद्धताका लागि छिटो र भरपर्दो साधन हो । नेपालको भौगोलिक अवस्थिति र भू-धरातलीय स्वरूपका कारण आन्तरिक एवं बाह्य सम्पर्कका लागि यसको सान्दर्भिकता बढी नै रहेको छ ।
नेपालको हवाई नीति ‘नेपाली आकाश, सुरक्षित आकाश’ भन्ने मान्यताका साथ कार्यान्वयनमा रहेको छ । तर, व्यवहारमा मुलुकभित्र पटक–पटक हुने गरेका हवाई दुर्घटनाहरूले नीतिले अघि सारेको मान्यतालाई चुनौती दिइरहेका छन् । नेपालमा पटक-पटक भएका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई दुर्घटनाका कारण थुप्रै मानिसको मृत्यु भइसकेको छ । ६ अक्टोबर, सन् १९७३ मा पहिलो पटक नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन यात्रु र चालक दलका तीन सदस्य घाइते भएका थिए ।
त्यसयता नेपालको सात दशक लामो हवाई इतिहासमा १ सयभन्दा बढी दुर्घटना भई करिब ८ सय ५० जना मानिसले ज्यान गुमाइसकेको तथ्यांक छ । सन् १९९२, जुलाई ३१ मा थाई एयरलाइन्सको विमान दुर्घटना हुँदा १ सय १३ जनाको ज्यान गएको र त्यो नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय विमान दुर्घटना थियो । सन् २०१८ मा भएको युएस बंगलाको विमान दुर्घटनाको भयावह स्मरण पनि ताजै छ । पछिल्लो समयसम्म आइपुग्दा गत जनवरीमा यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भई ७२ जना यात्रुले एकसाथ ज्यान गुमाएका थिए ।
ठूला विमानहरूका अतिरिक्त मनाङ एयरको हालै सोलुखुम्बुमा भएको दुर्घटनासहित पछिल्लो दस वर्षमा १६ वटा हेलिकप्टर दुर्घटना भइसकेका छन् । आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई दुर्घटनाको दुःखद अवस्थाले नेपाली आकाशको असुरक्षालाई मात्रै उजागर गर्दैन, यसले बहुआयामिक रूपमा नै मुलुकलाई असर गरिरहेको हुन्छ । यस किसिमको भयावह अवस्थाबाट अर्बौं आर्थिक क्षतिका साथै सामाजिक, पारिवारिक र मानवीय रूपमा पर्न जाने क्षतिको लेखाजोखा नै छैन ।
पटक-पटक हुने गरेका दुर्घटनाका कारण अन्तर्राष्ट्रिय जगत्मा मुलुकको छवि धूमिल बनिरहेको छ । नेपाली आकाश असुरक्षित रहेको भनी विश्वमै नकारात्मक सन्देश प्रवाह भइरहँदा यसले मुलुकको पर्यटन उद्योगलगायत सिंगो अर्थतन्त्रमा नै गम्भीर असर पुर्याइरहेको छ । नेपालको हवाई सुरक्षासम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार आइकाओको ग्लोबल एभिएसन सेफ्टी प्लानमा औसत मापदण्ड ६० प्रतिशत रहने गरेकोमा नेपालको अवस्था ६६.७६ प्रतिशत रहेको छ ।
नेपालको अंक औसतभन्दा केही राम्रो देखिए तापनि यो अवस्था सन्तोष गर्न लायक हुँदै होइन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले नेपालको हवाई सुरक्षाका सन्दर्भमा सन् २००९ मा हवाई क्षेत्रको सेफ्टी अडिट गरी सुधारका लागि केही सुझाव अघि सारेको थियो । ती सुझावअनुसार सुधार गर्न नसकेका कारण सन् २०१३ मा आइकाओले नेपाललाई गम्भीर हवाई सुरक्षा चासो भएको श्रेणीमा राखेको थियो ।
यही आधारमा युरोपेली संघले नेपाललाई कालोसूचीमा राखी उडान प्रतिबन्ध लगाएको छ । नेपालले हवाई उडान सुरक्षाका क्षेत्रमा केही सुधार गरेसँगै आइकाओले सन् २०१७ मा गम्भीर सुरक्षाको सूचीबाट हटाइसकेको भए पनि युरोपेली संघले भने हालसम्म नेपाललाई कालोसूचीबाट हटाएको छैन । युरोेपेली संघको कालोसूचीमा रहेका कारण नेपाली विमानले युरोपेली आकाशमा उडान अनुमति पाउन सकेका छैनन् । यसबाट पनि नेपाली अर्थतन्त्रले ठूलो क्षति बेहोर्नुपरिरहेको छ ।
