निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्छ : ढकाल

मौलाकाली केवलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्ने बताएका छन् । सोमबार मौलाकाली केवलकार उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न सरकारले साझेदारीको नीति अपनाउन आवश्यक रहेको बताएका हुन् ।
उनले जति छिटो निजी क्षेत्रसँगको सहजीकरणको नीति लियो त्यति छिटो नै देशको विकास हुने दाबी गरे । उनले नेपालमा संस्कृति, कला, प्राकृतिक सौन्दर्य र अलौकिक भूगोलको ज्ञानका लागि पर्यटक आउने भन्दै पर्यटक पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताए । उनले मुलुकमा पर्यटन पूर्वाधारको कमी भएको बताए ।
अध्यक्ष ढकालले अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम भएको भन्दै प्रतिदिन घट्दो अवस्थामा रहेको पनि बताए । उनले विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक रहेको भन्दै पर्यटकलाई आकर्षित गर्ने र उनीहरूको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्न आवश्यक रहेको बताए ।
उनले नेपालमा प्रकृतिको अपार वरदान रहेको भन्दै पर्यटन बढाउन सक्ने असंख्य सम्भावना बताए । उनले सरकार र निजी क्षेत्रको भिजन र इच्छाशक्ति मिसाए र प्रविधि, पुँजी जोड्नसके पर्यटन बिस्तार गर्न समय नलाग्ने बताए । उनले निजी क्षेत्रले विकास र परिवर्तनको मिराकल ल्याउन सक्षम रहेको भन्दै पटकपटक यसको पुष्टि गर्दै आएको बताए । उनले सरकारले नीतिमा निजी क्षेत्रसँगको साझेदारीको कुरा गरेपनि सहजीकरणका कुरा कागजी झमेलाले कम नभएको बताए ।
उनले मौलाकाली केबलकार बनाउन पनि कागजी प्रक्रिया मिलाउन वर्षाैं लागेको भन्दै निर्माणको काम १३ महिना नै सकेर संरचना तयार पारिएको बताए । उनले सरकारले वातावरण बनाए निजी क्षेत्रले ठूलो लगानी गर्नसक्ने बताए । उनले निजी क्षेत्रले ठूलो लगानी गरी विकास, रोगजारी र आर्थिक वृद्धिमा सरकारलाई योगदान गर्नसक्ने बताए ।