देशको गन्तव्य कता ? «

देशको गन्तव्य कता ?

लोकतन्त्रको आगमनसँगै हाम्रो देश कमाएर खाने होइन, गुमाएर खाने भएको छ । भाषा, संस्कृति मात्रै होइन भूमि र मानिस पनि गुमाएको छ देशले । व्यापारघाटा तीव्र भएपछि केही विलासी र धेरै महँगा सामानमा आयात प्रतिबन्ध लगाइएको थियो, तर विगत आठ महिनामा भएको यो व्यवस्थाले भन्सार राजस्व मात्रै घटाएन, तीव्र महँगी पनि बढायो । निजी क्षेत्रहरूले यो प्रणाली हटाउन भगीरथ प्रयत्न गरे, हट्यो पनि । चुनावमा हारेको र नयाँ संसद् आइसकेको बेला कामचलाउ सरकारले यस्तो प्रतिबन्धको फुकुवा गरेकोमा केहीले त बोले पनि, तर के गर्नु ?

यही सरकारले नै गरेको हो, पहिलेको प्रतिबन्ध पनि । देशको सिमाना चुनावमा मात्र मिचिएको होइन, चुच्चे नक्साको इतिहास लामो भइसकेको छ । कसैले मुख जुधाएर कुरा गर्न सक्तैन । देश चुनावमा होमिएको बेला भनियो, रुपन्देहीको दशगजामा पर्खाल लगाउँदा नेता होमिए पनि चुनावमा, तर स्थायी सरकार प्रशासनयन्त्र जिउँदै थियो । महाकालीमा नदीधार नै परिवर्तन गर्ने गरी तटबन्ध निर्माण हुँदा कूटनीतिक नोट बल्ल पठाइन्छ, त्यस्तो नोट कतिवटा यसअघि गयो, अत्तोपत्तो नै भएन ।

लोकतन्त्र धान्न चुनाव लाग्दा २ सयवटा सवारी साधन आएको मात्रै होइन, हालको लोकतन्त्र पनि दक्षिण–पश्चिमतिरैबाट आएको हो । लोकतन्त्रदेखि नै देशमा शासन स्थिर छैन, यसपल्टको चुनावले परिणाम देखाइसकेको छ, अब पनि पहिलेझैं बिनाआशीर्वाद सिंहदरबार या बालुवाटार छिर्न सकिने अवस्था छैन । एकमना, दुईमना, तीनमना सरकार देशमा देखियो । प्रतिपक्षी नै नहोला जस्तो भइसकेको छ अहिले त । कडा प्रतिपक्षी हुँदा कुनै बेला संसद्मै ढलेका थिए, प्रजातन्त्रका विरासत भनिएका प्रधानमन्त्री गिरिजा कोइराला ।

लोकतन्त्र आगमनसँगै देशमा उब्जनी केवल युवाशक्ति खाडीमा गएर मात्रै कम भएको होइन रहेछ । दिशाहीन नीतिका कारण विश्व माटो दिवस डिसेम्बर ५ मा मनाइरहँदा कृषि प्राविधिकहरूले ओकलेको तथ्य पनि हेरियो कि स्वदेशको माटोको उर्वराशक्ति नै रहेनछ । मौसमअनुसारको बाली प्रणाली नभएको, अधिक रासायनिक मल हालिएको, बेसिजनका बालीनाली, धेरै खाने छिटो मोटाउने नाममा हामीले माटोको शक्ति पनि गुमाइसकेका रहेछौँ ।

देशको संस्कृति, धर्म, एकता, राष्ट्रियताको शक्ति त छिन्नभिन्न भएकै छ । दुईतिहाइको सरकार नपच्दा आफ्नै धोती फुस्केको यथार्थ सायद नेताहरूले पछुतो गर्दै होलान् । कतै स्वतन्त्रहरूले गालैमा चड्कन हानेका छन् भने कसैले आफ्नै घर जलाएर धुरी चढ्ने मनसाय राख्दा राष्ट्रिय दल पनि बन्न नसकी निन्याउरो मुख लाउँदै छन् । कसैले एकाध सिट ल्याउँदैमा विजयी बनेको भन्न मिल्दैन, बरु विजयी त सागर ढकालहरू हुन् जसले कमसे कम हिम्मत गरेको छ, घरैभित्र पसेर ।

संविधान बन्नुअघि देशका प्रतिनिधि पात्रहरूले देशाटन गर्दै लिएका जनमतको पोका कता छ, सायद धूलोले खायो होला, भवन आफ्नो नभएकाले भण्डारणको क्षमता नभएको हुन सक्छ । अहिले महँगा वस्तुहरूको आयात खुल्नुमा नयाँ अनुहारलाई तुरुन्तै नयाँ–नयाँ गाडीहरू उपलब्ध गराउन पनि हुन सक्छ, आम गरिब नेपालीलार्ई आयात खुकुलो बनाउँदा के फरक पर्छ वा राहत मिल्छ ?

