Logo

बीमा कम्पनीलाई लाइसेन्स दिने सरकारको कदम ठिक भएनः अर्थमन्त्री

फाइल तस्बिर ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने सरकारको कदम ठिक नभएको बताएका छन् । सोमबार बीमा कम्पनीको ५५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने सरकारको कदम गलत भएको बताए ।

उनले प्राधिकरणको अगुवाईमा बीमा कम्पनीहरु मर्जरमा जानु आवश्यक भएको उल्लेख गरे । उनले बीमा क्षेत्र प्रतिस्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको बताए । अर्थमन्त्री महतले धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गरिएको भन्दै अब कोर्ष करेक्शन जरुरी रहेको बताए । उनले बीमामा धेरै क्षेत्रलाई समेट्न जरुरी रहेको बताउँदै, नियामक निकायले व्यवसायिक हैसियत देखाउन जरुरी रहेको बताए ।

उनले देशको आर्थिक अवस्थालाई मध्यनजर गरी बीमा कम्पनीहरु दर्ता गर्न जरुरी रहेको बताए । अर्थमन्त्री डा. महतले सरकारले बीमालाई उच्च प्राथमिकता दिएको र स्वास्थ्य बीमाको समानन्तर चलिरहेको उल्लेख गर्दै यसलाई कसरी एउटै छाताभित्र ल्याउने भन्ने चुनौती रहेको बताए । उनले सामाजिक सुरक्षाका दायित्वलाई कसरी वहन गर्ने भन्नेबारेमा सरकारले बीमाबाट नै सामाजिक सुरक्षा कसरी जोड्ने भन्नेबारेमा खोजिको विषयवस्तु रहेको बताए ।

उनले सम्पूर्ण वित्तीय क्षेत्रमा सुधारको आवश्यकता रहेको उल्लेख गरे । अर्थमन्त्री डा. महतले राजनीतिक स्तरबाट नियामककारी निकायहरुमा हस्तक्षेप गर्ने प्रवृत्तिका कारण पनि कतिपय व्यवसायिकतामा ह्रास आइरहेको उल्लेख गरे । उनले अर्थ मन्त्रालय र मन्त्रालयसँग जोडिएका संरचनाहरु हस्तक्षेपकारी भूमिकाबाट चल्न नसके उल्लेख्य प्रगति हुन नसक्ने बताए । सुरक्षाको जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गर्न बीमा कम्पनीहरुले समस्यामुक्त भइ काम गर्न जरुरी रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्