Logo

अनलाइन प्रणालीको प्रभाव, सेवाग्राहीको भिडभाड हुने वाणिज्य विभागमा चहलपहल घट्यो

सेवाग्राहीको भिडभाड हुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा चहलपहल घटेको छ । विगतमा सेवाग्राहीको ठूलो भिड हुने गथ्य्रो । एउटा सेवा लिनका लागि सेवाग्राहीले घण्टौँ लाइन बस्नु पर्ने बाध्यता थियो । व्यवसाय दर्ता गर्नदेखि वस्तुको आयात निर्यात गर्नका लागि विभागबाट अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको कारण भिडभाड हुने गरेको थियो । तर अनलाइन प्रणालीबाट सेवा दिन थालेपछि विभागमा सेवाग्राहीको भिडभाड कम हुन थालेको छ ।

हाल विभागबाट हुने कतिपय काम स्थानीय तहबाटै हुन थालेका छन् । सोही कारण पनि विभागमा कामको चाप घटेको आँकलन गरिएको छ । सेवाग्राहीलाई विभागमा आउनै नपर्ने गरी विभागले सेवादिन थालेपछि विभागमा लाग्ने सेवाग्राहीको ठूलो भिड कम भएको विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बताए । महानिर्देशक ठाकुरले विभागमा हुने अधिकांश काम अनलाइन प्रणालीमार्फत गर्न थालेपछि विभागको भिडभाड कम भएको जानकारी दिए ।

मुलुक संघीय संरचनामा गएको लामो समय भएपनि स्थानीय तहले गर्ने कार्य विभागबाट हुने गरेकोले पनि पहिले भिडभाड बढ्ने गरेकोमा अहिले क्रमश त्यस्ता काम स्थानीय तहलले गर्न थालेपछि चहल पहल कम हुन थालेको हो । पछिल्लो समय विभागले सबै ७५३ स्थानीय तहलाई कानुनी अधिकार दिइ काम हस्तान्तरण गरेपछि विभागमा हुने सेवा ग्राहीको भिड निकै कम भएको महानिर्देशक ठाकुरले बताए । उनले स्थानीय तहलाई काम हस्तान्तरण गरेपनि अझै कतिपय स्थानीय तह विभागबाट हुने कामको अधिकार लिन अनिच्छुक रहेको बताए ।

व्यवसाय दर्ता अनुमती दिएर त्यस्को नियमन गर्न झन्झट हुने भएकाले स्थानीय तहले अधिकार लिन नचाहेको उनको बुझाइ छ । अनलाइन प्रणाली नहुँदा विभागमा जुन सुकै सेवा लिन पनि सेवाग्राहीलाई आउनै पर्ने बाध्यता थियो । अहिले त्यो झन्झट हटेको महानिर्देशक ठाकुर बताउँछन् । उनले भने,“सेवाग्राहीले व्यवसाय दर्ता गर्नका लागि जुनसुकै ठाउँमा बसेर सहजै व्यवसाय दर्ता गर्न सक्छन् । अब विभागमा व्यवसाय दर्ता प्रमाण पत्र लिन र बैंक दस्तुर तिर्नु आए पुग्छ ।”

आगामी आर्थिक वर्षभित्र उक्त व्यवस्थालाई पनि अनलाइन प्रणालीमार्फत नै सेवा दिने महानिर्देशक ठाकुरले जानकारी दिए । आगामी आर्थिक वर्षदेखि विभागलाई पूर्ण डिजिटलाइजमा रुपान्तरण गर्ने उनले बताए । यसैगरी उनले बजार अनुगमनलाई प्रभावकारी बनाउन विश्व बैंकसँगको सहकार्यमा काम भइरहेको जानकारी दिए । बजारलाई स्वाच्छ प्रतिस्पर्धा र बजार अनुगमन गर्नको लागि सप्लाइ चेन म्यानेजमेन्ट सिस्टम लागु पर्ने उनले बताए ।

सबै व्यवयासी तथा उद्योगीहरुलाई सप्लाइ चेन म्याजेजमेट प्रणाली भित्र राख्दा उत्पादनदेखि बजारसम्म वस्तुका बारेमा सबै जानकारी हुने भन्दै उनले बजार अनुगमनमा सहजता थपिनेमा जोड दिए । सप्लाइ चेन म्यानेजमेन्ट प्राणालीले व्यवसायीबीच स्वच्छ र गुणस्तरीय प्रतिस्पर्धा गर्न सहज हुने ठाकुरको भनाइ छ । उपभोक्ता समेत व्यवसायीको ठगिबाट बच्ने उनले बताए । सप्लाइ म्यानेजमेन्ट प्रणाली ल्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफल अघि बढाइ सकेको उनले बताए । उनले यो कार्यका लागि मन्त्रालयले खाका तयार पारेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्