Logo

२९ अर्ब २६ करोडको सुदूरपश्चिम बजेट,पर्यटन र पुर्वाधारमा प्राथमिकता

सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाखको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री नशेरकुमार शाहीले चालु आर्थिक वर्षभन्दा ७ अर्ब ४७ करोड ४८ लाख १३ हजार रुपैयाँ कमको बजेट ल्याएका हुन् ।

आर्थिक मन्दीका कारण चापमा परेको सार्वजनिक अर्थतन्त्रको कारण बजेटको आकार घटेको मन्त्री शाहीले बताए । उनले संघीय सरकारले दिने अनुदान घट्नुका साथै प्रदेशको राजस्व संकलनमा संकुचन आएको कारण प्रदेशको बजेट पनि खुम्चिएको बताए । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३६ अर्ब ७४ करोड सात लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

प्रदेशले आगामी वर्षका लागि चालुतर्फ नौ अर्ब ५९ करोड ६० लाख (३२.७९ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख (५८ं.१६ प्रतिशत) विनियोजन गरेको मन्त्री शाहीले बताए । उनले स्थानीय तहमा दुई अर्ब ३४ करोड ७५ लाख ७० हजार (८.०२ प्रतिशत) रकम वित्तीय हस्तान्तरण गरिने बताए । उनले वित्तिय व्यवस्था शिर्षकमा ३० करोड रुपैयाँ राखेको पनि बताए ।

प्रदेश सरकारको बजेटको आकार घटेपनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बजेटको आकार दोब्बर भन्दा बढिले बढाएको छ । चालुआर्थिक वर्षमा मुख्यमन्त्री कार्यालयका लागि ५० करोड ४८ लाख ७० हजार रुपैयाँको बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि एक अर्ब ३० करोड ८२ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । यो चालु आर्थिक वर्ष भन्दा ८० करोड ३३ लाख ३२ हजार रुपैयाँले बढी हो ।

यसैगरी, बजेटमा चाप परेर आकार घटेको बेला आर्थिक मामिला मन्त्रालयका लागि समेत बजेट दोब्बर बढीले बृद्धि गरिएको छ । चालु अर्थिक वर्षमा आर्थिक मामिला मन्त्रालयका लागि २६ करोड ५० लाख ८७ हजार विनियोजन गरिएकोमा त्यसमा वृद्धि गरी ७१ करोड ९४ लाख ८६ हजार रुपैयाँ पुर्‍याइएको छ । यो चालु आर्थिक वर्ष भन्दा ४५ करोड ४३ लाख ९९ हजार रुपैयाँ बढी हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आर्थिक मामिला मन्त्रालयको बजेट दोब्बर बढीले वृद्धि गरिएपनि विकास, निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएको क्षेत्रमा काम गर्ने विषयगत मन्त्रालयहरुको बजेट कटौति गरिएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने सामाजिक विकास मन्त्रालयको बजेट चालु वर्ष भन्दा आगामी वर्षका लागि एक अर्ब ४९ करोड एक लाख ६१ हजार रुपैयाँले कम विनियोजन गरिएको छ ।

चालु वर्षमा ६ अर्ब ७८ करोड ९२ लाख ८१ हजार विनियोजन गरिएकोमा आगामी वर्षका लागि ५ अर्ब २९ करोड ९१ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । चालुआर्थिक वर्षमा भौतिक पुर्वाधार विकास मन्त्रालयमा १८ अर्ब २६ करोड ६३ लाख ४६ हजार विनियोजन गरिएकोमा आगामी वर्षका लागि १२ अर्ब ६८ करोड १८ लाख १६ हजार विनियोजन गरिएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट चालु वर्षमा ३ अर्ब १० करोड ३६ लाख ६७ हजार रहेकोमा आगामी आर्थिक वर्षका लागि २ अर्ब ५० करोड ७१ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको बजेट २ अर्ब ६१ करोड १२ लाख ९२ हजार रहेकोमा आगामी वर्षका लागि एक अर्ब ८१ करोड ८५ लाख ४८ हजार रुपैयाँमा झारिएको छ ।

सुदूरपश्चिम आर्थिक सरोकार मञ्चका संयोजक प्राध्यापक डाक्टर राजेन्द्रविर चन्दले आवश्यकता भन्दा पनि बजेट विनियोजन गर्ने सिमित व्यक्तिहरुको चाहना, महत्वकांक्षाको आधार यसपटक पनि बजेट विनियोजन भएको टिप्पणी गरे । उनले बजेट कार्यान्वयन हुने आधार अध्ययन नगरी आएको हुनाले बजेट कार्यान्वयन गर्ने मन्त्रालय भन्दा प्राशासनिक क्रियाकलाप गर्ने मन्त्रालयको बजेट वृद्धि गरी विषयत मन्त्रालयको बजेट कटौति गरिएको बताए ।

उनले उत्पादक क्षेत्रमा पर्याप्त बजेट विनियोजन नभएको बताउँदै एक जिल्ला एक उद्योग जस्ता कार्यक्रमलाई उपेक्षा गरेको बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ३८ सय हेक्टर जमीनमा सिंचाई व्यवस्था मिलाउनका लागि दुई अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्री शाहीले गुर्गी, खुरखुरिया, पथरैया, मोहना जस्ता ठूला सिंचाई योजना निर्माण तथा व्यवस्थापनका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको बताए ।

डडेल्धुराको महाभारत र अछामको रामारोशन क्षेत्रलाई प्रदेश संरक्षण क्षेत्रको रुपमा घोषणा गरी पर्यटकीय पुर्वाधार निर्माण गर्ने बजेटले भनेको छ । उनले मुख्यमन्त्री एकीकृत पर्यटन विकास कार्यक्रम अन्तरगत प्रदेश गौरवका सडक सञ्जालले समेट्ने क्षेत्रमा भौगौलिक, धार्मिक, आध्यात्मिक र पर्यापर्यटन प्रवर्द्धन गरिने बताए ।

बजेटले आगामी आर्थिक वर्षमा युवा उद्यमशिलता विकास गर्न र नवप्रवर्तनलाई प्रबद्र्धन गर्न स्टार्टअप यद्यम कर्जाको लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटले वैदेशिक रोजगारबाट फर्केका दुई सय युवालाई स्वरोजगार विकास कोषमार्फत कर्जा उपलब्ध गराउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्