Logo

स्पष्टीकरणपछि सडकको काम सुचारु

ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको उक्त खण्डमा पूर्वाधार विकास कार्यालयले स्पष्टीकरण सोधेपछि काम पुनः सुरु भएको हो ।

कार्यालयले केही समयअगाडि कारबाही स्वरुप स्पष्टीकरण सोधेको थियो । लगत्तै निर्माण कम्पनीले कामलाई अगाडि बढाएको छ । भानु नगरपालिका–१३ चन्द्रावती, पोखरीछाप, ठुल्ढुंगा १० किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणलाई सास्ती हुँदै आएको छ । पछिल्लो पटक थपिएको म्याद असार मसान्तसम्म रहेकामा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको जिल्ला समन्वय समितिका पूर्वसदस्य एवं स्थानीयबासी गलबहादुर गुरुङले जानकारी दिए ।

उनले भने, “अहिले कामले केही गति लिन खोजेको जस्तो देखिन्छ । दुई जेसीभी, दुई एक्साभेटर, दुई टिप्पर, दुई ट्याक्टर प्रयोग गरी काम अगाडि बढेको छ, कामदार पनि केही संख्यामा थपिएको छ ।” असार मसान्तभित्र उक्त खण्डको कामको प्रगति ४० प्रतिशत हुनसके निर्माण कम्पनीको म्याद थप्ने नभए ठेक्का सम्झौता तोड्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।

“निर्माण कम्पनीको लापरबाहीका कारण कामले सोचेअनुरुप गति लिन नसकेपछि बसेको सर्वपक्षीय बैठकले असारसम्मको कामको प्रगति हेरेर म्याद थप गर्ने वा ठेक्का तोड्ने भन्ने निर्णय लिनेछ,” उनले भने । भानुमार्ग–चन्द्रावती–पुलिमराङ कुन्छा कालिमाटी सडकको हालसम्मको प्रगति करिब २० प्रतिशतमात्रै छ । वि.सं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति तीन वर्षमा अत्यन्तै न्यून रहेको हो ।

निर्माण व्यवसायीको लापरबाहीका कारण दुई पटक म्याद थप हुँदासमेत काम नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएको स्थानीयवासी गुरुङले बताए । “१० किलोमिटर सडकखण्ड कालोपत्र गर्ने काममा निर्माण व्यवसायीले लापरबाही गर्दै आएका छन्, पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि काम अगाडि बढ्न सकेन,” उनले भने, “बाटोको काम नहुँदा सर्वसाधारणले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती बेहोर्नुपरेको छ ।”

पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको १० किमि खण्ड कालोपत्रे, नाला निर्माण तथा ग्याविन जाली भर्नेलगायतका कामका लागि काठमाडौस्थित शङ्करमाली कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । उक्त मोटरमार्ग कालोपत्रेका लागि पूर्वाधार कार्यालयले २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई दुई करोड ६८ लाख निकासा गरिसकेको छ ।

समयमा काम सम्पन्न नभएपछि वि.सं २०८० असार १४ गतेसम्म म्याद थप भएको कार्यालय प्रमुख दिनेश घिमिरेले जानकारी दिए । १० किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्ने लगायतका काम वि.सं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्न वि.सं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०४९ सालमा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ ।

वर्षात्का बेला सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडक कालोपत्रे गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयबासीले वर्षात्मा सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायीको लापरबाहीका कारण वर्षात्मा हिलो र हिउँदमा धुलोले स्थानीयबासी मर्कामा पर्दै आएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्ण अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्