Logo

‘निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको नेतृत्व गर्नसक्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको सहयोग बिना राज्यले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्न नसक्ने बताएका छन् ।

सोमबार चितवनमा मौलाकाली केवलकार समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्नेकुरा राज्यले मात्रै पूरा गर्न नसक्ने बताएका हुन् । उनले राज्यले निजी क्षेत्रसँग सहकार्य नगरीकन देशले आर्थिक विकासमा गति लिन नसक्ने बताए । उनले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको नेतृत्व लिनसक्ने भन्दै राज्यले त्यसको निम्ति वातावरण बनाइदिनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले राजनीतिमा सकारात्मक भन्दा नकारात्मक कुरा गर्ने अराजक प्रवृत्ति देखापरेको बताए । उनले राजनीतिमा आत्मविश्वास, प्रेरणा र आशा जघाउनेभन्दा सबैतिर अध्यारो देखाउने प्रवृत्ति बढेको भन्दै यो विषय गम्भिर र घातक भएको बताए । प्रधानमन्त्री दाहालले राजस्व बढ्दै गएको र विदेशी मुद्राको सञ्चिति पनि उत्साहप्रद रहेको उल्लेख गर्दै बैंकको ब्याजदर पनि घटाउन जोडबल गरिरहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद डा. शशांक कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गरे । उनले देशको शक्ति हाइड्रो, पर्यटन र कृषि क्षेत्र रहेको उल्लेख गर्दै कृषि क्षेत्रमा बजेट बढाउनु आवश्यक रहेको बताए । उनले युवाहरु विदेश पलायन हुँदा खेतीयोग्य जमिन बाँझो बसेकाले देश मरुभूमिमा परिणत हुन लागेको बताए । उनले बर्दघाट पूर्व सुस्तालाई नवलपुर जिल्ला भनेर नामाकरण गर्न पनि माग गरे । त्यस्तै सो क्षेत्रमा वन्यजन्तुले निम्त्याउने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्