जेठ अन्तिममा जिल्ला जिल्लामा बजेट

नयाँ बजेट ल्याउन एक दिन बाँकी रहँदा कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मै कार्यान्वन हुने गरी जिल्ला जिल्लामा नयाँ बजेट पठाएको छ । खानेपानी, सिँचाइ तथा तटबन्धका नयाँ योजना सम्झौता गर्नका लागि उक्त बजेट पठाइएको हो । चालु आव २०७९/०८० को बजेट विनियोजनबाट आएका योजना बजेट अभावमा कार्यान्वयन गर्न मुस्किल परेको बताउने कर्णाली प्रदेश सरकारले नयाँनयाँ योजना सम्झौता गर्न जिल्लामा पठाएको खुलासा भएको छ ।
असार लाग्न र नयाँ बजेट ल्याउन एक दिनमात्र बाँकी रहँदा नयाँ योजना आएपछि कार्यान्वन कसरी गर्ने भन्ने चिन्ता थपिएको जिल्लास्थित कार्यालय प्रमुखले बताएका छन् । पुराना योजनाकै काम गर्न मुस्किल भएको समयमा नयाँ योजना अन्तिम समयमा पठाउँदा हैरान भएको कार्यालय प्रमुखको भनाइ छ । डिभिजन वन कार्यालय, खानेपानी सिँचाइ तथा ऊर्जा विकास, भौतिक पूर्वाधार तथा सामाजिक विकास कार्यालयमा नयाँ योजना पठाएका छन् ।
कार्यकर्ता पोस्नका लागि नयाँ योजना पठाएको भए पनि कार्यान्वनमा ठूलो समस्या रहेको एक कार्यालय प्रमुखले नाम नबताउने सर्तमा बताए । पुराना योजनाको ६० प्रतिशत काम पूरा नहुँदै नयाँ योजना असारमा सम्झौता गरेर कसरी काम हुन्छ कार्यालय प्रमुखहरूको भनाइ छ । अब वर्षायाम सुरु हुने बित्तिकै बाटाहरू बन्द हुने भएकाले कसरी काम गर्न सकिन्छ कार्यालय प्रमुखहरूको तर्क छ । जहाँजहाँ नेता छन् त्यहीं त्यहीं योजना पठाएको छ । प्रदेशबाट पठाएका नयाँ योजनामा काका, माइती, चुनावमा सहयोग गरेका व्यक्ति आदिलाई सहयोग पुग्ने गरी पठाइएको छ ।
१० जिल्लामा १० वटाका दरले नयाँ योजना पठाएको पाइएको छ । पुराना योजना निर्माणभन्दा पनि नयाँ थुपारेर नाटक सुरु भएको नागरिक अगुवाको भनाइ छ । एकातिर बजेट छैन भन्दैछन्, अर्कोतिर नयाँ योजना बाँडदैछन् यो कुरा बुझ्न सकिएको छैन नागरिक समाजका अगुवा प्रताव न्यौपानेले भने । जिल्लाका कार्यालय प्रमुखलाई मेरो योजना आएको छ, सम्झौता गर्न कहिले आउँ भन्दै कार्यालय प्रमुखलाई फोन आउन सुरु भएको छ । मन्त्रीहरूले समेत उपभोक्ता समितिमा नाम नै तोकेर जसरी नि बनाउन दबाब दिने गरेको खुलासा भएको छ ।