नेपालमा हवाई दुर्घटना बारम्बार निम्तिनुमा विभिन्न कारण जिम्मेवार रहेका देखिन्छन् । विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम, विमानस्थलहरूमा आधुनिक उपकरणको न्यूनता, पुराना मोडलका जहाजलगायतका कारण नेपालमा हवाई दुर्घटना बढ्दो क्रममा रहेको यस क्षेत्रका विज्ञहरूको तर्क छ । हवाई दुर्घटनापश्चात् गठित विभिन्न जाँचबुझ समितिका प्रतिवेदनहरूलाई आधार मान्दा हवाई दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि वा पाइलटका कारणले भएको देखिन्छ ।
नेपालमा भएका धेरैजसो हवाई दुर्घटना पहाडी क्षेत्रमा हुने गरेको र मौसममा अचानक आउने खराबीका कारण चालकले हवाई मार्ग पत्ता लगाउन नसकी दुर्घटना हुने गरेको देखिन्छ । यसबाहेक विमानस्थल र धावनमार्गहरूको खराब अवस्था, एयर ट्राफिक व्यवस्थापन प्रभावकारी बन्न नसक्नु, पुराना इन्जिन भएका जहाजका कारण प्राविधिक कठिनाइ निम्तनुजस्ता कारणहरू पनि हवाई दुर्घटनामा जिम्मेवार रहेका देखिन्छन् ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हवाई सुरक्षा मापदण्ड तय गरिएको भए तापनि मापदण्डको कमजोर परिपालना, उडान सुरक्षा नियमनका क्षेत्रमा दक्ष जनशक्तिको अपर्याप्तता, दक्ष प्राविधिक एवं पाइलटको न्यूनताजस्ता समस्या पनि हवाई दुर्घटनाको कारक बनिरहेका छन् । नेपालको सन्दर्भमा विमानस्थल वरपर जंगली जनावर र चराहरूको आवागमनलाई नियन्त्रण गर्न नसक्दासमेत दुर्घटना बढिरहेको देखिन्छ ।
यस क्षेत्रको नियामक निकायका रूपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिका र संस्थागत क्षमता कमजोर रहेका कारण प्राधिकरणले अपेक्षित जिम्मेवारी वहन गर्न सकेको पाइँदैन । नेपालको भूधरातलीय जटिलताकै कारण सडक यातायात अति जोखिमपूर्ण रहेको सन्दर्भमा हवाई यातायातलाई सुरक्षित, सर्वसुलभ र भरपर्दो नबनाएसम्म मुलुकी अर्थतन्त्रले कोल्टे फेर्न सक्दैन ।
यसका लागि नेपालको हवाई उडान व्यवस्थापनका सन्दर्भमा देखिएका मानवीय, भौगोलिक, प्राविधिक, व्यावसायिक तथा व्यवस्थापकीय कमजोरीहरूलाई सुधार गर्नतर्फ बेलैमा तदारुकता देखाउन अपरिहार्य छ । हालसम्मका हवाई दुर्घटना छानबिन समितिका प्रतिवेदनहरूले सुझाएका विषयहरूका आधारमा हवाई उडान सुरक्षासम्बन्धी प्रस्ट मार्गचित्र निर्माण र कार्यान्वयन हुन सके यस क्षेत्रमा ठोस सुधारको अपेक्षा गर्न सकिन्छ ।
विश्वमा नै सबैभन्दा छिटो र सुरक्षित मानिएको हवाई सेवा नेपालमा भने दिनदिनै असुरक्षित बन्दै जानु सुखद विषय होइन । यसले एकातिर मानवीय क्षतिसँगै आर्थिक क्षति बढाइरहेको छ भने अर्कातिर हवाई दुर्घटनाका घटनाहरूले विश्वमा राष्ट्रको छवि धूमिल बन्दै गएको छ । अतः नेपाली आकाशका असुरक्षाका सवालहरूलाई सम्बोधन गर्दै हवाई सेवालाई जोखिमरहित, सुरक्षित र भरपर्दो बनाउने सन्दर्भमा हवाईजहाज सञ्चालक, नीति निर्माता, नियामकलगायत सबै सरोकारवालाहरूको सामूहिक प्रयत्नको खाँचो देशलाई खड्किएको देखिन्छ ।