Logo

केही वस्तु तथा सेवामा लगाएको कर हुनेखानेका लागि होः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा छलफलको लागि पेस भएको आर्थिक विधेयक, २०८०’मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. महतले सांसदहरुले सरकारले ल्याएको बजेट र कर वृद्धि गरिबमैत्री नभएको बताए पनि सरकारले गरिबीको पक्षमा बजेटमा करको व्यवस्था गरेको बताए ।

मन्त्री महतले सरकारले आवश्यकता र विभिन्न देशमा व्यवस्ता भए बमोजिम आवश्यकता देखेर हवाई भाडा तथा लक्जरी करको व्यवस्था गरिएको बताए । उनले मुलुक भित्र हुने खाने हैसियत बनाएको वर्गलाई लक्षित गरेर केही वस्तु तथा सेवामा कर लगाएको जिकिर गरे । उनले सरकारले व्यवस्था गरेको करले गरिब जनतालाई नछुने बताए । मन्त्री महतले न्युन वर्गले प्रयोग गर्ने वस्तु तथा सेवामा सरकारले कर नबढाएको दाबी गरे ।

उनले सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा नभएको सांसदहरुले भने पनि बजेट सन्तुलन कायम भएर आएको बताए । उनले सरकारले हैसियत हेरेर विलासिताका वस्तुमा कर लगाएको बताए । उनले विलासिता कर पाँच तारे होटल वा सो स्तरको रिसोर्ट, १० लाख भन्दा बढी हिरामोती खरिद गर्ने र ५० लाख भन्दा बढी आम्दानी गर्नेको लागि कर बढाइएको भन्दै यो व्यवस्थाले गरिबलाई नछुने बताए ।

उनले सरकारले आलु प्याजमा कर मुलुकभित्रै उत्पादन वृद्धि गरी साना–साना किसानहरुलाई प्रोत्साहन दिने उद्देश्यले लगाएको बताए । उनले नेपालका साना किसानहरु नै गरिब भएको भन्दै उनीहरुको उत्पादनले बजार पाउनुपर्ने बताए । उनले कृषि उत्पादन क्षेत्रका विचौलियाको चलखेल तोड्नको लागि सम्पूर्ण राज्य संयन्त्र क्रियाशिल हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्