सहमतिमा टिकट मूल्यः श्रम मन्त्रालय

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको भाडा महँगो भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले श्रम मन्त्रालयअन्तर्गत ईपीएस शाखालाई स्पष्टीकरण सोधे पछि दुई मन्त्रालयबीच विवाद सुरु भएको छ ।
मन्त्री किरातीले कोरियाको महँगो टिकटबारे श्रम मन्त्रालयमार्फत ईपीएसलाई तीन दिनभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोधेका थिए । गत माघ अघिसम्म कोरिया जाने श्रमिकले हवाई टिकटका लागि १२ सय अमेरिकी डलर तिर्नुपर्ने बाध्यता थियो । श्रम मन्त्रालयको पहलमा माघबाट हवाई टिकटको मूल्य ८ सय ९५ डलर लिने गरी कोरियन एयरसँग सम्झौैता गरेको मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए ।
कोभिड महामारीका कारण नेपाली कामदार कोरिया लैजाने प्रक्रिया रोकिएपछि सरकारले श्रमिकको मागअनुसार सिधा उडानमार्पmत कोरिया जान कोरियन एयरसँग सम्झौता गरेको थियो । “कोभिडका कारण कोरिया सरकारले नेपालबाट सिधा उडानबाट मात्र ईपीएसका कामदार लिने शर्त राखेकोले सोहीबमोजिम कार्यविधि संशोधन गरिएको थियो,” पोखरेलले कारोबारसँग भने, “२०७८ कात्तिकदेखि कामदारले सम्बन्धित एयरलाइन्स वा एजेन्सीबाट हवाई टिकट लिई जाने गरेका थिए ।”
यसबीचमा भाडा महँगो पर्न गएको गुनासो आएपछि श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र ईपीएस कोरिया शाखाको पहलमा भाडा घटाउने प्रक्रिया अगाडि बढाई बोलपत्र आह्वान गरिएको थियो । नेपालबाट दक्षिण कोरियाका लागि सिधा उडान गर्ने कोरियन एयरलाइन्सको आधिकारिक एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्ससँग ८ सय ९५ अमेरिकी डलरमा नबढ्ने गरी २०७९ माघ ३ देखि लागु हुने गरी १ वर्षको सम्झौता भएको थियो ।
साथै ईपीएस प्रणालीमार्फत कोरिया गएका कामदारको कुनै कारणले मृत्यु भएमा नेपाली दूतावासको समन्वय र सहजीकरणमा कोरियन एयरलाइन्सबाट शव ढुवानी गरी नेपाल ल्याउँदा लाग्ने शुल्कमा २० प्रतिशत छुट दिने गरी सहमति भएको थियो । यही बेला मन्त्री किरातीले माघमा घटाएको भाडा अझ घटाउन सकिने सम्भावनाबारे स्पष्टीकरण सोधेका थिए । चालु आर्थिक वर्षको चैतसम्म ईपीएसअन्तर्गत १३ हजार ८७५ युवा कोरिया प्रवेश गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।