कसैले घरभित्र पसेर सिंगो घर भत्काए भने कसैले अरूको घरको भित्तामा टाँसिएर आफ्नो साख बचाए, यसपालिको चुनावमा । सरकारबाट हटियो भने सुरक्षाको सबैभन्दा ठूलो दस्ताले मात्रै आपूmलाई रक्षा गर्न नसक्ने बुझेका छन् यिनले र त पाहुना हँुदै चुनाव जितेजस्तो गर्दै सत्ता बार्गेन गर्दै छन् । जति बार्गेन गरे पनि अहिले हङ संसद् बनेको छ, यसले पूर्ण कार्यकाल बितायो भने अनौठो मान्नुपर्छ । दुईतिहाइमा त ढलेको संसद् खिचडी हुँदा नढल्ला भन्न सकिन्न ।

स्वदेशी विदेशी भई पहिलेजस्तै गरी टेको दिन नपर्ने पर्याप्त आधार पनि देखिँदैन । प्रभु कृपा नभई यहाँ केही नहुने हुँदा प्रभुहरूलाई खेल्ने अवसर पर्याप्त मात्रामा फेरि मिलेको छ, त्यसैले सिमानामा तैँ चुप मै चुप रहनुपर्ने हुन सक्छ । धेरैले पान मात्रै होइन, जलपान पनि उतै गरेका र सबै कुरा उतैबाट सिकेको तर विकास र समृद्धिमात्रै आपूmले सिक्न नजानेको हो । यदि आत्मनिर्भर हुन सिकेको भए प्रजातन्त्रको प्राप्तिसँगै देशभरिका उद्योग, कलकारखाना कौडीका भाउमा लिलाम हुन्नथे ।

गोरखकालीको टायरले टायर आयातको कमी हुँदा, उदयपुर, हिमाल सिमेन्ट, हेटौँडा सिमेन्टले विदेशी सिमेन्ट आयातमा कमी गरिदिँदा यी सबै भष्मासुरको हातमा पर्न गएको कुरा कसैबाट छिपेको छैन । देशको जवानी निर्यात हुँदा प्राप्त रकम २२ प्रतिशतको जीडीपी हिस्सा हुने तर देशकै पर्यटन क्षेत्रले २ प्रतिशत जीडीपीमा हिस्सा नदिने देश हो हाम्रो । हाम्रो संस्कृति खुट्टा तान्ने संस्कृति हो, उद्योगी–व्यापारीहरूको लगानी उद्योग व्यापार क्षेत्रमा भन्दा राजनीतितिर बढ्न थालेको छ, यसले देशको अर्थतन्त्रलाई सुधार गर्दैन ।

हामीले कुनै बेला निर्यात गर्दा कुनै बेला भ्यागुताहरू गथ्र्यौं रे, त्यो पनि बाकस बन्द नगरी, खुलै । बाकस बन्द नगरी नेपालको सामान समुद्रपार देशहरूमा पुग्दा सबै छक्क पर्थे रे, कति इमानदार नेपाली, कति निष्ठा र पारदर्शिता, सामान प्याक नगरी पठाउँदा पनि सात समुद्रपारि सही सलामत पुगेको भन्थे रे । एकपल्ट त कोलकाताको बन्दरगाहमा एक सोझा भन्सार अधिकृतले भनेछन्, ‘होइन यी सामान प्याक् गरी पठाए राम्रोसँग पुग्छ, नत्र हामी जिम्मेवार हुन्नौँ ।’

नेपाली व्यापारीले भनेछन्, ‘धन्दा मान्नु पर्दैन, यो बाकस सहीसलामत समुद्रपारि पहुँच देशको बन्दरगाहमा पुग्छ, किनकि एउटा भ्यागुतो उफ्रेर बाकसबाहिर जान लाग्यो भने तीनवटा भ्यागुताले खुट्टैमा तान्छन्, त्यसैले कुनै उछिट्टिने सम्भावना छैन ।’ कुरो बल्ल स्पष्ट भयो, देशमा दुईतिहाइ बुर्लुक्कै उफ्रिएको, भरे त धुजाधुजा ईश्वर, परमेश्वर मालिकहरू कति थरीका कसैले बुझ्नै सकेन र अहिलेको चुनावअघि तिनलाई हराउन सबै गठबन्धन खटेर लाग्यो र त्यो दललाई साइजमा राख्न सफल पनि भएको देखियो ।

छुच्चो चिरबिरे बोली र आफ्नै दम्भले जनताको मतलाई लत्याइएको कारण आज कसैका प्रियपात्रहरू गुमनाम भएका छन्, अनावश्यक भ्यू टावरले देशको गरिबी हेर्न सकेन । उता नबोली नबोली भर्‍याङ चढ्न सिपालुलाई धेरै आशीर्वाद छ, घरैमा मातृशक्ति हुनु, एमसीसी, एसपीपी छिराउन उनै आवश्यक पर्नु, सिमानामा खुलेर नबोल्नुलाई परमेश्वरको निगाह भइरहेको बुझ्न गाह्रो छैन । र, त अप्राकृतिक गठजोड अन्त नसुहाए पनि हाम्रोमा गतिलै सुहाउँछ, यद्यपि मतदातालाई यी कुरा चित्त बुझेको होइन र त उनीहरूले आफ्नो शक्ति देखाएका छन् ।

