सुदूरपश्चिमका मुख्यमन्त्रीको सय दिन, सत्ता गठबन्धनको समिकरण मिलाउनमै बित्यो

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता समिकरण मिलाउनमै एक सय दिन बिताएका छन् । प्रदेश सभाको दोस्रो निर्वाचनपछि ढुलमुलमा परेको सत्ता समिकरण मिलाउन मुख्यमन्त्री शाहलाई निकै सकस भएको थियो । उनले एक सय दिनसम्म प्रदेशको विकास निर्माण र प्रदेशबासीलाई सेवा दिनुपर्ने समयमा सत्ता समिकरण मिलाउन खर्चिए पनि ३० पानाको प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् ।
उनले प्रतिवेदनमा भौतिक पूर्वाधार विकासदेखि लिएर स्वास्थ्य, शिक्षा र सुशासनमा सुधार ल्याएको दावी गरेका छन् । प्रतिवेदनमा अनुशासित बजेट तर्जुमा प्रक्रियाको शुरुवातसमेत गरेको दावी गरेका छन् । मुख्यमन्त्री शाहको एक सय दिने प्रतिवेदनमा २२ किलोमिटर सडक कालोपत्रे, ७५ किलोमिटर सडक ग्राभेल गरेको उल्लेख छ ।
३६ वटा खोपानी आयोजना सम्पन्न गरी ४ हजार ५३८ जनालाई लाभान्वित गरेको, ३ वटा सडक पुल र एउटा झोलुंगे पुल सम्पन्न गरेको, एक हजार २२६ हेक्टर जमीनमा थप सिंचाई सुविधा पुर्याएको १५० लाख किलो खोटो संकलन गरेको ५ लाख किलो जडिबुटी संकलन गरेको र ४५ हजार बिरुवा रोपेको कुरालाई मुख्यमन्त्री शाहले एक सय दिनको प्रमुख उपलब्धीको रुपमा दावी गरेका छन् ।
यसैगरी, सदाचार नीति र भ्रष्टाचार नियन्त्रण कार्ययोजना तर्जुमा, मागमा आधारित अनुशासित बजेट तर्जुमा प्रक्रिया शुरुवात, संघ र स्थानीय तहसँग समन्वय एवम विकास साझोदारसँग परामर्श, शिक्षा र स्वास्थ्य क्षेत्र सुधार योजना तर्जुमालगायतका विषयलाई मुख्यमन्त्री शाहले एक सय दिनेको उपलब्धी मानेका छन् । तर उनले दावी गरेका उपलब्धी पहिलो कार्यकालको प्रदेश सरकारले शुरुवात गरेको कामको नतिजा हो ।
मुख्यमन्त्री शाहले यो एक सय दिनमा प्रदेशमा भन्दा काठमाडौंमा बढी समय बिताएका थिए । उनले मन्त्रिपरिषद् विस्तारका लागि पटक पटक काठमाडौं गएर सत्ता गठबन्धनका शीर्ष नेतालाई भेटेर सरकारलाई पूर्णता दिने विषयमा बारम्बार छलफल गरिरहे । उनको सरकारलाई पूर्णता दिने प्रयास १०१ औं दिनसम्म पनि सफल हुन सकेको छैन ।
सय दिनमा प्रदेश सभाको मात्रै एक बैठक
मागमा आधारिक अनुशासित बजेट तर्जुमा प्रक्रिया शुरुवात गरेको दावी गरेका मुख्यमन्त्री शाहले बजेट अधिवेशन बोलाएर पूर्व बजेट छलफल गर्ने बेलासम्म प्रदेश सभाको हिउँदे अधिवेशन जारी राखेका छन् । तर उनको एक सय दिनको कार्यकालमा प्रदेश सभाको बैठक एक पटक मात्रै बसेको छ । मुख्यमन्त्री शाहले एक सय दिनमा प्रदेश सभालाई एउटा पनि विजनेश दिन सकेनन् । उनको कार्यकालमा २०७९ फागुन २१ गते बसेको प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिएका थिए ।
मुख्यमन्त्री शाह माघ २६ गते प्रदेश प्रमुख देवराज पाठकद्वारा नियुक्त भएका थिए । त्यसअघि प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका राजेन्द्रसिंह रावलले माघ २६ गतेसम्म विश्वासको मत प्राप्त गर्न नसकेपछि शाहले ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्ति पाएका थिए । यस कार्यकालमा प्रदेश सभाको प्रथम अधिवेशन पाँच महिनासम्म निरन्तर जारी रहेपनि जम्मा बैठक ८ वटा बैठक बसेको छ ।
देउवा पत्नीको छायाँमा मुख्यमन्त्री शाह
गृह प्रदेशमा मुख्यमन्त्रीको ओहदा पार्टीहरुको केन्द्रीय सदस्य र प्रतिनिधि सभाका सांसद् भन्दा उच्च हुन्छ तर मुख्यमन्त्री शाहको ओहदा नेपाली कांग्रेस नेतृ आरजु राणाको छायाँमा रह्यो । मुख्यमन्त्री शाहलाई सरकारी र पार्टीगत कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य राणा भन्दा पछाडि पारियो । वैशाखको पहिलो साता सुदूरपश्चिम विश्वविद्यालयले प्रदेश सरकार र विभिन्न संघसंस्थासँगको समन्वयमा आयोजना गरेको मानसखण्ड सम्मेलनमा मुख्यमन्त्री शाहलाई साधारण अतिथी बनाइयो भने राणालाई प्रमुख अतिथी ।
सो कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालाई पनि विशिष्ट अतिथि बनाइयो । तर विश्वविद्यालयले सुदूरपश्चिमकै मुख्यमन्त्रीलाई साधारण अतिथिमै राख्यो । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम अनुसार मुख्यमन्त्री ८औं स्थानमा हुँदा प्रतिनिधिसभा सदस्यलाई १०औं स्थानमा राखिएको छ ।
उद्घाटनमा हटारो
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु सम्पन्न नभएका भवन उद्घाटन गर्नमै व्यस्त बने । वैशाख ११ गते मुख्यमन्त्री कमलबहादुर शाहले बुढीगंगा वडा नम्बर ७ मा निमार्णाधिन अवस्थामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरे । सो भवन विगत ४ वर्षदेखि सम्पन्न हुन सकेको छैन ।
बुढीगंगा ७ मा सञ्चालनमै नआएको वर्षौदेखि निर्माण पूरा नभएको र व्यक्तिको जग्गामा निर्माण गरिएकाले विवादित अवस्थामा रहेको भवनको मुख्यमन्त्री शाहले उद्घाटन गरेको नगरप्रमुख रामबहादुर बाँनियाले बताए । उनले ठेकेदारलाई भवन छिटो सम्पन्न गर्न दबाब दिएपनि काम नभएको बताए । एकाएक मुख्यमन्त्रीलाई बोलाएर भवनको उद्घाटन गरिएपनि पालिकालाई हस्तान्तरण गरिएको छैन ।
बजेट खर्च सुस्त
मुख्यमन्त्री शाहले एक सय दिन सेवा प्रणाली सुधारमा केन्द्रित रहेको र विभिन्न योजनाहरु सम्पन्न गरी नागरिकलाई सेवा सुविधा थप भएको दावी गरेपनि प्रदेशको बजेट खर्च प्रणालीमा एकदमै सुस्त भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको वैशाखसम्म ३६ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ विनियोजित कुल बजेटको ४३.८७ र पुँजीगततर्फ ३२.८९ प्रतिशत बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।