डिजेलको भाउ घटेपनि गाडी भाडा नघट्ने

नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाए पनि सार्वजनिक यातायातको भाडा भने नघट्ने भएको छ । सरकारले २०७९ असार २७ बाट सार्वजनिक सवारीको भाडा वृद्धि गरेर भाडा समायोजन गरेको थियो । सार्वजनिक यातायातको भाडा समायोजन आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक पद्धतिअनुसार गर्ने कानुनी व्यवस्था यातायात विभागले गरेको छ ।
विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार सरकारले पछिल्लो समय भाडा समायोजन गर्दा डिजेलको प्रतिलिटर मूल्य १७२ रुपैयाँ थियो भने हाल १६५ रुपैयाँ प्रतिलिटर छ । निगमले डिजेलको मूल्य १७५ रुपैयाँबाट घटाएर १६५ रुपैयाँ कायम गरेको आधारमा १० रुपैयाँ घटेको भए पनि पछिल्लो समय मूल्य समायोजन गरेको १७२ रुपैयाँ आधार बिन्दुको आधारमा ७ रुपैयाँमात्र घटेको हुदाँ वैज्ञानिक भाडादर अनुसार ५ प्रतिशत नपुगेकाले भाडा घटाउन नसकिएको सूचना अधिकारी पनेरुले प्रष्ट पारेका छन् ।
“हाल सिधा हेर्दा डिजेलको मूल्य १० रुपैयाँले घटेको भए पनि वैज्ञानिक भाडादर अनुसार आधार मान्दा भाडा समायोजन मूल्यको तुलनामा ५ प्रतिशत नपुगेकोले भाडा नघटेको हो,” पनेरुले भने, “पछिल्लो समय भाडा समायोजन गर्दा मूल्य १७२ रुपैयाँ थियो, हाल १६५ रुपैयाँ भएको छ । मूल्य घटेको ७ रुपैयाँको आधारमा हेर्दा ४.०६ प्रतिशत मात्र हुन आउँछ ।”
वैज्ञानिक भाडादरको ५ प्रतिशत तलमाथि हुँदामात्र भाडा समायोजन हुने हुँदा भाडा नघटेको विभागको भनाइ छ । यदि अब सरकारले २ रुपैयाँ भाडा घटाएमा पछिल्लो समय भाडा समायोजन गरेको आधारमा ९ रुपैयाँ पुग्छ । वैज्ञानिक भाडादरको आधारमा ५.२३ प्रतिशत नाघ्ने हुँदा भाडा घट्ने बाटो खुल्ने छ तर यसको लागि डिजेल करिब ९ रुपैयाँ सस्तो हुनु पर्ने विभागको भनाइ छ ।
सरकारले थप २ रुपैयाँ डिजेलको मूल्य घटाएको खण्डमा मात्र आम उपभाक्ताले डिजेलको मूल्य घट्दाको लाभ प्राप्त गर्नेछन् । हालकै अवस्थामा भने डिजेलको मूल्य घट्दाको लाभ सार्वजनिक यातायात व्यवसायीले मात्र लिनेछन् । विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायात भाडा बढ्ने वा घट्ने व्यवस्था २०७८ चैत १७ देखि कार्यान्वयन गरेको थियो ।
सरकारले हरेक वर्षको अन्तिम महिना (चैत)मा इन्धन बाहके पार्टपुर्जा लगायतका १३ वटा सूचकको आधारमा भाडा समायोन गर्ने व्यवस्था वैज्ञानिक (स्वचालित) भाडादर प्रणाली लागु गरेको थियो । सरकारले भाडा समायोजनको ३५ प्रतिशत आधार डिजेल र पेट्रोललाई तोेकेको छ भने अन्य ६५ प्रतिशतलाई आधार मानेर भाडा समायोजन गरिने गरिएको छ । तर पछिल्लो भाडा समायोजनलाई हेर्दा भने मूलतः इन्धनको मूल्य घटबढको आधारमा भाडा समायोजन हुँदै आएको छ ।
वैज्ञानिक भाडा समायोजनले भाडादर निर्धारण गर्दा इन्धन (डिजेल र पेट्रोल) को अंश ३५ प्रतिशत र अन्य अवयवको अंश ६५ प्रतिशत मानेको छ भने बाँकी ६५ प्रतिशत भने सवारीको पार्टपूर्जा, कर, वार्षिक बिमा, सवारीसाधनमा कामदारको तलब सुविधा, मूल्य ह्रास (डिप्रिसिएसन), मर्मत ताथ सम्भार खर्च, टायर, लुब्रिकेन्ट, सवारी खाली गुडेको मूल्यांकन, ओभरहेड ब्याट्री, मार्जिन (बुक भ्यालुको १० प्रतिशत), सवारी खरिद कर्जाको ब्याजदर लगायतका १३ सूचकका आधारमा मूल्य समायोजन तय हुने छ । विभागले अन्तर प्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्न सक्ने कानुनी व्यवस्था छ ।