अबको संसद् अनि सरकार चलाएर लोकतन्त्रको नमुना थप हेरौँ भन्दै छन् मतदाताहरू । दुईतिहाइ हुँदा पनि चार जना मन्त्री लिएर बालुवाटार बसेको, पछि बार्दली गएको हाम्रो अवस्था हो । हारेकाले पनि राजीनामा नदिई सरकार चलाइराख्ने देश पनि हो यो । सडक सफा गर्छु, फोहोर फाल्छु, हुकुमबासीहरूको दबदबा रोक्छु भनी चुनाव जितेका र तिनले काम देखाउन खोज्दा जताततै अपजस खेप्ने देश, ढुंगा, मुढा, भाला, खुकुरी, गुलेली हान्ने देश पनि हो यो ।

यहाँका बालेन, पूर्वका हर्क, पश्चिमका हमाल, ढकाल अनि चितवन बीचबाट रवि आउने देश पनि हो यो, लोकतन्त्रको उन्नत उपलब्धि । आर्यघाटसम्म देशलाई पेवा बनाउने, मृत्युपछि संस्थाहरू खोलेर राज्यको ढुकुटीमा तर मार्ने र मरेका पितृहरू नै चुनावमा उपस्थित हुने देश पनि हो हाम्रो । धर्म पुराणले दुर्घटनामा मरेका, मारिएकाको अतृप्त आत्माले पोल्ने गरी कंकाल देखाउँछन् भनेर लेखिएको छ ।

संविधान बन्न बीसौँ हजार मानिसको खर्च भएको र तिनको कंकालले को–कसलाई लखेटेको छ कि छैन, थाहा भएन । तर देशलाई ऋणले किचेको छ, व्यापारघाटाले थिचेको छ, महँगीले पिल्सिएको छ, गरिब जनताको आँसुमा पौडी खेलेको छ राजनीतिले । यी मात्रै लोकतन्त्रका उपहार भने होइनन् हाम्रा, प्रदेश भन्ने राजधानीको नाम राख्न नसक्ने, राखिएको नाममा रातरातै साइनबोर्ड सार्ने र धेरैजसो काम मध्यरातमा गर्नुपर्ने संघीयता र गणतन्त्र अनि लोकतन्त्र ल्याउने देश पनि हो हाम्रो ।

मध्यरात बितिसकेपछि संसद्को घाँटी निमोठ्न शीतल निवास जागा हुने देश पनि त हो हाम्रो । देश समृद्ध छैन, भिक्षार्थी छ, सुदामाजस्तै । भागवत्मा एउटा प्रसंग आउँछ । कृष्ण र सुदामा बालसखा थिए । दुवैले गुरुकुलमा पढे, फुर्सदमा गुरुलाई दाउरा खोजेर ल्याउनु दुवैको काम थियो । दिउँसो जंगल जान्थे ती । गुरुआमाले खाजाका लागि १२ गेडा चना बराबरी खानू भनेर खाजा दिन्थिन् । कृष्ण दाउरा भाँच्न रुख चढेका बेला सुदामाले सबै खाइदिए, अर्काको भाग खोसियो, उनले भने, आज खाजा छैन, तर कृष्ण सर्वज्ञाता भएकाले उनले बुझे, तर नबुझेजस्तो गरे ।

एक दिनको खाजाको गडबडीले सुदामाको सबै श्रीसम्पत्ति कृष्णले लिए, पछिसम्म उनी ठूलो गरिबीमा परे । पछि कृष्ण द्वारकाधीश हुँदा खाजा चनाको पैँचो तिर्न कनिका लिएर भेट्न गए सुदामा । कनिका खाइदिए कृष्णले कोसेली भनेर, तुरुन्तै सुदामा समृद्ध बने, वैभवशाली भए । यो कथा लाक्षणिक छ, १२ बुँदेले गरेको जे हो त्यसैको परिणति हो यो अहिलेको देशको अवस्था, को–कसलाई कति समृद्ध बनाउनु वा केकति कहाँ उधारो छ तिर्न बाँकी, हिसाबकिताब क्लियर नभएसम्म देशमा हुने यस्तै हो, ह्याङ पार्लियामेन्ट, ह्याङ गभर्नमेन्ट ।

संविधान बन्नुअघि देशका प्रतिनिधि पात्रहरूले देशाटन गर्दै लिएका जनमतको पोका कता छ, सायद धूलोले खायो होला, भवन आफ्नो नभएकाले भण्डारणको क्षमता नभएको हुन सक्छ । अहिले महँगा वस्तुहरूको आयात खुल्नुमा नयाँ अनुहारलाई तुरुन्तै नयाँ–नयाँ गाडीहरू उपलब्ध गराउन पनि हुन सक्छ, आम गरिब नेपालीलार्ई आयात खुकुलो बनाउँदा के फरक पर्छ वा राहत मिल्छ ?

प्रतिक्रिया दिनुहोस्