स्थानीय तहको बेवास्ताले नमुना विद्यालय अलपत्र

बारा – नेपालमा आधुनिक विद्यालयको मोडेल तयार पार्ने भनेर ‘नमुना विद्यालय व्यवस्थापन निर्देशिका २०७४’मा छनोटमा परेको बाराको सिमरास्थित एक विद्यालयको रकम सरकारले दिँदासमेत स्थानीय तहले समन्वय गर्न नसक्दा फ्रिज भएको छ । सरकारले घोषणा गरेको नमुना विद्यालय निर्माणमा सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई ५ वर्षे योजना अनुसार मन्त्रालयले पठाएको पहिलो पटकको ९८ लाख जीतपुर सिमरा उपमहानगरपालिकाले फ्रिज गराएको हो ।
स्थानीय सरकार आइसकेपछि शिक्षा समन्वय इकाईको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने नीतिगत व्यवस्था मिलाइयो । सोही अनुसार नमुना विद्यालय निर्माणका लागि मन्त्रालयबाट निकासा भएको पहिलो किस्ताको रकम स्थानीय तह हुँदै विद्यालयको खाता आउने व्यवस्था छ । तर शिक्षाका कर्मचारी स्थानीय तहले समयमा पदस्थापन गर्न सकेन । फलस्वरुप नमुना विद्यालय निर्माणका लागि आएको रकमलाई विद्यालयले समयमै निकास पाएन र खर्च गर्न सकेन ।
जीतपुर सिमरा उपमहानगरपालिकाको खातामा यस वर्षका लागि आएको रकम १ करोड ५० लाख मध्ये प्रशासनिक खर्च ५२ लाख मात्र विद्यालयले खर्चिने भएको छ । शिक्षा मन्त्रालयको ५ वर्षे योजना अनुसार नमुना विद्यालय निर्माणको लागि यस विद्यालयलाई यो वर्ष १ करोड ५० लाख आएको थियो । प्रशासनिक खर्च बाहेक इ लाइब्रेरी लगाएतका भौतिक निर्माणका लागि आएको बाँकी रकम ९८ लाख यस वर्ष फ्रिज भएको छ ।
नमुना विद्यालय निर्मााणका लागि आएको रकम नगरपालिकाले विभिन्न बहानामा नियतवश फ्रिज गरिदिएको विद्यालयको आरोप छ । ६ महिना अघि नगरपालिका जाँदा नगरपालिकाले शिक्षा हेर्ने सम्बन्धित अधिकृत नआएकाले अहिले प्रकृया अगाडि बढ्न नसकेको भन्दै फर्काएको विद्यालयका लेखा अधिकृत उद्धव अधिकारीको भनाइ छ ।
“हामी कानुनी अन्योलताले अल्झियौँ, नगरपालिकामा सम्बन्धित शिक्षा हेर्ने अधिकृत नहुँदा काम अगाडि बढेन,” उनले भने, “अहिले नगरपालिकाले समयमा काम सम्पन्न गर्न नसकेको भन्दै रकम फिर्ता गयो । यो वर्ष हामीलाई पनि महसुस भयो कि, स्थानीय तहको समस्याको असर विद्यालयले भोग्यो, तर कतिपय विद्यालयमा पैसा पठाएर खाता रोक्का गरिएको छ ।”
शिक्षा मन्त्रालय विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका निर्देशक गेहनाथ गौतमले, भने “कतिपय विद्यालयमा फ्रिज हुने अवस्था आयो, त्यहाँका जनप्रतिनिधिको भूमिका भएन ।” उनले कतिपय विद्यालयमा मौखिक रुपमै पनि सहजीकरण गरी त्यहाँका अधिकृत र नगर प्रमुखलाई आग्रह गरेरै समस्या समाधान गरिएको बताए ।
नगरापालिकाका मेयर डा. कृष्ण पौडेलले फ्रिज भएको रकम फिर्ता ल्याउने प्रयास गरिने बताए । नगरपालिकामा पनि समयमै शिक्षा हेर्ने कर्मचारी पदस्थापन हुन नसकेका कारण यो समस्या आएको स्विकार गर्दै विद्यालयले नमुना कार्यक्रमका अन्य प्रकृया अगाडि बढाउन समेत आग्रह गरेका छन् ।
नगरापालिकाका मेयर डा. कृष्ण पौडेलले भने, “विद्यालयले पनि समयमै नमुना रकमको कार्यक्रम अगाडि बढाउन नसक्नु कमजोरी रह्यो, नगरकार्यपालिकामा पनि बेलैमा हामीले सम्बन्धित फाँटका कर्मचारी व्यवस्थान गर्न सकेनौँ । आत्तिनुपर्ने अवस्था छैन, यो पाँच वर्षे कार्यक्रम हो, यो वर्षको फ्रिज भएको रकम फिर्ता ल्याउन नगरपालिकाले पहल गर्छ ।”
विद्यालयमा नमुनाका लागि आएको बजेट समेत नगरपालिकामा निकासा हुनै लाग्दा विभिन्न षड्यन्त्र गरिएको बताउँदै विद्यालयका अध्यक्ष राजेन्द्र गौतमले नमुना विद्यालय बन्नबाट रोक्न कुनै तत्वले पनि नसक्ने बताए । विद्यालयमा १ हजार ८ सय विद्यार्थी अध्ययनरत छन् ।
सिसि क्यामेराको निगरानी
बाराको सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अब सिसि क्यामेराको निगरानीमा रहने भएको छ । विद्यार्थीको पठनपाठनलाई थप प्रभावकारी बनाउन र नमुना विद्यालय निर्माणको कार्यक्रम अन्तर्गत सिसि क्यामेर जडान गरिएको हो ।
अब सिसि क्यामेराबाट विद्यार्थीको पठनपाठन र शिक्षक शिक्षण सुधार कार्यक्रमलाई समेत अगाडि बढाइने र विद्यालयलाई शैक्षिक केन्द्रको उत्कृष्ट गन्तव्यका रुपमा विकास गरिने लक्ष्य रहेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र गौतमले बताए ।
सिसि क्यामेरा जडानसँगै विद्यालयको बाल कक्षाका लागि ल्यापटप र प्रोजेक्टर समेत खरिद गरिएको भन्दै गौतमले बालबालिकालाई अब डिजिटल प्रणालीबाट पठनपाठन शुरु गरिने जानकारी दिए । यसैगरी अन्य विभिन्न योजनाहरू अगाडि बढाई विद्यायललाई नमुना माविका रुपमा विकास गर्न सबै तह लागिपरेको विद्यालयका प्रध्यानाध्यापक शंकर कुमार आचार्यले जानकारी दिए ।