विगतका वर्षमा वैदेशिक रोजगारीमा पुनः श्रमस्वीकृति लिएर जाने श्रमिक सीप परीक्षण नगरी जाने गरेका कारण तथ्यांकमा अदक्ष श्रमिक धेरै गएको देखिएको थियो ।
सीप सिकेर विदेश जाने प्रवृत्ति बढ्यो

कुनै बेला श्रम गन्तव्यका लागि अदक्ष श्रमिक आपूर्ति गर्ने देशको रुपमा चिनिएको नेपालले पछिल्लो समय दक्ष श्रमिक पठाउन थालेको छ । विगत वर्षको तुलनामा सीप सिकेर विदेश जाने नेपाली युवाको संख्या बढेको तथ्यांकले देखाएको हो । विगतका वर्षमा वैदेशिक रोजगारीमा पुनः श्रमस्वीकृति लिएर जाने श्रमिक सीप परीक्षण नगरी जाने गरेका कारण तथ्यांकमा अदक्ष श्रमिक धेरै गएको देखिएको थियो ।
सीप भएका पनि त्यसको परीक्षण नगरी वैदेशिक रोजगारीमा जाने गरेका कारण ४८ प्रतिशत श्रमिक अदक्ष रहेको सरकारी तथ्यांकले देखाउने गरेको थियो । यसमध्ये पनि महिला श्रमिकको हिस्सा अझ कम रहेको देखिन्छ । सरकारले २०७६ भदौबाट तोकिएको क्षेत्रअनुसार १ महिनाको सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाउने जनाएको थियो ।
अघिल्लो आर्थिक वर्षमा कोरोना भाइरसका कारण विदेशिने श्रमिकको संख्यामा गिरावट आएको थियो । त्यसबेला पुनः श्रमस्वीकृति लिनेको संख्या बढी भए पनि अदक्ष श्रमिकको रुपमा जाने संख्या उच्च हुनुले विदेशी भूमिमा सिकेको सीपलाई मान्यता नदिई पुनः अदक्ष हैसियतमा गइरहेको देखिन्छ । विगतमा अदक्ष हैसियतमा विदेश जाँदा अन्तर्राष्ट्रिय बजारमा नेपाली श्रमिकको शोषण भइरहेको तथ्य स्थापित भएको विज्ञको भनाइ छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन दुई वर्षअघि नै सीप विकास तालिमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै आएको जनाएका छन् । रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने सबै युवा सीपयुक्त प्रमाणपत्रको आधारमा जानुपर्ने व्यवस्था छ ।
वैदेशिक रोजगार ऐनमा वैदशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा तालिम लिनुपर्ने व्यवस्था रहेको छ । गत वर्षसम्म वैदेशिक रोजगारीमा जाने अधिकांश अदक्ष श्रमिक रहेको देखिन्छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७८÷०७९ को तुलनमामा चालु आवमा श्रमस्वीकृति लिएका मध्ये दक्ष श्रमिकको संख्या बढेको देखिएको छ ।
गत वर्षको फागुन महिनाको तुलनामा चालु आवको सोही अवधिमा अदक्ष श्रमिक कम र दक्ष श्रमिक बढी छन् । गत वर्ष सीपयुक्त श्रमिकको संख्या २३ हजारमात्र थियो । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवको फागुनमा ४२ हजार दक्ष श्रमिकले श्रमस्वीकृति लिएको देखिन्छ । जसमा ७५ हजारभन्दा बढीले लक्षित देशबाट कार्य भिसा प्राप्त गरेका भए पनि यात्रा प्रतिबन्ध र कोभिड–१९ महामारीसँग सम्बन्धित अन्य विभिन्न प्रतिबन्धका कारण नेपालमै अलपत्र परेका थिए ।
वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सीप विकास तालिम लिनुपर्ने जनाउँदै यसका लागि प्राविधिक र भौतिक पूर्वाधारको काम भइरहेको जनाएको छ । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिई विदेश जाने प्रवृत्ति देखिएपछि दुई वर्षअघि अनलाइन प्रणालीमार्फत तालिमको ट्रयाकिङ समेत गर्ने गरी तालिमलाई बाध्यात्मक बनाउने निर्णय भएको थियो । तर हाल वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा तालिम दिने संस्थाको अनुगमन गर्ने गरे पनि यसको कार्यान्वयन भने हुन सकेको छैन ।
वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले व्यवसायीले कामदार भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको जनाए पनि यसको कार्यन्यन भने हुन सकेको छैन । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले विदेश जाने तयारीमा रहेका १० हजार र विदेशबाट फर्किएका ३ हजार युवालाई लक्षित गरी पाइलट प्रोजेक्टको रुपमा कार्यक्रम सञ्चालन गरिएको बताए ।
विदेशबाट फर्किएका ३ हजार युवाका लागि १५ करोड र जाने तयारीमा रहेका युवाका लागि २० करोड विनियोजन गरिएको छ । तालिमसहितको एकीकरण कार्यक्रमका लागि १५६ स्थानीय तहलाई कार्यक्रमको प्रस्ताव पठाइएको थियो । बोर्डले पुनः एकीकरण कार्यक्रमले विदेशबाट फर्केका श्रमिकको लागि मुख्य रुपमा वित्तीय साक्षरता, मनोपरामर्श र उद्यमशिलता, आर्थिक सशक्तीकरण र सीप तालिम कार्यक्रम सञ्चालन गरिने जनाएको छ । यसैगरी विदेश जाने तयारीमा रहेका १० हजारलाई तालिम दिने कार्यक्रम रहेको छ ।